Comments Add Comment

भरतपुरमा आधुनिक सिटी बस विस्थापित

महानगरले असहयोग गरेको गुनासो

१५ चैत, चितवन । चितवनको भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालन गरिएका सिटी बस असफल भएका छन् । चितवनका केही यातायात व्यवसायी मिलेर दुई वर्षअघिबाट सञ्चालनमा ल्याएको सिटी बस भरतपुरको कोर क्षेत्रबाट विस्थापित भएका छन् ।

ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट तत्कालीन भरतपुर उपमहानगरपालिका क्षेत्र र गैंडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्ने भनी खरिद गरिएका २६ सिटका २५ वटा बस लगानीकर्ताले आ-आफ्नो बनाएर चलाउँदै आएका छन् ।

लगानीकर्ताहरुको बीचमा पनि एकमत हुन नसक्दा समस्या भएको छ । २५ जना व्यवसायी मिलेर ८ करोड ५० लाख रुपैयाँको लागतमा बस झिकाइएका थियो ।

कम्पनीका अध्यक्ष बद्री अधिकारीले आधुनिक सिटीको जस्तो झल्को दिने गरी सञ्चालन गरिएको सिटी बस महानगरको असहयोगका कारण असफल भएको गुनासो गरे । ‘हामीले सिटी बस चलायौं, महानगरलाई पनि सहयोग होस्, जनतालाई पनि सुविस्ता होस् भनियो, तर अवस्था त्यस्तो रहेन,’ अध्यक्ष अधिकारीले भने, ‘सडकभरी छाडिएका अटो रिक्सा, म्याजिकका कारण हामी टिक्ने अवस्था नै भएन ।’

कम्पनीका निर्देशक शंकर गिरीले ६ महिनासम्म घाटा नै खाएर भएपनि महानगरमा बस सञ्चालन गरेको तर महानगरबाट उचित सहयोग र संरक्षण नपाएको गुनासो गरे ।

अहिले सबैजसो सिटी बसहरू ग्रामीण भेगतिर केन्द्रित गरिएको छ । कम्पनीका १२ वटा बस नवलपुरको सिजीधाम क्षेत्र र डण्डासम्म चल्ने गरेका छन् ।

यस्तैं, पश्चिम चितवनको जगतपुर, देवघाट, सौराहालगायतका क्षेत्रमा बस सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताए ।

नेपालमै पहिलोपटक कम्पनीले मासिक यात्रा शुल्क कार्डको व्यवस्था पनि लागू गरेको थियो । एक महिनाको ९ सय रूपैयाँ तिरेर कार्ड लिएपछि एक महिनाभरी जतिसुकै यात्रा गरेपनि पैसा तिर्नु नपर्ने व्यवस्था गरिए पनि दिगो हुन सकेन ।

बसका सहचालक महिला मात्रै राखेर सञ्चालन गर्ने र राम्रो व्यवहार देखाउने योजना कम्पनीको थियो । कुनै पनि योजना दिगो बन्न नसक्दा महानगरमा सिटी बस सञ्चालन नै असफल भएको सञ्चालक गिरीले बताए ।

बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्ने गरी डिस्प्ले समेत राखिएका थिए । तर, ती संरचना पनि बिग्रिएका छन् ।

शेयर धनीले बसको चालक राख्ने, हटाउने, तलव दिने, मर्मतसम्भार गर्ने काम गरेका छन् । बैंकको किस्ता पनि शेयर धनीले नै तिर्ने गरेका छन् । ‘महानगरले सहयोग गरेको भए थप २० वटा ठूला बस ल्याएर चलाउने योजना बनाएका थियौं,’ कम्पनीका अध्यक्ष बद्री अधिकारीले भने, ‘अझैं पनि महानगरले सहयोग गर्छ भने हामी तयार छौं, तर विजोग पार्न भएन, म्याजिक र अटोले बाटो छेक्न भएन, नगर सुन्दर बनाउन ठूला बस चलाउनै पर्दछ ।’

कम्पनीका निर्देशक शंकर गिरी भरतपुर महानगरको महानगरीय यातायात सञ्चालनको ठोस नीति नै नभएको बताउँछन् ।

यता, महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरपालिकाले सिटी बस सञ्चालन र व्यवस्थापनका बारेमा कुनै योजना नबनाएको अनलाइनखबरसँग बताए ।

स्मार्ट सिटीका गुरुयोजना बनाउँदा सिटी यातायात सञ्चालनलाई पनि समेटिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment