
News Summary
Generated by OK AI. Editorially reviewed.- गत शुक्रबार राति झ्वाइँ थकाली रेष्टुरेन्टमा करिब डेढ सयजना जेनजी अभियन्ता सुदन गुरुङको नेतृत्वमा एकलौटी कमिटी गठन गर्न भेला भएका थिए।
- सुदन गुरुङले जेनजी आन्दोलनका लागि प्रदेशस्तरका नेतृत्व तोक्दै आफू संयोजक भएको घोषणा गरेका थिए।
- कतिपय जेनजी अभियन्ता र समूहले सुदनको एकलौटी कमिटी गठनलाई अस्वीकार गर्दै त्यसमा सहभागी नभएको र मान्य नभएको बताएका छन्।
७ असोज, काठमाडाैं । गत शुक्रबार राति ८ बजे । अधिकांश जेनजी नेतृत्व दाबी गर्ने व्यक्ति र समूह बालुवाटारस्थित झ्वाइँ थकाली रेष्टुरेन्ट बोलाइएका थिए ।
‘अब कस्तो रणनीति बनाउने भनेर छलफल गर्न’ भन्दै करिब डेढ सयजना अभियन्ता त्यहाँ बोलाइएका थिए । त्यहाँ अरू उद्देश्य के थियो थाहा थिएन ।
बाहिरबाट एउटा उद्देश्य देखिए पनि भित्रभित्रै सुदन गुरुङको नेतृत्वमा आन्दोलनलाई आफ्नो पकडमा राख्ने योजना बनाइएको उक्त छलफलमा सहभागी एक सदस्यले बताए ।
ती सदस्यकाअनुसार छलफल राति करिब ८ बजेदेखि मध्यरात १२ बजेसम्म चलेको थियो । यो चार घण्टे भेलाले आन्दोलनकारी पक्षहरूसँग समन्वय नगरी एकलौटी रूपमा जेनजी कमिटी बनायो, जसको संयोजक सुदन गुरुङलाई तोकियो ।
उक्त भेलामा जेनजी नेतृत्व दाबी गर्ने भनिएका विभिन्न व्यक्ति र समूह थिए । अभियन्ता दाबी गर्ने डा. निकोलस भुसालसहितका युवाहरू पनि त्यहाँ थिए । ‘हामीलाई त आगामी रणनीति बनाउने भनेर बोलाइएको थियो । तर, उनीहरूको तयारी अर्कै रहेछ,’ छलफलमा सहभागी एक सदस्यले भने ।
यसरी जेनजीहरूले भेला गरेका उक्त रेस्टुराँको व्यवस्थापन निगम हुमागाईं भन्ने व्यक्तिले गरेका थिए । उनैले त्यो स्पेस उपलब्ध गराइदिएको स्रोतले बतायो ।
यो छलफलमा अधिकांश जेनजी प्रतिनिधि बोलाइँदा खबरदारी गर्ने र एकतर्फी निर्णयको विरोध गर्नसक्ने खालका व्यक्ति र समूह छुटाइए ।
जेनजी अभियन्ता रक्षा बम, युजन राजभण्डारी, तनुजा पाण्डेलगायतलाई त्यहाँ बोलाइएको थिएन । उपस्थित अर्का जेनजी युवाले भने, ‘यो खुला छलफल भनिएपनि सुदन गुरुङको योजनाअनुसार गराइएकोजस्तो देखिएको थियो ।’
ती सहभागीकाअनुसार छलफल सुरु हुनासाथ ‘सबैले प्रदेश कमिटी बनाएर, छलफल गरेर आउनु’ भनियो । त्यसपछि कतिपय सहभागी चकित परे । भ्रष्टाचारविरुद्ध लिखित सहमति, स्टेयरिङ कमिटी गठन, र राष्ट्रपतिसँगको वार्ताको सहमति बाहिर ल्याउने कुरालाई ओझेलमा पारिदियो ।
बरु जेनजी नेतृत्व भन्दै भागबन्डा गर्नमा यो केन्द्रित भयो । यसबारे बाहिर आएको एउटा भिडियोमा पनि सो दृश्य देखिन्छ, जसमा सुदनले प्रदेशस्तरमा जेनजी नेतृत्व भन्दै जिम्मेबारी तोकिरहेका छन् ।
‘कोशी प्रदेशमा उपार्जुन चाम्लिङलाई जिम्मेवारी दिइएको छ,’ आफूलाई संयोजक बनाएका सुदनले नेतृत्व घोषणा गरिरहेका छन् । भीडले ताली बजाइरहेको छ । उनीसँगै देखिएका छन्, डा. निकोलस भुसाललगायतका अन्य अभियन्ता दाबी गर्नेहरू ।
जसै कोशी प्रदेशका लागि नेतृत्व तोकिएका चाम्लिङ स्टेजमा चढ्छन्, उनलाई प्राप्त जिम्मेवारीका कारण यसभित्रका चुनौती थाहा हुने बताउँदै गुरुङ हाँस्दै भन्छन्, ‘अब कति गाह्रो हुन्छ होला ।’
‘मधेश प्रदेशमा शिव यादव, बाग्मती प्रदेशमा किरण केसी, गण्डकी प्रदेशमा प्रदीप पाण्डे, लुम्बिनी प्रदेशबाट आदित्य आचार्य, कर्णाली प्रदेशबाट सुप्रिया राज्यलक्ष्मी देवी शाही र सुदूरपश्चिम प्रदेशबाट खेमराज साउद’ भन्दै गुरुङ प्रदेशस्तरका जेनजी नेता तोक्दै अघि बढ्छन् ।
‘आजदेखि हामी नेपालका सबै जेनजी युवा एक छौँ,’ नाम घोषणा गरेपछि गुरुङ भन्छन्, ‘हामी एक हौँ अब । यो जेनजी एकीकरणमा तपाईंहरू सबैलाई स्वागत छ र धन्यवाद छ ।’ त्यसपछि अर्का कोही निस्केर माइक समाउँछन् र ‘अब यो चाहिँ जेनजीको आधिकारिता बोकेको समूह रहन्छ’ भन्ने आशयमा आफ्ना कुरा राख्छन् । त्यहाँ रहेको भीडले फेरि अनुमोदन गर्छ ।
स्रोतले भन्यो, ‘यी योजना पहिले बनेका देखिन्छन् । हामीलाई एउटा नामले बोलाइए पनि अर्कै काम भयो । फरक विषयमा छलफल गर्ने हाम्रा प्रस्तावहरूले त्यति स्थान नै पाएनन् ।’
सुदन तिनै व्यक्ति हुन्, जसले माइतीघरमा आन्दोलनको पहिलो दिन (२३ भदौ) अनलाइनखबरसँग कुरा गर्दै आफू स्वयंसेवक मात्र रहेको, नेतृत्व नरहेको बताएका थिए ।
केही दिनअघि मात्र उनले जेनजीको नेतृत्व सामाजिक संजाल डिस्कर्डबाट मतदानबाटै चुनिने घोषणा गरेका थिए । उनी आफूले यी सबै कुरामा सहजीकरण गरेर नेतृत्व सुम्पन तयार रहेको बताउँथे । तर, अहिले आन्दोलनकै नेता आफैं जस्तो गरिरहेको देखिन्छ ।
सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत ‘मुख्य वार्ताकार’को रुपमा सुदन प्रस्तुत भइरहेका देखिन्छन् ।
‘त्यस रात झ्वाइँ थकालीमा उहाँहरूको तरिका हेर्दा पनि उहाँहरूले कुनै समूह भन्दा पनि एउटा ‘ग्याङ’ बनाइरहेको जस्तो देखिन्थ्यो । त्यो कुनै पोलिटिकल कल्चर नै हैन । यसले हाम्रो आन्दोलनका उपलब्धि दुर्घटनातर्फ लग्ने देखिन्छ,’ छलफलमा सहभागी सदस्यले अनलाइनखबरसँग भने ।
जेनजीहउपलब्धी एक रहेको सन्देश दिने नाममा जसरी बलमिच्याइँ गरेर कमिटी बनाइयो त्यो आफैँमा अस्वीकार्य रहेको उनको भनाइ छ । यद्यपि, हाललाई सुरक्षा खतरा देखिएको भन्दै आफ्नो नाम नखुलाउन उनले अनुरोध गरे ।
उनका अनुसार शुक्रबार रातिको त्यो छलफलमा उपस्थितहरूलाई हस्ताक्षर गर्न पहिला नै खाका तयार थियो । तर, पछि कतिपयले आपत्ति जनाएपछि त्यहाँ भाषा फेरेर हस्ताक्षर राखिएको पनि उनले बताए । ‘तपसिलअनुसारको निर्णय भयो’ भन्ने भाषा सच्याएर ‘उपस्थिति रह्यो’ भन्नेमात्र बनाउन लगाएको ती सदस्यको दाबी छ ।
यसरी हामी नेपालका संयोजक सुदन गुरुङले जेनजी आन्दोलनकारीको संयोजक पनि आफैँलाई घोषणा गरेका र सोहीअनुसार एकलौटी प्रदेश कमिटी घोषणा गरिएको त्यहाँ उपस्थित सदस्यबाट बुझ्न सकिन्छ । यसबारे थप बुझ्न खोज्दा सुदन भने सम्पर्कमा आउन चाहेनन् ।
सुरुवातमा संयोगवस जेनजी आन्दोलनको केन्द्रमा देखिन पुगेका सुदन गुरुङमाथि केही आलोचना पनि छ ।
गत भदौ २३ गते स्वयंसेवकको रूपमा माइतीघरमा देखिएका उनी क्रमश: यसको नेतृत्व र बार्गेनिङ गर्ने तहसम्म पुगे ।
गत शुक्रबार मात्र सुदन राष्ट्रपति कार्यालय शीतलनिवासमा देखिए । पुराना दलका नेतृत्वसँगै उनी जेनजीको प्रतिनिधिको रूपमा देखिएपछि थप आलोचना भयो ।
आफूमाथि प्रश्न उठाइएपछि उनले स्पष्टीकरण नै दिनुपर्ने अवस्था आयो । हामी नेपालका संयोजक गुरुङले पुराना नेताहरूले शिर नउठाउन् भनेर आफू राष्ट्रपति कार्यालयमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा गएको बताए ।
शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए ।
‘सबैको दिमागमा प्रश्न आइरहेको छ, म त्यहाँ किन सेलिब्रेट गर्न गएको हो ? भनेर,’ गुरुङले भनेका छन्, ‘म सेलिब्रेट गर्न गएको होइन त्यहाँ । मलाई सेलिब्रेट गर्नु पनि छैन । म सुरुमा जाँदिन नै भनेको हुँ ।’
तर, पुराना नेताहरू पनि त्यहाँ आउने थाहा पाएको र त्यसपछि उनीहरू शिर उचालेर हिँड्छन् भन्ने भएपछि आफू त्यहाँ पुगेको गुरुङले बताए ।
‘नेताहरू सबै आउने भनेपछि यिनीहरू शिर उचालेर हिँड्छ भनेर म त्यहाँ गएको हो । म त्यहाँ एउटा नेतासँग बस्दा पनि बसिनँ । एउटै लेभलमा कुर्सीमा बस्दा पनि बसिनँ,’ गुरुङले भने, ‘उभिएर बसेँ, पानीमा रुझेर बसेँ । चिया खाउँ भनेर भनेको थियो, मैले चिया पनि खाइनँ । पानी खाऔं भन्दै थिए, म पानी खाँदिन भनेँ, अशुद्ध हुन्छु भनेर ।’
त्यही मौकामा गुरुङले कांग्रेस महामन्त्री गगन थापालाई भेटेको प्रसंग आएपछि थप चर्चा पायो । जसबारे गुरुङले भनेका छन् – ‘मैले गगन दाईलाई नि भेटेँ, यस्तो तालले भएन दाई, तपाईंहरू के के गर्नु हो गर्नु, यो बुढाहरू यसरी आउन भएन भनेर भनेको छु ।
उनले संविधानकै कारण पुराना नेताहरू जोगिएको समेत गगनलाई बताएको दाबी गरेका छन् । ‘तपाईंहरूलाई प्रोटेक्ट गरेको भनेको संविधानले हो । संविधान फालेको भए, प्रेसिडेन्ट पनि जान्थ्यो, स्टेट अभिभावकविहीन हुन्थ्यो,’ गुरुङको दाबी थियो ।
यसरी सुदन अघि बढिरहँदा आन्दोलनपछि भएका वार्तामै सहभागी भएका कतिपय जेनजी अभियान्ताले आपत्ति जनाएका छन् । ‘उहाँले त कमिटी बनाउनुभयो रे भन्ने सुनेँ । त्यो कुरा ठीक हैन । हामीलाई थाहा पनि छैन, मान्य पनि छैन,’ एक जेनजी अभियन्ताले अनलाइनखबरसँग भने ।
त्यस्तै, जेनजी अभियन्ता तनुजा पाण्डे पनि सुदनको यो तरिका ठीक नभएको बताउँछिन् । आफूहरुलाई झ्वाइँ रेस्टुराँमा नबोलाइएको र त्यहाँ भएका गतिविधिबारे पनि स्पष्ट नभएको बताउँदै उनले भनिन्, ‘के–के कमिटी बनाइयो रे भन्ने सुनेँ । यदि त्यो हो भने हामीलाई मान्य छैन ।
‘हामी नेपाल’ले आफ्नो संस्था वा संगठन आफ्नो हिसाबले विस्तार गर्न पायो, तर जेनजीको नाममा कुनै राष्ट्रिय कमिटी बनेको छैन । यो कुरा हामीलाई मान्य छैन ।’
प्रतिक्रिया 4