Comments Add Comment

ग्यास पड्किएर चार जनाको मृत्यु हुँदा चुल्हो जस्ताको त्यस्तै !

सिन्धुपाल्चोक बिष्फोट प्रकरणमा स्थानीयबासी र प्रहरीको फरक दाबी

Photo Credit : अपर चाकु आयोजना

१३ चैत, सिन्धुपाल्चोक । सोमबार सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर बिस्फोटनमा परेर चार जनाको मृत्यु भएको घटना रहस्यमय बन्दै गएको छ । घटनास्थलमा ग्यास चुल्हो सग्लै भेटिएकाले यो घटनामा अन्य विस्फोटक पदार्थ पड्एिको हुन सक्ने स्थानीयको दाबी छ ।

अपर चाकु जलविद्युत आयोजनाभित्र सोमबार भएको विष्फोटनमा चार जना मजदुरको मृत्यु भएको थियो ।

मृतकमध्ये दुईजनाको टाउको भन्दा तलको भाग मात्रै फेला परेको छ भने दुई जनाको कपालमात्रै भेटिएकाले त्यही आधारमा आफन्तहरुले आफ्नो मान्छेको पहिचान गरेको स्थानीय बताउँछन् ।

घटनास्थलमा मजदूरको शवका टुक्रा मात्र भेटिनु र ग्यास सिलिण्डरको कुनै टुक्रा समेत नदेखिएको भन्दै अरु नै बिष्फोटक पदार्थ विष्फोटन भएको आशंका स्थानीयले गरेका छन् ।

सोमबार बेलुकी पौन ५ बजे ठूलो आवाज आएपछि आसपासका स्थानीयले सुरुङ भित्र बिस्फोटन भएको होला भन्ने अनुमान गरेका थिए । तर, पहिलेको भन्दा एकदमै ठूलो आवाज आएपछि स्थानीयवासीहरु आवाज आएको क्याम्पतर्फ गएका थिए ।

‘हामी आवाज आउनासाथ त्यहाँ पुगेका थियौँ । त्यहाँ पुग्दा लासका चोक्टाहरु मात्रै यत्रतत्र छरिएको देखियो’ स्थानीय नर्पु ग्याजेन शेर्पाले भने ।

खाना पकाउने ग्यास विस्फोटन भएको भनिए पनि स्थानीयले यसलाई पत्याउन सकिरहेका छैनन् । किनकि त्यहाँ पुग्दा चुल्होमा जोडिराखेको ग्यास जस्ताको त्यस्तै थियो । ‘हामी त्यहाँ पुग्दा ग्यास जोडिरहेको नै थियो’ शेर्पाले भने, ग्यास पड्केको हो भने त कतै न कतै ग्यासका टुक्रा त हुनुपर्ने हो ।’

शंका गर्ने आधार

शिवश्री हाइड्रो पावरद्वारा भोटेकोशी गाउँपालिकाको निर्माणधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनामा आवश्यक पर्ने विस्फोटक पदार्थ सुरक्षाका लागि त्यहाँ नेपाली सेनाको क्याम्प र टोली बसेको थियो । तर, भूकम्पपछि नेपाली सेना त्यहाँबाट छाडेर हिँडिसकेको छ ।

सेनाले छाडेको त्यही क्याम्पमा जलविद्युत आयोजनामा कार्यरत मजदुरहरु बस्ने गरेका थिए ।

घटनालगत्तै पुगेका त्यहाँ स्थानीयहरु भान्साकोठा भन्दा बाहिर विष्फोटन भएको त्यहाँको अवस्थाले देखिएको बताउँछन् ।

जलविद्युत आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनाले त्यहाँबाट उठाएर लगे पनि केही सामग्रीहरु त्यहीँ छुटेको हुन सक्ने स्थानीयको आशंका छ । पहिला पनि जलविद्युत आयोजनामा यस्तै घटना हुँदा आयोजनाले गुपचुप राख्ने गरेको थियो ।

अहिले पनि ग्यास होइन, अन्य विष्फोटक पदार्थ नै पड्केको स्थानीयको दाबी छ । स्थानीयले सुरुङभित्र प्रयोग हुने जिलेटीन पड्केको आशंका गरेका छन् ।

मजदुर बस्ने क्याम्पको भान्सा कोठा भन्दा बाहिर ठूला खाडल हुनुले पनि स्थानीयले बाहिरै अन्य विस्फोट पदार्थनै विष्फोटन भएको दाबी गरेका छन् । ‘शवको टुक्रा भेटिएको छ, तर ग्यासको टुक्रा कतै पनि भेटिँदैन, त्यहाँ पुग्दा पनि बारुदजस्तै पदार्थ गन्हाएको थियो’ शेर्पाले भने ।

जलविद्युत आयोजनाको सुरुङभित्र अहिले फिनिसिङको काम भइरहेको थियो, दिउँसो र रात्रिकालीन गरेर त्यो क्याम्पमा २५ मजदुरहरु बस्ने गरेका थिए । बिस्फोट स्टोर कोठमा भएको छ । स्टोरमा एचपी कम्पनीका केही थान ग्याँस सिलिण्डरहरु अहिले पनि रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए । भान्साकोठामा नभई स्टोरमा बिस्फोटन भएकाले पनि घटना झनै शंकास्पद रहेको स्थानीयले बताएका छन् ।

प्रहरीले भने अन्य विष्फोटक पदार्थ नभई ग्यास नै विस्फोटन भएको दाबी गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी ग्यास बिस्फोट भएको बताए । ‘अन्य बिस्फोटक पदार्थ त्यतिकै पड्किदैन, त्यसलाई सिस्टममा लगेपछिमात्रै पड्किन्छ’ मरासिनीले भने ।

घटनालगत्तै नारायणथान प्रहरी चौकीका प्रहरीहरु घटनास्थलमा पुगेको र ग्यास नै बिस्फोटन भएको आफूहरुलाई रिपोर्टिङ गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले पनि ग्यास नै बिस्फोटन भएको बताए । तर, ग्यास बिस्फोटन हुदाँ त्यसका टुक्राहरु किन फेला परेनन् भन्ने सन्दर्भमा आफू घटनास्थलमै गएर अनुसन्धान गर्ने मरासिनीले बताए ।

आयोजना निर्माणको जिम्मा च्छो रोल्पा कन्स्ट्रक्सनलाई दिइएको शिवश्री हाइड्रोपावरका प्रमुख उमेश कसजुले जानकारी दिए । साविकको फुल्पीङकट्टी र मार्मिङ गाविसको सीमालक्पा टुसामा रहेको मुहानमा ड्याम बनाएर २७ सय मिटर सुरुङमार्गबाट पानी ल्याएर सो जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment