Comments Add Comment

सोमबारबाट त्रिभुवन विमानस्थल १० घण्टा बन्द, मौसम हेरेर काम हुने

१४ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सोमबारबाट सुरु हुने भएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । यसका लागि विमानस्थल दैनिक १० घण्टा बन्द हुनेछ ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा चैत १७ बाट पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न अन्तिम तयारी भईरहेको छ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम सुरु गर्दैछ ।

नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकिने अनुमान छ ।

के गरिँदैछ ?

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको हो ।

अब हालको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ । अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्ग भित्री सतहबाट स्तरोन्नति गरिनेछ । भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइँदैछ ।

‘लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना र ठूला छिद्रहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भू-बनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर रिह्याबिलिटेसन गर्नुपर्छ,’ उड्ययन अधिकारीहरु भन्छन् ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ । यो रिह्याबको काम गरे २१ घन्टा मात्र चल्ने गरेको विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ ।

रातभर काम, बिहान तमाम

धावनमार्ग ममर्तको काम काम गर्न राति १० बजेपछि मात्रै सुरु हुनेछ र विहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य बनाइसकिनेछ ।

एक रातमा धावनमार्गको ८० देखि १०० मिटरसम्ममा मात्रै काम हुन सक्ने पौडेलले बताए । यो समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान-अवतरण सेवा रोकिनेछ ।

उपकरण, जनशक्ति, दक्ष प्रविधिक सामग्रीहरु तयार अवस्थामा राखिएको पौडलले जानकारी दिए । रातभर काम गरेपछि विहान उडान सुरु हुने बेलासम्म खनिएको धावनमार्गको भाग स्तरोन्नति गरेर तयार गरिसक्नुपर्नेछ ।

जोखिम पनि

विमानस्थलका अनुसार यो काम चुनौतीपूर्ण हुनेछ । धावनमार्ग स्तरोन्नतिका क्रम सानो समस्या आएपनि उडान अवतरण प्रभावित हुनसक्ने नागरिक उड्ययन सम्बद्ध अधिकारी बताउँछन् ।

‘राति धावनमार्गको निश्चित भाग खनेपछि कालोपत्रे गर्नुअघि ठूलो वर्षा भए त्यसले विमानस्थल नै अवरुद्ध पनि हुन सक्छ,’ एक बरिष्ठ उड्डयन अधिकारी भन्छन्,’थोरै हेलचेक्र्याइँ भयो भने एयर ट्राफिक व्यवस्थापनमा निकै समस्या आउँछ ।’

विस्तार परियोजनाका प्रमुख पौडेल दैनिक रुपमा बैठक बसेर प्रत्येक दिनको कामको योजना बनाउने बताउँछन् । मौसमको पूर्वानुमान गरेर मात्रै राति रन-वेमा काम गरिने भन्दै संवेदनशील अवस्था आउने देखिए काम नगरिने बताए ।

काममा ढिलाइ पनि गर्न नहुने र रातभर काम गरेर विमान एयरपोर्ट तयार अवस्थामा राख्नुपर्ने भएकाले निकै संवेदनशील भएर काम गरिने उनको भनाइ छ ।

‘राति खोतलिएको धावनमार्ग छिटो तयार गर्न अलकत्रा पनि विशेष खालको प्रयोग गर्दैछौं,’ पौडेलले भने,’छिट्टै पकड जमाउने खालको अलकता प्रयोग गरिने भएकाले समस्या हुँदैन ।’

एयर ट्राफिक बढ्ने 

यो कामका लागि १० घण्टा विमानस्थल बन्द हुने भएपछि त्रिभुवन विमानस्थल कार्यालयलाई पनि एयर ट्राफिक र पार्किङ व्यवस्थापनमा निकै समस्या हुने देखिएको छ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै एयरपोर्टमा आउने सबै फ्लाइटलाई व्यवस्थापन गर्नुपर्ने भएकाले आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था अझै बढ्ने अनुमान गरिएको छ ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री भने यही कामै कारण उडान कटौति नगरिएको बताउँछन् । ‘वायुसेवा कम्पनीसँग कुरा गरेर उडान समयको व्यवस्थापन गर्दैछौं,’ क्षेत्रीले भने,’कतिपय एयरलाइन्सले यात्रुको चाप नभएका फ्लाइट तालिकाबाट झिक्नुभएको छ ।’

यसै पनि त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जामको समस्या ब्याप्त छ । जसलाई व्यवस्थापन गर्न एयर ट्राफिक कन्ट्रोलरलाई धौ-धौ पर्छ भने आकाशमा विमान होल्ड हुँदा यात्रुमाथि मानसिक दबाव सिर्जना हुने गरेको छ । उड्न तयार भएका यात्रुलाई पनि प्रतीक्षा गर्न सहज हुँदैन ।

अब करिब ३ महिना विमानस्थलमा हुने चापको कारण यो समस्या झनै बढ्ने अनुमान छ ।  यदि रातभरमा उप्काइएको धावनमार्ग विहान ८ बजेसम्म मर्मत गरेर नसकिए विमानलाई होल्ड भएरै बस्नुपर्ने अवस्था आउन सक्छ ।

तर, सरकारले भने संवेदनशील भएर काम गरिने भन्दै वैज्ञानिक तवरमा धावनमार्गलाई नयाँ बनाएर छाडिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment