+
+
Shares

तमिलनाडुमा सरकारी अस्पतालमा जन्मिने शिशुलाई सुनको औंठी उपहार

यो योजनाअन्तर्गत सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औंठी उपहार दिइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ६:३९

१४ असोज, काठमाडौं । भारतको तमिलनाडु सरकारले सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने नवजात शिशुलाई सुनको औंठी उपहार दिने योजना सुरु गरेको छ ।

यो योजनाअन्तर्गत सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औंठी उपहार दिइनेछ ।

योजना शुभारम्भका क्रममा तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले केही नवजात शिशुलाई आफ्नै हातले सुनको औंठी लगाइदिएका थिए ।

मुख्यमन्त्री विजयले सोमबार मदुरैस्थित सरकारी राजाजी अस्पतालमा ‘थाई मामन थंगा मोतिरम’ नामको योजना सुरु गरेका हुन् । तमिल भाषामा ‘थाई मामन थंगा मोतिरम’को अर्थ ‘मामाको सुनको औंठी’ हुन्छ । आमाका दाइ वा भाइलाई ‘मामा’ भनिएजस्तै तमिल समाजमा पनि मामाको सम्बन्धलाई विशेष मानिन्छ ।

तमिलनाडुका स्वास्थ्य मन्त्री अरुण राजका अनुसार बच्चा जन्मिएपछि सबैभन्दा पहिले पुग्ने आफन्तमध्ये मामा पनि एक हुन्छन् । उनले दिदी–बहिनीको खुसीमा सहभागी हुँदै परिवारलाई साथ दिने परम्परालाई सरकारले यो योजनामार्फत सम्मान गर्न खोजेको बताएका छन् ।

सुनको औंठी दिने योजनाको उद्देश्य के हो ?

तमिलनाडु सरकारले यो योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढाउनु र अस्पतालमै सुरक्षित प्रसूति गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्नु रहेको जनाएको छ ।

सरकारका अनुसार सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहित गर्दा आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्न सक्छ । साथै, बालबालिकाको कल्याणप्रति सरकारको प्रतिबद्धता पनि देखिने सरकारको दाबी छ ।

सरकारी अस्पतालमा प्रसूति गराउने परिवारलाई प्रत्यक्ष रूपमा सुनको औंठी उपहार दिँदा सरकारी स्वास्थ्य संस्थासँग नागरिकको भावनात्मक सम्बन्धसमेत बलियो हुने सरकारको अपेक्षा छ ।

विपक्षीले पनि गर्‍यो स्वागत, तर उठायो प्रश्न

विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले पनि योजनाको स्वागत गरेको छ । तर उसले नवजात शिशुलाई सुनको औंठी दिनुभन्दा परिवारका लागि आवश्यक पोषण र सरकारी अस्पतालको गुणस्तर सुधारलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।

भाजपा नेतृ तमिलिसाई सौन्दर्यराजनले सामाजिक सञ्जालमार्फत नवजात शिशुलाई सुनको औंठी दिनु स्वागतयोग्य भए पनि परिवारका लागि तत्काल आवश्यक कुरा दैनिक पोषण सुनिश्चित गर्नु रहेको बताएकी छन् ।

उनले सरकारी अस्पतालमा जन्मिने शिशुलाई सुनको औंठी वितरणमा ठूलो रकम खर्च हुने भए अस्पतालमा पर्याप्त स्वास्थ्य पूर्वाधार, चिकित्सक तथा आवश्यक सुविधा सुनिश्चित गर्न पनि पर्याप्त बजेट छुट्याउनुपर्ने बताएकी छन् ।

भारतका सरकारी अस्पतालमा के–के छन् समस्या ?

भारतमा आर्थिक रूपमा सक्षम मानिस उपचारका लागि निजी अस्पताल रोज्ने प्रवृत्ति रहेको देखिन्छ । सरकारी अस्पतालमा हुने अत्यधिक भीड, सीमित शय्या, चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव, उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था र कमजोर पूर्वाधार यसका प्रमुख कारणमध्ये मानिन्छन् ।

सरकारी अस्पतालमा नवजात शिशुको उपचारसँग सम्बन्धित दुर्घटनाका घटना पनि बेलाबेला सार्वजनिक हुने गरेका छन् । केही समयअघि तेलंगानाको एक सरकारी अस्पतालको नवजात शिशु उपचार कक्षमा आगलागी हुँदा दुई शिशुको मृत्यु भएको थियो ।

यस्ता घटनाले सरकारी स्वास्थ्य संस्थाप्रति अभिभावकको विश्वासमा असर पार्ने गरेको छ । यही पृष्ठभूमिमा तमिलनाडु सरकारले सरकारी अस्पतालमा प्रसूति गराउने परिवारलाई प्रोत्साहित गर्ने उद्देश्यले सुनको औंठी दिने योजना अघि सारेको हो ।

सरकारले भने योजनामार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउने दर बढाउनुका साथै नागरिकमा सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास बलियो बनाउने लक्ष्य राखेको जनाएको छ । अब योजना कार्यान्वयनसँगै यसले सरकारी अस्पतालमा प्रसूति गराउने प्रवृत्ति र स्वास्थ्य सेवाप्रतिको जनविश्वासमा कस्तो प्रभाव पार्छ भन्ने महत्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?