Comments Add Comment

कथित कम्युनिष्टले आर्यघाटमा पनि छाडेनन् : पूर्णविराम

अरुण बराल

५ भदौ, काठमाडौं । शनिबार बिहानै कालोपुल छेउको दुईतले घरमा पुगेर ढोकामा घण्टी बजाउनासाथ रातो टोपी लगाएका एक प्रौढ कवि ग्रिलको ताला खोल्न आइपुगे । त्यो रातो टोपी त्यही हो, जुन चर्चित (तर, अहिले छायाँमा परेका) कवि पूर्णविरामको शीरमा वर्षौंदेखि देखिँदै आएको छ ।

Purnabiram

एकाध जनयुद्ध साहित्यका किताबहरु असरल्लै रहेको कोठाभित्र कालो म्याट्रेसमा पलेटी मारेर बसेपछि कुराकानी सुरु भयो, ग्रीन टीको चुस्कीसँगै ।

‘पत्नी बितेपछि एक वर्षसम्म सेतो टोपी लगाएको थिएँ’ एक-डेढ वर्ष अघिको पत्नीवियोगलाई सम्झँदै उनले भने- ‘यो रातो टोपी त अस्ति भर्खरदेखि लगाउन थालेको हुँ । अचेल राजनीतिक कविता पनि लेखेको छैन, वियोगकै कविता मात्रै लेखिरहेको छु ।’ 

कृतघ्न ‘मुला’हरु !

एक जमानामा कवि पूर्णविरामका कविता पढेर मानिसहरु माओवादी बन्थे । तर, आफ्नै स्रष्टाको विरोधमा वैद्य माओवादीका कार्यकर्ताले आर्यघाटमै पुगेर नारा लगाएछन् उनीविरुद्ध । पूर्णविरामले चित्त दुखाउँदै भने- ‘यी मुला त कथित कम्युनिष्ट रहेछन् ।’

‘वैद्यका कार्यकर्ताले आर्यघाटमै मेरो विरोध गरे, पत्नी मरेको शोकका बेलामा ईश्वरचन्द्र ज्ञवालीले आर्यघाटमै भाषण गरेर मलाई पीडामाथि पीडा दिए’ कवि पूर्णविरामले गुनासो सुनाए, ‘पत्नीको काजक्रिया हिन्दू संस्कार अनुसार किन गरिस् भनेर वैद्यका कार्यकर्ताले त्यस्तो शोकका बेलामा पनि मलाई तथानाम गाली गरे । पत्रिकामा आर्टिकल नै लेखे ।’

तानाशाहले पनि अन्तिम ईच्छा सोध्छन्

‘मैले लभ म्यारिज गरेको हुँ । म बाहुनको छोरो, उनी मगरकी छोरी । यो उमेर -बुढेसकाल) मा पत्नी गुमाउनु पर्दा कस्तो हुन्छ भन्ने त भोग्नेलाई मात्र थाहा हुन्छ,’ कविले वियोग रसमा भने,-‘अचेल म विक्षिप्त अवस्थामा छु, राति पनि सुत्न सक्दिँन, आकाशका ताराहरु हेर्छु र टिप्न पाए हुन्थ्यो भन्ने सोच्छु ।’

आफूले समाजबाट विद्रोह एवं प्रेम गरेर ल्याएकी पत्नीले मृत्युपूर्व आफूसँग अन्तिम ईच्छा व्यक्त गरेको कविले सम्झिए- ‘तपाई कम्युनिष्ट हो, मेरो काज किरिया गर्नुहुन्न होला, तर मेरो काज किरिया हिन्दु संस्कार अनुसार गरिदिनुहोला ।’

पत्नीको ईच्छा बमोजिम हिन्दु विधि-विधान अनुसार आफूले काज किरिया गरेको र छोरीले दागवत्ती दिएको उनले बताए । छोरो विदेशमा रहेकाले आउन नसकेको उनले सुनाए । ‘आफ्नी पत्नीको अन्तिम ईच्छा पूरा गर्दा मलाई बैद्यका कार्यकर्ताले तँ प्रगतिवादी होइनन्, पतीत भइस् भने,’ कविले आफ्नो मन दुखाउँदै भने- ‘जस्तोसुकै तानाशाहले पनि मान्छेलाई मार्ने बेलामा अन्तिम ईच्छा सोध्छन् र पूरा गरिदिन्छन्, बाइबल पढ्छु भन्नेलाई पढ्न दिन्छन्, आफन्त भेट्छु भन्नेलाई भेट गर्न दिन्छन् । मैले आफ्नी पत्नीको अन्तिम ईच्छा पूरा गर्दा म उनीहरुको आँखामा पतीत भएँ ।

१३ दिन नै किरिया गरियो

‘ईश्वरचन्द्र ज्ञवालीले ५ दिन मात्रै किरिया गर्नोस् न त भनेका थिएँ, मैले १३ दिन नै गरें ।’

किन ? १३ दिने कार्जेको औचित्य प्रष्ट्याउन खोज्दै उनले भने- ‘मैले पुरोहितलाई भनें, १३ दिनमा पुग्नुपर्ने ठाउँमा मेरी पत्नीलाई बेगले दौडाएर पाँचदिनमै पुर्‍याइदिन मिल्दैन ? तर, पुरोहितले प्रत्येक रातमा सम्बन्धित ठाउँमा बास बस्नैपर्ने भएकाले १३ दिनको यात्रा ५ दिनमा पूरा गर्न नसकिने भनेपछि १३ दिन नै गरियो ।’

बिचौलिया माओवादी खराब

आफू माओवादीको साधारण सदस्यसम्म नरहेको तर, उनीहरुले आफूमाथि हप्कीदप्की र गालीगलौज गरेको उनले बताए । ‘म तिनीहरुको सदस्य पनि होइन, मलाई किन हप्काउने ? किन गाली गर्ने ?’

आफू कोरामा बसेका बेला मोहन वैद्य भेट गर्न आएको उनले सम्झिए । ‘तर, प्रचण्ड आएनन्, सायद बिचौलियाहरुले उनलाई आउन दिएनन्’ उनले भने- प्रचण्ड र वैद्य त त्यस्ता होइनन्, तर बिचौलियाहरु खराब छन् । प्रचण्डलाई डाइरेक्ट फोन गर्ने मसँग उपाय पनि भएन ।’

कुराकानीकै क्रममा पूर्णविरामले प्रचण्डका बारेमा धेरै पहिले लेखेको कविता सम्झिए- नेकोपी अर्थात नेताको पीडा :

अलि अलि आफ्नो तौल घट्ने वित्तिकै
हिनहिनाउन थाल्छन् अस्तबलमा रहेका घोडाहरु……

भ्यालेन्टाइनजस्तै वियोग दिवस मनाउन पाउँ

जति नै बिक्षिप्त बने पनि अब कवि पूर्णविरामकी प्रेयसी शावित्री शर्मा -मगर) अब फर्किएर धर्तीमा आउनेवाला छैनन् । उनलाई कालले लगिसकेको छ । पत्नीलाई सम्झँदै कविले भने- ‘अस्पतालका मान्छे पनि सबै चोरहरु रहेछन्, दबाइ छैन, इण्डियाबाट ल्याउनुपर्छ भने, सीटी स्क्यान त कति चोटि गरियो, बचाउन सकिएन, शक्ति भएको भए बेग्लै हुन्थ्यो ।’

Purnabiram-1

राजनीतिक कविता लेख्न छाडेका पूर्णविरामले पत्नीको सम्झनामा ४/५ वटा कविता लेखेका छन् । ‘आज एकेडेमीका अन्तिम श्रंृगार भन्ने कविता वाचन गर्दैछु,’ सुन्ने भए आउनोस् ।’

उनले थपे- ‘भ्यालेन्टाइन डे, प्रेम दिवस इत्यादिमात्रै किन मनाइन्छ ? वियोग दिवस पनि मनाउने गर्नुपर्छ भन्ने मेरो माग छ । भदौ १३ गते गाईजात्रामा म विछोडका कविता वाचन गर्ने योजनामा छु ।’

प्रगतिवादी कवि पूर्णविरामले फेरि पत्नीकै सम्झनामा विक्षिप्त हुँदै भने- ‘मैले प्रेम विवाह गरेको थिएँ, पत्नीको अन्तिम ईच्छा पूरा गरेर मैले के गल्ती गरें ? त्यो त मैले नारीप्रति सम्मान गरेको हो ।’

यतिबेला छोरीका साथमा कालो पुलमा बस्दै आएका सरल जीवनशैलीका कवि पूर्णविराम फेरि भावनामै डुबुल्किए- ‘म प्रेममा थिएँ । तर, मैले जीवनमा प्रेम मात्रै सोचेंछु, विछोडबारे सोच्दै सोचिँनछु । शावित्रीेको निधनपछि मैले वेद पढें । वैद्यहरु प्रचण्डले धोका दियो भन्छन्, के को हुनु ? तिमीहरु आफैं धोकामा छौ । अहिले देखिएका सेता दाँतहरुले पनि जीवनमा धोका दिन्छन् । मृतकको वाणी आगोले लिन्छ, मनलाई चन्द्रमाले लिन्छ ।’

केही प्रश्नहरु:

कवि पूर्णविरामलाई भेटेर अनलाइनखबरको कार्यालयतर्फ र्फकंदा केही प्रश्नले कुत्कुत्याउन थाले : पत्नीको अन्तिम ईच्छा पूरा गर्ने पूर्णविराम सही छन् या आर्यघाटमै उनको भण्डाफोर गर्ने वैद्य माओवादीका कार्यकर्ता ?

कवि पूर्णविराम, जो माओवादीको सदस्य पनि थिएनन् । उनीमाथि माओवादीले कतिसम्म हस्तक्षेप या शासन गर्न मिल्छ ?

एउटा प्रगतिवादी मानिसले हिन्दुविधि विधानअनुसार काजकिरिया गर्नु कम्युनिष्टको नजरमा अक्षम्य अपराध नै हो त ?

के अब यही कारणबाट माओवादीहरुका लागि कवि पूर्णविराम परित्यक्त पात्र भइसकेका हुन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment