१४ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणपछि इरानले मध्यपूर्वका देशहरूलाई क्षेत्रीय अस्थिरता निम्त्याउने गतिविधिबाट बच्न चेतावनी दिएको छ ।
इरानको विदेश मन्त्रालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा नेतन्याहको यूएई भ्रमणप्रति आपत्ति जनाउँदै क्षेत्रीय सुरक्षाको जिम्मेवारी सबै देशको साझा दायित्व भएको उल्लेख गरेको छ ।
‘यस क्षेत्रको सुरक्षा सबै देशहरूको साझा जिम्मेवारी हो । असुरक्षित शक्तिहरूलाई यस क्षेत्रमा प्रवेश गर्न बाटो सिर्जना गर्ने कुनै पनि कार्य अन्ततः यस क्षेत्रका सबै देशहरूका लागि हानिकारक हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘यसले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता सिर्जना गर्नेछ । त्यसैले, यस क्षेत्रका सरकारहरूले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न आफ्नो जिम्मेवारी बुझ्ने अपेक्षा गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
इरानले त्यस्ता गतिविधिले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता बढाउने दाबी गरेको छ । साथै, क्षेत्रीय सरकारहरूले शान्ति र स्थायित्व कायम गर्ने आफ्नो जिम्मेवारी बुझ्नुपर्ने जनाएको छ ।
इरानी विदेश मन्त्रालयले अन्य देशका सरकारहरूलाई इजरायलको ‘हानिकारक उपस्थिति’ विस्तारका लागि बाटो नखोल्न र आफ्नो भूमिलाई अन्य देशविरुद्ध हुने गतिविधिको मञ्च बन्न नदिन आग्रह गरेको छ ।
यसअघि नेतन्याहुले आइतबार यूएईको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग भेटवार्ता गरेका थिए ।
यद्यपि, इजरायली प्रधानमन्त्री कार्यालयले उक्त भ्रमणको पुष्टि दुई दिनपछि मात्रै गरेको थियो ।
प्रतिक्रिया 4