Comments Add Comment

भूवन केसीलाई होटलको बिल नतिरेको आरोप

फाइल फोटो : चलचित्रको मुस्ताङमा छायांकनको क्रमको एक दृश्य
फाइल फोटो : चलचित्रको मुस्ताङमा छायांकनको क्रमको एक दृश्य

नेपाली चलचित्रका चर्चित नायक भूवन केसीलाई पोखराको एक होटलको बिल नतिरेको आरोप लागेको छ । पोखराको पिसफूल होटलमा करिब एक महिना बसेको बिल नतिरेको आरोप लागेको हो । होटलको बिल तिर्न नसकेपछि सोमबार बिहान होटलमा लफडा पनि भएको गोप्य श्रोतले बताएका छन् । भूवनले बिल तिर्न नसक्दा उनको निजी गाडी र छायांकनका लागि प्रयोग गरिएको २ वटा बस पनि होटलले नियन्त्रणमा लिएको श्रोतको दाबी छ ।

भूवनको दाबी-‘बलिउडसँग तुलना गर्ने चलचित्र बनाएको छु’

नायक केसीसहितको ४० जनाको टोली करिब डेढ दर्जन कोठामा २५ दिन यता बसिरहेका थिए । त्यसमध्ये यसको टोली काठमाण्डौ फर्किएपनि भूवन केसी र अन्य केही टिमसँग आवद्ध चलचित्रकर्मी पोखरामा नै छन् । आरोपका बिषयमा अनलाइखबरसँग कुरा गर्दै भूवनले भने-‘राम्रो चलचित्र बनाउन खोज्दा खुट्टा तान्नेहरु धेरै हुन्छन् । म त छक्क परेको छु ।’ भूवनले आफू भागेर कतै नगएको र होटलमा नै बसेको बताउँदै भने-‘सबै हिसाब मिलाउनका लागि नै म पोखरामा छु । हामीलाई होटलको बिल भर्खरै मिलेको छ । सबैतिरको हिसाब मिलाएर मात्र म काठमाण्डौ र्फकन्छु ।’

उनले आफू भागेर काठमाण्डौ फर्किएको भए भूवनले पैसा नतिरेर भाग्यो भन्ने तर्क सही हुने बताए । होटल संचालन गर्दै आएकी विन्देश्वरी श्रेष्ठले अनलाइनखबरसँग भनिन्-‘हामीले उहाँहरुको गाडी नियन्त्रणमा लिएको कुरा गलत हो ।

उहाँहरुले सबै कुरा क्लियर नै गर्नुभएको छ । उहाँहरुले सबै रकम तिरेरै जाने भन्नु भएको छ ।’ भूवन केसी र उहाँको टिम राम्रो भएको भन्दै श्रेष्ठले यस्तो समाचार कसरी आयो भन्ने बारेमा आफूलाई थाहा नभएको बताइन् ।

यता, पोखराको छायांकनको व्यवस्थापनको जिम्मा लिएका कोरियोग्राफर रोहन नेपालीले अनलाइनखबरसँग भने-‘ उहाँहरुले हाम्रो करिब १ लाख १५ हजार बराबरको पैसा दिनुभएको छैन । भोली भोली दिन्छु भनेर धेरै दिन भयो उहाँहरुले झुलाउनु भएको छ ।’

उनले आफूले २ दिनसम्म ३० जना कोरसको व्यवस्था गरिदिएपनि काम सकिएपछि रकम नपाएको गुनासो गरे । यस्तै, छायांकनका क्रममा लगिएका क्राउडको पैसा पनि नपाएको उनको भनाई थियो । यस बिषयमा नायक भूवन केसीले अनलाइनखबरसँग भने-‘सबै हिसाब किताब क्लियर गरेर फर्किन्छु । सबैको हिसाब बल्ल पाइएको छ, नतिर्ने भन्ने कुरा नै आउँदैन ।’

रोहनलले आफूले अहिलेसम्म सामानको २० हजार मात्र पाएको बताउँदै क्राउड र कोरसलाई आजसम्म आफूले शान्त बनाएर राखेको बताए । उनले भने-‘केही रिसाइरहेका क्राउड त होटलमै गएर बबाल गर्छु भनेका थिए, मैले अहिले शान्त बनाएर राखेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment