+
+
Shares

रित्ता घरको अर्थशास्त्र, माटोमा मिल्दैछ १० खर्ब

एउटा घर निर्माणमा सरदर २ लाख रुपैयाँको हिसाब लगाउने हो भने नेपालमा झण्डै १० खर्ब लगानीको भौतिक संरचना प्रयोगविहीन छ । यो संरचना हरेक दिन ढलिरहेको छ । एउटा संरचना ढल्दा कम्तीमा २ लाख रुपैयाँ माटोमा मिलिरहेको छ ।

चेतन अधिकारी चेतन अधिकारी
२०८३ असोज १३ गते ८:००

मान्छेले छोडेका घरको पुन: प्रयोगको नीति नहुँदा खर्बौंमा संरचना माटोमा मिलिरहेका छन् । सरकारले यस्ता घर सस्तोमा खरिद गरेर पुन:प्रयोग हुने सामग्री अरु संरचना निर्माणमा उपयोग गर्न सक्छ ।

सामाजिक सञ्जालहरूमा अचेल बग्रेल्ती भिडियो देखिन्छन् । जहाँ पृष्ठभूमिमा हुन्छन् वर्षौं अघि नै रङ र जीवन गुमाएका निष्प्राण घरहरू ।

कुनै झाडीले जेलिएका,कुनै जंगलले घेरिएका । कतिको छानो उडेको,कतिको खाँबो लडेको । यस्ता उदास घरका अगाडि सुकिला मानिसहरूले वेदना पोखिरहेका सयौं भिडियोहरू यतिबेला टिकटकमा छरपस्ट भेटिन्छन् ।

ती घरका नाममा पोखिने वेदना,बखान वा अतितको स्मरण मर्मस्पर्सी नै हुन्छन् । कतिपय झार जंगल पन्छाउँदै जीर्ण बनेको घरमा पुगेर डाँको छोडेका हुन्छन् ।

कतिपय भत्कनै लागेको बुइँगलको झ्यालबाट मुन्टो निकालेर तस्विर र भिडियो खिचाउँछन् । कतिपय मूल थाम समाएर आफ्नो अतितको कथा हालिरहेका हुन्छन् ।

कतिपय घरसँगैको मतानमा बसेर आफ्नो सवाइ सुनाइरहेका हुन्छन् । कतिपयले आफू जन्मिएको मूल ओच्छ्यानको कथा सुनाउँछन् । कतिपयले आफू भित्रिएको मूल दैलो देखाउँछन् ।

तर जसै मानिस आफू बन्दै गए घर विराना हुँदै गए । मूल ओछ्यानमा जन्मनेहरू मुग्लानतिर पस्दै गए मूलघर जीर्ण बन्दै गयो ।

आफू भित्रिएको मूल दैलो देखाउनेहरूले सहरमा मूल ढोका भएको छानोविहीन घर बनाए । गाउँको घरको छानो चुहिन थाल्यो । यो दु:खद् दृष्य आजभोली सहरमा बसेर भर्चुअल हेर्न पाइन्छ । अलि मेहनत गरेर गाउँपसे टोलटोलमै देख्न पाइन्छ ।

आखिर के भएको हो त नेपालमा ? देशै जीर्ण भए जसरी घरहरू किन जीर्ण भएका हुन् ? घर जीर्ण हुनुमा घरको दोष कि घरमुलीको ? वा राज्यको दोष ? के मान्छेले बसोबास गरिरहेको घर असरल्ल छोडेर कतै फुत्त हिँड्न सक्छ ? तर पनि घर रित्याएर मान्छे हिँडिरहेका छन् । घरहरू घरमुली आउँछन् कि भनेर बाटो हेर्दा हेर्दा स्याहार चाकर नपाएर हरेक दिन ढलिरहेका छन् ।

लाखौं घरहरू आफ्ना सन्तती आउलान् भनेर बाटो हेर्दाहेर्दै ढुंगा माटो भइरहेका छन् । नेपालमा बस्न योग्य करिब ५ लाख घर खाली छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार एउटा परिवारमा औसतमा ४.३७ जना व्यक्ति छन् । यस हिसाबले झण्डै २१ लाख अर्थात काठमाडौं जिल्लाका सबै मान्छे अटाउने घरहरू रित्तै छन् नेपालमा आज यि रित्ता घर भित्रका कथा सुनौं । त्यसका वास्तविकता केलाउँ । अनि ती घरका अर्थतन्त्रका कुरा गरौं ।

रित्ता घरको अर्थशास्त्र

घर । यो शब्द सुन्नासाथ मानिसलाई एक प्रकारको सन्तोष हुन्छ । आश्रयको अनुभूति हुन्छ । सुरक्षाको आभास हुन्छ । सामाजिक प्रतिष्ठाको झलक आउँछ । सानो होस् वा ठूलो घर भएपछि मान्छेको ठेगाना हुन्छ ।

ठेगाना भएपछि मानिसले सामाजिक पहिचान पाउँछ । तर त्यही घर मानिसले किन त्यागीरहेको छ ? घर आफैंमा एउटा ढुंगा माटो अथवा कंक्रिटको संरचना मात्र होइन । यो एउटा भावना हो । घर भित्र जीवन हुन्छ । जीवन भित्र आशा हुन्छ । आशा भित्र प्रगति हुन्छ । प्रगति भित्र सन्तोष हुन्छ ।

घरको महिमा यतिमा सकिँदैन । घर एउटा विद्यालय हो । घर विश्वविद्यालय हो । घर प्रेमको प्रतीक हो । घर पुस्ता निरन्तरताको पवित्र थलो पनि हो । तर पनि मानिसले किन घर छोडेर खण्डहर बनाइरहेका हुन् ? गाउँतिरका रित्ता घर वा मोबाइलमा भेटिने रित्ता घर देखेपछि मानिसका मनमा यस्तै कुरा खेल्दा हुन् । जन्मिएको घर छोडेर हिँड्ने हुन् वा कर्मघर छोडेर नयाँ गन्तव्य तय गर्ने हुन् उनीहरूका मनमा पनि जीर्ण घर देखेपछि यस्तै भावना उर्लिन्छ ।

आजको मितिमा नेपालीहरू ३ करोड हाराहारीमा छौं । व्यक्ति र संस्थागत गरी झण्डै ७६ लाख घरहरू छन् । तर दुःखको कुरा झण्डै ५ लाख घरहरू रित्ता छन् । ती घरहरू केवल जीर्ण संरचना बनेर उभिएका छन् । केही वर्षमा तिनीहरू ढल्नेछन् । ती घर ढलेसँगै अर्थतन्त्र पनि ढलिरहेको हुनेछ ।

राष्ट्रिय जनगणना २०७८ ले बसोबास गर्न योग्य कति घर खाली रहेछन् भनेर तथ्याङ्क संकलन गरेको थियो । पाँच वर्ष अघिको अभिलेखमा ४ लाख ७२ हजार ५ सय १६ वटा बस्न योग्य घर खाली थिए ।

पाँच वर्षमा अरु केही हजार घरहरू खाली भए होलान् । यो क्रम रोकिएको छैन । झन् वर्षेनी थपिँदै छ । जीवनको कमाइको ठूलो हिस्सा मानिसले घरमा लगानी गरेको हुन्छ । उसले जीन्दगीभरलाई भनेर घर बनाउँछ । तर अनायसै स्वामित्व हस्तान्तरण नगरी मानिसले किन घर छोड्छ ?

एकछिनका लागि खरको छानो हालेका र माटो ढुंगाले बनेका एक तले,दुई तले वा तीन तले घर बनाउन कति रकम लाग्ला ? एउटा घर निर्माणमा सरदर २ लाख रुपैयाँको हिसाब लगाउने हो भने नेपालमा झण्डै १० खर्ब लगानीको भौतिक संरचना प्रयोगविहीन छ । यो संरचना हरेक दिन ढलिरहेको छ । एउटा संरचना ढल्दा कम्तीमा २ लाख रुपैयाँ माटोमा मिलिरहेको छ ।

जीर्ण घरको अर्थतन्त्र यतिमा सकिँदैन । पहाडका गाउँमा एउटा घर रित्तिँदा तराई वा सहरमा अर्को घर निर्माण भइरहेको हुन्छ ।

एकछिनका लागि सबैले नयाँ गन्तव्यमा घर नबनाए पनि आधा परिवारले नयाँ घर बनाए भने थप कति रकम खर्च भइरहेको होला ?

गाउँको कच्ची घर त्यागेर नयाँ घरको चाहना गर्ने हरेकले पक्की घरको सपना देखेका हुन्छन् । नयाँ घर बनाउनका लागि सर्वप्रथम घडेरीमा लगानी हुन्छ । त्यसपछि घरमा ।

यो दृष्टिकोणले हेर्दा आर्थिक रुपले अनुत्पादक क्षेत्र मानिने घर जग्गामा व्यक्तिको दोहोरो लगानी परिरहेको छ ।

गाउँको घरको पुख्र्यौली लगानी जीर्णतामा जाँदैछ । नयाँ गन्तव्यको नयाँ घरमा थप लगानी गर्दा व्यक्तिले थाहै नपाइ दोहोरो आर्थिक क्षति व्योहोरिरहेको छ ।

घरकै नाममा बैंक तथा वित्तीय संस्थाको ऋणी भइरहेको छ । त्यसैले घर रित्तिनुको कारण पहिल्याउने र यसको निराकरण वा रित्ता घरको पुनर्प्रयोगको नीतिमा ढिलाइ भइसकेको छ ।

घर रित्तिने क्रम सुगममा पनि छ । दुर्गममा पनि छ । त्यसैले भौतिक विकासले मात्र रित्ता घर भर्न सकेको छैन । तपाईं बीपी राजमार्ग हुँदै मन्थलीतिर जानु भयो भने मुलकोटबाट सुनकोशी तर्ने बित्तिकै रिता घर देख्न थाल्नुहुनेछ ।

सदरमुकामसँगै जोडिएको,पक्की सडकका किनारमा यस्ता घर बग्रेल्ती भेटिन्छन् । मन्थली बजारमा यो क्रम केहीबेर रोकिन्छ । तर त्यहाँबाट पुरानो सदरमुकामा रामेछापतर्फ उकालो लाग्दा फेरि रित्ताघरको कथा सुरु हुन्छ ।

अघिल्लो वर्ष एउटा सामाजिक अनुसन्धानका क्रममा करिब एकसाता रामेछापमा बस्दा मैले चाल पाएँ यहाँका करिब २० प्रतिशत घर रित्ता छन् । पुराना मात्र होइन,नयाँ घरमा पनि ताला लगाइएको छ । त्यो घरका घरधनी कहिले फर्किएर ताला खोल्ने हुन् थाहा छैन ।

२०७२ को भूकम्पबाट धेरै भौतिक क्षति भएको जिल्ला मानिने रामेछापमा सरकारी अनुदानमा घरहरू निर्माण त भए तर धेरै घरमा मान्छे बसेनन् । त्यसैले ती घर छरछिमेकका पराल राख्ने माच भएका छन् । कसैका लागि गोठ ।

गतवर्ष नै प्यूठानबाट पाल्पाको यात्रामा पश्चिम पहाडका रित्ता घर देखियो । शायद सडकले मान्छेलाई साविक घरमै बस्न प्रेरित गर्‍यो भने प्यूठानबाट सन्धीखर्क आउने सडकका बढेमानका आकर्षक घरहरूमा भोटे ताल्चा लाग्दैन थियो । सन्धिखर्कबाट ओरालो कालीगण्डकी करिडोरतर्फ झर्दा पनि बग्रेल्ती रित्ता घर देखिने थिएनन् होला ।

संयोगले मैले यात्रा गरेका रामेछाप र अर्घाखाँची ‘रित्ता घरको खानी’ हुन् । यी ठाउँबाट हुँदाखाँदाको घर छोडेर नयाँ ठाउँमा ठूलो संख्यामा बसाइँ हिँड्ने छन् ।

रित्ता घर : सामाजिक सम्बन्ध बिच्छेदका प्रतीक

सुनकोशी उकालोको खाँडाँदेवी गाउँपालिकामा चौडा पिच रोड वारीपारी भेटिएका रित्ता घरका छिमेकीलाई सोद्धा उनीहरूले भन्थे ‘यी घरमा ताला लगाएकाहरू धेरै जसो भक्तपुरतिर गए । केही मधेसतिर झरे । कोही खुर्कोटतिर छन् ।’

सन्धिखर्कतिरका मानिसले भन्थे ‘कसैले वुटवलमा घर बनाए । कसैले गोरुसिङ्गेमा । यताका घर किन्ने ग्राहक छैनन् । ताला लगाए हिडे । केही वर्षपछि घर भत्किन्छ । केही वर्षपछि तिनका शाखा सन्तान आउँछन् । पुर्खाको घर भन्दै एकछिन रुवावासी गर्छन् ।’

सन्धीखर्क माथीका डाँडामा रित्ता घरका छेउमा बाख्रा धपाइरहेका एकजना वृद्धले खितिति हाँस्दै गाउँका घर रित्तिनुको एउटा रोचक कुरा सुनाएका थिए ‘अरबमा एउटा बिल्डिङ बन्दा यताका सयौं घर रितिन्छन् ।’

वास्तवमा ती वृद्धले भनेका आठ वटा शब्दको वाक्यमा नेपालका गाउँमा बग्रेल्ती भेटिने जीर्ण घरका सम्पूर्ण कथा समेटिएको छ । जब गाउँको घरले रोजगारी दिन सक्दैन । मान्छेले सहर वा परदेश ताक्नुपर्ने भयो । हाम्रा अधिकांश दाजुभाइ सहर हुँदै रोजगारीका लागि अरबका देशमा पुगेका छन् । ती देशमा पुगेर संसार चियाउन थालेपछि उनीहरूको मनमा गाउँमा होइन सन्तानलाई सहर झार्न मन लाग्छ । अनि अनेकौं जोखिम मोलेर उच्च तापक्रममा बढेमानका बिल्डिङ बनाउँदाको पसिनासँग साटेको रेमिट्यान्सले सहरतिर सानो भए पनि मुण्डा घर बनाउन थाल्छन् ।

त्यसैले वैदेशिक रोजगारीको प्रारम्भिक विन्दु पासपोर्ट बनाउने फारम भर्न सुरु गरेकै दिन गाउँको घर रित्याउने निवदेन पनि पेश भइरहेको हुन्छ ।

वैवाहिक जीवन बिथोलिएर अदालतमा हुने सम्बन्ध विच्छेदलाई एकथरीले ‘सेमी सुसाइड’को संज्ञा दिन्छन् । त्यसैगरी पुर्ख्यौली थातथलोसँगको सम्बन्ध बिच्छेदलाई त्यस्तै प्रकारको जटिल ‘दु:खान्त’ मानिन्छ । जुन स्वेच्छिक भन्दा बढी होइन बाध्यताले हुन्छ भनिन्छ ।

यो एउटा सामाजिक सम्बन्धसँगको बिच्छेद हो । गाउँको घर छोडिरहँदा मानिसले एउटा घरमात्र छोडेको हुँदैन । उसले आफ्ना असल छिमेकी छोड्छ । आफ्ना बालसखा र दौंतरी छोड्छ ।

माटोसँगको आत्मीयता छोड्छ । कृषिसँगको सम्बन्ध त्याग्छ । एउटा निर्वाहमुखी अर्थतन्त्र पनि उसले घरसँगै गाउँमै छोड्छ । मनमा सधैं गढिरहने गाउँले माया,ममता,उत्साह पनि उसले रित्तो घरमै छोडेर हिँड्छ । यी सबै कुरा एकैपटक त्याग्नु पर्ने हुनाले बसाइँ हिँड्ने बेलामा हरेक मान्छेले आँशु थाम्न सकेका हुँदैनन् ।

बसाइँसराइ कति पीडादायी हुन्छ भने मानिसले जुनसुकै नयाँ गन्तव्यमा गए पनि उही पुर्ख्यौली ठाउँ र सेरोफेरो नै सपनामा देखिरहन्छ ।

‘द घोष्ट भिलेज’ अर्थात रित्ता गाउँ

नेपालमा पछिल्लो समय एउटा घर मात्र हैन गाउँका धेरै घर रिता हुने क्रम बढेको छ । छविलाल चिडी लगायत नौ जना अनुसन्धानकर्ताले गतवर्ष गण्डकी प्रदेशको माडी जलाधार क्षेत्रका गाउँहरुमा स्थलगत अनुसन्धान गरेर ‘द घोष्ट भिलेज : डिस्एपिअरिङ ह्युमन सेटलमेन्ट फ्रम द माउण्टेन एण्ड हिल्स अफ नेपाल’ शिर्षकमा जर्नल आर्टिकल प्रकाशन गरेका छन् ।

उनीहरूले यो क्षेत्रका २२ वटा गाउँमा पुगेर अध्ययन गरेका थिए । आर्टिकलको निष्कर्ष छ ‘गाउँका ५० प्रतिशत भन्दा बढी घरहरू रित्ता छन् । यो रित्तिने क्रम क्रमश: बढी रहेको छ ।

कुनै गाउँमा त ७५ प्रतिशत सम्म घरहरू रित्तै छन् ।’ यी घर रित्याउनेका कथा पनि रोचक नै छ । नेपालमा गणतन्त्र स्थापना गरिएपछिको पहिलो राष्ट्रिय जनगणना २०६८ का अनुसार माडी जलाधार क्षेत्रमा २०५८-०६८ को दशकमा १७ प्रतिशत जनसंख्या घटेको रहेछ ।

गणतन्त्रको अर्को दशकमा यो लहर झनै उर्लियो । २०६८-२०७८ को दशकमा अघिल्लो दशकको भन्दा दोब्बर ३४ प्रतिशत जनसंख्या यो क्षेत्रमा घटेको छ । यो क्रम यथावत रहे अबको १५/२० वर्षमा गाउँका ६० प्रतिशत घरहरू रित्ता हुनेछन् । यो अवस्थाले कुनैबेला गुल्जार र रमाइला गाउँहरूलाई नै भूतिया गाउँमा परिणत गरिरहेका छन् । अहिले गाउँका घरमा भेटिने मान्छेहरु बुढाबुढी मात्र छन् । सहर वा विदेश पसेका छोराछोरीसँग जान नमानेका वा नलगिएका उनीहरूको मृत्युपछि घर रितिने छन् ।

नेपालका पहाडी क्षेत्र कुनैबेला गुल्जार थियो । मानव बसोबासको केन्द्र थियो । कृषि उत्पादनको थलो थियो । निर्वाहमुखी कृषिले मानिसलाई यही भूगोलमा बस्न खान दिएको थियो । परिवार ठूला थिए । परम्परागत चलन अनुसार नै एउटा समयपछि दाजुभाइहरू अलग हुन्थे । नयाँ-नयाँ घर बनाउँथे । एउटै घरका दाजुभाइ छुट्टिएपछि त्यो परिवार नै सानो गाउँमा रुपान्तरण हुन्थ्यो ।

त्यसैले पहाडमा धेरै घर बने । त्यसबेला डेरा गरेर बस्ने चलन पनि थिएन । राणा शासनको अन्त्यसँगै नेपाली समाज अध्याँरोबाट उज्यालो यात्रातर्फ अघि बढ्यो । पहाडमा मानव बसोबास उच्च विन्दुमा पुग्यो । २०१८ सालतिर आइपुग्दा नेपालको कुल जनसंख्याको झण्डै ६५ प्रतिशत मानिसहरू पहाड र हिमालमा बस्थे । त्यही अनुपातमा घरहरू पनि पहाड हिमालतिरै धेरै थिए ।

परम्परागत किसिमका बालीनाली,ढिलो फल्ने र पाक्ने जात धान,मकैले अब पहाडका घरमा अन्न पुर्‍याउन छोड्यो । एकजना महिलाले झण्डै ६ जनासम्म बच्चा जन्माउने समय थियो त्यो ।

सरकारले जनसंख्या विस्फोटको समयको रुपमा परिभाषित गरेको कालखण्ड थियो । र,यतिसम्मकी नेपालका सबै समस्याको मूल जरो जनसंख्या वृद्धि नै हो भन्ने निर्क्यौल गरिएको समय थियो । त्यसै हुनाले जनसंख्या वृद्धिलाई व्यापक रुपमा नियन्त्रण गर्नका लागि परिवार नियोजन कार्यक्रम सुरुवात गरिएको समय त्यही कालखण्ड थियो ।

त्यती मात्र होइन, पहाडमा धेरै घर,धेरै मान्छेलाई उत्पादनले नथेग्ने भएपछि राज्य विरुद्ध आन्दोलन उठ्ने सम्भावनाको समय थियो त्यो ।

यो सबै कुरा कुरा बुझेका राजा महेन्द्रले पहाडी जनसंख्यालाई तितरवितर बनाएर आफ्ना विरुद्ध भड्किन सक्ने आन्दोलनलाई निस्तेज पार्न पुनर्वासको नीति ल्याएर पहाडका घर रित्याएर मान्छे तराईतिर झार्न सुरु गरे ।

तराईमा भएको औलोको प्रकोपलाई निर्मूल गर्न व्यापक मात्रामा अभियान चलाए । जमिन्दारको खेतमा हदबन्दी लगाएर भूमिसुधार लगाइदिए २०२१ सालमा । उनको मुख्य उद्धेश्य पहाडी जनसंख्यामा फैलिएको भोकमरीले उत्पन्न गर्ने असन्तुष्टिलाई तितरवितर बनाउनु नै थियो ।

सरकारको जन्म नियन्त्रण नीतिको असर ५०/६० वर्षपछि नकारात्मक रुपमा देखिन थाल्यो । उहिले ६ जना बच्चा हुने घरमा अहिले मुस्किलले दुइटा बच्चा हुर्कन्छन् । ती पनि गाउँमा होइन सहरतिर हुर्काइन्छन् । त्यसैले नाती पुस्ता गाउँका घरमा पाउन कठिन हुन थालेको छ ।

०१८ सालको जनगणनामा ६५ प्रतिशत मान्छे बस्ने पहाड र हिमालमा अहिले ४६ प्रतिशत जति मान्छे छन् । अनि त्यसबेला पुगनपुग ३५ प्रतिशत मान्छे बस्ने तराईमा अहिले ५४ प्रतिशत मान्छे छन् ।

हो,मान्छे जहाँ हुन्छन् घर त्यतै धेरै हुने हुन् । पहाड र हिमालतिर २००९ देखि २०३८ को दशकमा बनेका धेरै घरहरु रित्तिएका छन् ।

२०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र युद्धले पनि ठूलो संख्यामा मानिसहरूलाई विस्थापित गर्‍यो । कालान्तरमा तिनीहरूका घर रित्ता भए । तराई र सहरी क्षेत्रमा उनीहरूका नयाँ घर बने ।

२०४९ साल देखि तीव्र गतिमा सुरु भएको वैदेशिक रोजगारीले गाउँका घर रित्याउन महत्त्वपूर्ण योगदान गरे । २०६३ मा गणतन्त्रको घोषणासँगै विकासका लहर गाउँ गाउँ पुगे । सडक बने । पुल बने । सञ्चार सुविधा घरघर पुगे । तर यी कुनै सुविधाले पनि घरलाई भरिभराउ पार्न सकेनन् ।

बरु उल्टै घर अगाडीको बाटोमा चल्ने बसमा र ट्रकमा चढेर मानिसहरू बसाँइहिड्ने क्रम तीव्र पारे । पहाडका घर रित्तिने प्रमुख कारण एकपाखे विकास हो । जहाँ सडक बनाइयो तर सडकबाट के ओसारपसार गर्ने भन्ने हिसाब गरिएन । सडकसँगै गाउँमा रोजगारीका अवसर सिर्जना गर्ने उपाय खोजिएन ।

गाउँको खेतीलाई उन्नत बनाउने योजना बुनिएन । गाउँका घरलाई होम स्टे चलाउने बाटो देखाइएन । जसका कारण आत्मनिर्भर गाउँलाई सडकले खाद्यान्नमै परनिर्भर बनाइदियो ।

सहरबाट जाँदा गाडीले चामल,दाल,चीनी,तेल लगिदियो । फर्किंदा मान्छे गाउँका मान्छे ल्यायो । रित्ता घर अनि क्रमश: रित्तिँदै गए । भौतिक विकासका लागि सरकारको ध्यान गयो तर मानवीय विकासमा सरकार बेखबर भयो ।

घर छेउको सडकले गाउँमा रोजगारी दिन सकेन । घरै रित्तो भएपछि घरबारी र फाँटहरु बाँझा भए । यसका लागि घरबाट मलेसिया र अरबका देशमा गएका लाहुरेका पसिनाले पठाएको रेमिट्यान्सलाई परिवारले जीविकाको माध्यम बनाए ।

सारमा रेमिट्यान्सले घरका अन्य सदस्यलाई फूर्सदिला बनायो । अन्तत: अझ धेरै सुविधाको खोजीमा उनीहरूलाई बसाँइ हिँड्ने बनायो । मान्छे बसाइँ हिँडे । तर घरहरू बसाइँ हिँडेनन् । त्यसैले तिनीहरु भूत बंगाला भएर अझै पनि जहाँको त्यहीं उभिरहेका छन् ।

कहाँ कति रित्ता घर ?

त्यही घरमा जन्मिएका हुर्किएका पढेका र देश विदेशमा योगदान गरेकाहरूको कथा धेरै लेखिएको छ । तर उनीहरूले छोडेर रित्ता भएका घरका कथा लेखिएनन् ।

यस्ता रित्ता घर गाउँमा मात्र होइन नगरमा पनि उत्तिकै छन् । पहाडमा मात्र होइन मधेसमा पनि छन् । नेपालमा घर रित्याउनमा मानवीय मात्र होइन प्राकृतिक विपत्तिहरू भूकम्प,बाढी,डुबान तथा तुफानले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०७२ को भूकम्पले १० लाख ३७ हजार २ घरमा क्षति भएको थियो । ती मध्ये ८ लाख ६६ हजार २ सय ७ घरमा पूर्ण रुपमा क्षति भएका थिए ।

त्यसमा पनि ६ लाख ५३ हजार ४ सय ६७ वटा घर मात्र पुननिर्माण गरिए । २०७४ सालमा मधेसमा आएको बाढीले एकै पटक ४३ हजार ४ सय वटा घरमा पूर्ण रुपमा क्षति गर्‍यो । २०७५ सालमा बारा र पर्सामा आएको बाढीले एकै रातमा २ हजार ४ सय वटा घर भत्कायो ।

नेपाल हाउस एण्ड हाउसहोल्ड रिपोर्ट २०२३ का अनुसार नेपालको नगरपालिका क्षेत्रमा ४७ लाख १८ हजार ५ सय ५७ वटा घरहरू छन् ।

ती मध्ये २ लाख ५५ हजार ८० वटा घर रित्ता छन् । नगरपालिका क्षेत्रमा भएका मध्ये ५.४ प्रतिशत बस्न योग्य घरमा मान्छे छैनन् । यस्तै गाउँपालिकाहरूमा २८ लाख ३३ हजार ५ सय ९ वटा घरहरू छन् ।

ती मध्ये २ लाख १७ हजार ४ सय ३६ वटा घर अर्थात ७.४ प्रतिशत घरमा मान्छे बस्दैनन् । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा रित्ता घर छन् ।

यहाँका कुल घर मध्ये ९.१ प्रतिशत घरमा मान्छे बस्दैनन् । कर्णालीका ८.५, गण्डकीका ७.८,लुम्बिनीका ५.२, कोशीका ४.५ र मधेसका ४ प्रतिशत घरमा मान्छे बस्दैनन् ।भौगोलिक रुपमा हेर्ने हो भने हिमाली क्षेत्रका ११.८ प्रतिशत घर रित्ता छन् ।

पहाडका १२ प्रतिशत र तराईका ४.१ प्रतिशत घर रित्ता छन् । यो प्रतिवेदनले घरसँगै रोजगारी र अर्थतन्त्रको विकास र एकीकृत बस्ती विकास गरेर आगामी दिनमा घर रित्तिने क्रम रोक्न सकिने सुझाव दिएको छ ।

एकातिर घर रित्तिँदै छन् । अर्कातिर घर नभएका परिवार बढ्दैछन् । २०४८ सालको जनगणनामा घर नभएका परिवार ४ प्रतिशत थिए । २०७८ सालमा यो संख्या तीन दोब्बर बढेर १२ प्रतिशत पुगेको छ ।यसले सरकारी नीति र मान्छेका आवश्यकतामा कतै न कतै खाल्डो परेको देखाउँछ ।

अन्त्यमा फेरि टिकटक कै कुरा । टिकटकमा ‘थुम्का ट्रेल’ भन्ने आइडीमा रित्ता घहरू व्यापक मात्रामा मर्मत भइरहेका तस्विर र भिडियोहरू देखिन्छन् । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ थुम्काका अधिकांस मानिस परम्परागत घर छोडेर सहर र विदेशतिर पसेपछि रित्तिएका घरलाई व्यावसायिक प्रयोजनमा ल्याउने उद्धेश्यले फोटोग्राफरद्वय सुमन मैनाली र पशुपति श्रेष्ठले थुम्का ट्रेल अभियान सुरु गरेका हुन् ।

उनीहरूले जीर्ण भएका घरलाई पूर्णत ढुंगा,माटो र काठको प्रयोग गरेर पहिलाकै आकार प्रकार दिइरहेका छन् । करिब ३२ वटा रित्ता घरलाई होम स्टे बनाउने उद्धेश्यले उनीहरूले यो अभियान चलाएका हुन् । उनीहरू भन्छन् ‘मान्छेले छोडेर रित्ता बनाएका घोष्ट भिलेजलाई पर्यटनको माध्यमबाट हुयमन भिलेज बनाउन सकिन्छ । यसले रित्ता घरमा जमेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्छौं भन्ने कोसिसमा छौं । अरुतिरका रित्ता घरलाई पर्यटनसँग जोडेर भरिभराउ भन्ने हाम्रो सन्देश छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?