+
+
Shares

फर्से बजार : गुल्जार बन्दै थियो, कालीगण्डकीले तहसनहस पार्‍यो

फर्से बजार धौलागिरि क्षेत्रकै पुरानो बजार हो । यो व्यापारिक नाका नै थियो । बागलुङ र म्याग्दीमासमेत फर्सेबाट खच्चडमा सामान लैजान्थे । मुक्तिनाथसम्म हिँडेर जाने र कालीगण्डकी किनारै किनार त्रिवेणी, बटौली हुँदै मुस्ताङ र तिब्बती नाकासम्मको ऐतिहासिक व्यापारिक मार्गसमेत यहीँबाट थियो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असोज १३ गते १८:३८

१३ असोज, पोखरा । लगातारको वर्षापछि असोज ११ गते कालीगण्डकी यसरी उर्लियो, पर्वत जलजला गाउँपालिका–८ फर्सेवासीले कहिल्यै नसोचेको विपत्ति भोग्नुपर्‍यो । यसअघि कालीगण्डकीमा बाढी आउँदा पनि ढुक्कले बस्ने फर्सेका धेरै परिवारलाई यस पटक बने उठिबास लगायो ।

उर्लिएको कालीगण्डकीले एकाएक पुरानो फर्से बजारमा कटान थाल्यो । ‘फर्सेवासीले जीवनभर नसोचेको विपत्ति भोगे । सधैं जीवनलाई सहज बनाइदिएको कालीगण्डकी यस पटक घातक बनेर आइदियो । कसैको ज्यान त गएन तर एकपछि अर्को घरहरू बगाउँदै लग्यो । स्थानीयवासी टुलुटुलु हेर्न बाध्य भए,’ स्थानीय गणेश आचार्यले भने, ‘हेर्दाहेर्दै सयौं मानिस घरविहीन भए ।’

पर्वत राज्य र धौलागिरि क्षेत्रका अध्येता तथा मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँका अनुसार ७० वर्ष अगाडि फर्से बजार सडक सञ्जालले जोडिएको थिएन । तैपनि, गुल्जार थियो ।

फर्सेमा कम्तीमा १०० वर्षअघि नै निर्माण गरिएको झोलुंगे पुलले बागलुङलाई जोडेको थियो । बानियाँका अनुसार त्यो बेला पर्वतकै वारि प्रमुख व्यापारिक नाका थियो बेनी । अन्नपूर्ण पदमार्ग भएर मानिसहरू बेनी हुँदै फर्से बजारमा बास बस्थे ।

फर्से बजारमा ७० वर्ष अगाडि भकारीले बारेका घरहरू उनले देखेका थिए । केही घर खरले छाएका थिए । फर्से बजार हुँदै कालीगण्डकीको किनारै किनार मुक्तिनाथसम्म तीर्थ यात्रुहरू हिँडेर जाउ–जाउ गर्ने बाटो थियो ।

‘फर्से बजार धौलागिरि क्षेत्रकै पुरानो बजार हो । यो व्यापारिक नाका नै थियो । बागलुङ र म्याग्दीमासमेत फर्सेबाट खच्चडमा सामान लैजान्थे । मुक्तिनाथसम्म हिँडेर जाने र कालीगण्डकी किनारै किनार त्रिवेणी, बटौली हुँदै मुस्ताङ र तिब्बती नाकासम्मको ऐतिहासिक व्यापारिक मार्ग फर्से हुँदै थियो,’ बानियाँले भने ।

अध्येता बानियाँका अनुसार १९५२ सालमा राणा प्रधानमन्त्री वीर शमशेरको पालामा पुरानो पर्वत र गलकोट जिल्लालाई गाभेर बागलुङ जिल्ला बनाई सदरमुकाम बागलुङ बनाइएको थियो । त्योबेला मोदीपश्चिम पर्वत र पूर्व स्याङ्जा जिल्लामा पर्थ्यो ।

‘मोदीपश्चिमको जुन भूभाग थियो, बागलुङ जान बाटो त चाहियो । बेनीमा चार घाट थियो, यता थिएन । त्यसैले फर्सेमा पहिले झोलुंगे पुल बन्यो । त्यो पुल शताब्दीभन्दा पुरानै हुनुपर्छ । अहिले त्यो ऐतिहासिक पुल पनि बाढीले बगायो,’ बानियाँले भने, ‘बागलुङसँग जोडिएपछि र बेनीको एउटा भेगमा पनि जान मिल्ने भएपछि फर्से बजार व्यापारिक नाका बन्यो ।’

सानासाना छाप्राहरू कालीगण्डकीको बगरमा थिए र त्यहाँ मानिसहरू व्यापार मात्रै गर्दैनथे । बाससमेत बस्ने स्टेसन थियो । म्याग्दीको बेनीमा पनि त्यस्तै प्रकृतिका छाप्राहरू थिए । बेनीमा पनि करिब २०० वर्ष अगाडि कालीगण्डकीमा झोलुंगे पुल बनेको बानियाँको भनाइ छ ।

तत्कालीन जिम्मुवाल पूर्णचन्द्र शर्मा र कर्णेल चक्रपाणि सापकोटाको अग्रसरतामा फर्सेमा बस्ती बस्दै गएको स्थानीयहरूको पनि दाबी छ । १०५ वर्ष अगाडि त फर्सेमा शिवालय मन्दिर बनेको शिलालेख नै रहेको इन्जिनियर रामचन्द्र केसीको भनाइ छ । फर्से बजार भएर खच्चड र घोडामा मानिसले सामान लिएर हिँडडुल गर्ने, बास बस्ने गरेको स्मरण गर्छन्, स्थानीय ।

फर्सेमा रहेको शिव मावि, स्वास्थ्य चौकी, सामुदायिक भवन, कृषि उपज संकलन केन्द्रसमेत क्षतबिक्षत बनाएको केसीले बताए । २०५० सालअघि मालढुंगा–बेनी सडक नखुल्दै मानिसहरू यही फर्से बजार भएर आउजाउ गर्थे । यो पर्वत, बागलुङ र बेनीको ऐतिहासिक बजारसमेत थियो ।

८० घर बगे, २४ घरमा जोखिममा छन्

असोज ११ गते कालीगण्डकीमा आएको बाढीले पुरानो फर्से बजारलाई तहसनहस पारेको छ । ८० घर कालीगण्डकीले कटान गरेको छ भने २४ घरमा उच्च जोखिमका कारण बस्ने अवस्था छैन ।

जलजला गाउँपालिका उपाध्यक्ष दीपक आचार्यका अनुसार स्थानीयवासी आफ्नो थातथलो जोखिममा पर्दा चिन्तित मात्रै छैनन्, पुरानो फर्सेवासीको भविष्यसमेत संकटमा परेको छ । ‘अस्तिसम्म शान्त बस्ती अहिले बगर बनेको छ, घरहरू क्षतविक्षत छन् । कसैले ज्यान त गुमाएनन् तर पुर्खादेखिको सम्पत्तिसमेत सबै बग्यो,’ उपाध्यक्ष आचार्यले भने ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कालीगण्डकीले करिब ८० घरलाई क्षतिमात्रै पुर्‍याएन, बगाएरै पल्टायो । सोमबारमात्रै पनि ३ घर फेरि बगे । अहिले पनि स्थानीय त्रासमा छन् ।

‘अहिले कालीगण्डकीमा बाढी नआए पनि जोखिम कायमै छ । घाम लागेपछि पनि क्षति बढिरहेको छ । अविरल वर्षाले मूल फुटेका छन् । फर्सेदेखि वारि बेनीसम्मै जमिन र सडक चर्किएका छन् । जसका कारण जोखिम कायमै छ,’ पर्वतका सीडीओ क्षेत्रीले भने, ‘अहिले मानिसहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।’

वर्षौंदेखि व्यापार, व्यवसाय, कृषिमा रमाइरहेका फर्सेवासीको दैनिकी नै बदलिएको छ । कोही आफ्नै घर हेरेर टोलाइरहेका छन् त कोही बगेको आफ्नै घरको जमिन हेरेर थक्थकाइरहेका छन् ।

‘डेढ सय वर्ष अघिदेखि फर्सेमा मानिसहरू बसेका थिए । तर यस्तो विपत्ति कहिल्यै भोगेका थिएनन् । ढुंगा कुँदेर बनाइएका घरहरू अहिले खण्डहर भएका छन् । पुरानो फर्से बजारको इतिहासलाई नै संकटमा धकेलिदिएको छ,’ स्थानीयवासी इन्जिनियर रामचन्द्र केसीले अनलाइनखबरसँग भने, ‘फर्सेवासीले कहिल्यै नभोगेको विपत्ति अहिले भोगे ।’

उनका अनुसार जलजला गाउँपालिकाको धेरै जनसंख्या भएको वडामध्ये नै पर्छ, फर्से बजार रहेको वडा नम्बर ८ । तल्लो र उपल्लो फर्से बजारमा आसपासका डाँडाहरूबाट बसाइँ सर्नेहरूको संख्या पनि दिनानुदिन बढिरहेकै थियो । ‘गुल्जार बन्दै गइरहेको फर्से बजारमा अहिले सन्नाटा छाएको छ,’ केसीले भने ।

फर्से बजारलाई यसरी बाढीले कटान गर्नुमा स्थानीयवासी कालीगण्डकीको दोहनलाई पनि मान्छन् । कुश्मादेखि गलेश्वरसम्म क्रसर र बेमौसममा पनि कालीगण्डकीमा वैध–अवैध उत्खखन् भइरहन्छ । जसको सिकार फर्सेवासी हुनुपरेको स्थानीयको गुनासो छ ।

फर्सेमा कम्तीमा १०० वर्षअघि निर्माण भएको बागलुङ र पर्वत जोड्ने सस्पेन्सन पुल थियो । त्यो पुल पनि बाढीले बगाएको छ । २४ वटा घर जोखिमका कारण बस्नै नसक्ने स्थितिमा छन् । १०० घर परिवार प्रभावित हुँदा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा २७ घर परिवारका लागि अस्थायी क्याम्प तयार गरिएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको समन्वयमा २७ परिवारका लागि टेन्ट टाँगेर अस्थायी क्याम्प तयार गरिएको छ ।

‘२७ परिवारका लागि तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भयो र प्रदेशकोसमेत अग्रसरतामा अस्थायी क्याम्प तयार गरिएको छ,’ क्षेत्रीले भने, ‘बाँकी परिवार आफन्त र त्यहाँका खाली घरमा बसिरहेका छन् ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फर्से बजारको निरीक्षण गरी अस्थायी व्यवस्थापन, राहत र उद्धारमा कुनै कसर नराख्न निर्देशन दिएका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?