Comments Add Comment

चारदल फेरि सहमति नजिक, संविधानसभा साँझ ६ बजेलाई सर्‍यो

Four-Party-Meeting

  • फाइल फोटो

१५ असार, काठमाडौं । नयाँ संविधानको प्रस्तावित एकीकृत मस्यौदामा रातारात किर्ते भएपछि टाढिएका दलहरु मंगलबार दिउँसोदेखि सहमति नजिक पुगेका छन् ।

नेताहरुका अनुसार आज संविधानसभा बैठकमा मस्यौदा पेश हुनेछ । अहिले मस्यौदालाई अन्तिमरुप दिने काम भइरहेको छ भने दिउँसो २ बजेका लागि बोलाइएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सरेको छ ।

दलहरुबीच भएको १६ बुँदे सहमति, सम्वाद समितिले जुटाएको सहमति र अघिल्लो संविधानसभाले जुटाएको सहमतिलाई उल्टाउँदै मस्यौदा आएपछि सोमबार दिनभर दलहरुबीच विवाद उत्पन्न भएको थियो ।

मध्यरातसम्मै विवाद कायम रहेपछि राति पौने १ बजे बसेको संविधानसभा बैठकमा समेत मस्यौदा पेश हुन सकेन ।

मंगलबार विहानैबाट छलफलमा जुटेका दलहरु सहमति नजिक पुगेको एक नेताले बताए । उनका अनुसार बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थालाई संविधानको अपरिर्वतनीय धारामा नराखिने भएको छ ।

मस्यौदा समितिका सभापति समेत रहेका कांग्रेस महामन्त्री कृष्ण सिटौलासहितका नेताहरुले संविधानको प्रस्तावनामा संसदीय व्यवस्थालाई अपरिर्वतनीय धारामा घुसाएपछि सोमबार विवाद भएको थियो ।

त्यस्तै मंगलबार दिउँसो प्रमुख दलवीच भएको सहमति अनुसार महिलाको ३३ प्रतिशत सहभागिता पनि सुनिश्चित गरिने भएको छ । प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुने भएको छ भने परिणाममा ३३ प्रतिशत महिला नपुगे समानुपातिबाट पूर्ति गरिनेछ ।

नागरिकताको विवादमा पनि दलहरु सम्वाद समितिमा भएको सहमति अनुसार नै अघि बढ्न सहमत भएका छन् । तर, सम्वाद समितिले निर्णयको भाषा अन्तरविरोधी भएकाले केही समस्या देखिएको छ ।

एमाओवादीले फरक मत राख्ने

सहमति नभएका अन्य विषयमा भनेे एमाओवादीले फरक मत राखेर अघि बढ्ने संकेत दिएको छ । यसअघि हिजो माओवादीले विगतका सहमति उल्टाउने हो भने मस्यौदामा हस्ताक्षर नै नगर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment