Comments Add Comment

मधेसमा नभिड्ने, तर ‘भ्रम चिर्ने’ एमालेको योजना

Uml-Vela-1

फाइल तस्वीर

१६ असोज, काठमाडौं । तराई मधेसमा आन्दोलनकारीको नजरमा सबैभन्दा आक्रोशको तारो बनेको नेकपा एमालेले मधेसी समुदायमा ‘आफू विरुद्ध फैलाइएको भ्रम चिर्न’ योजनावद्ध अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछि आयोजित विकास क्षेत्रीय भेलाहरुपछि पहिलो चरणको योजना बोकेर मधेसका एमाले नेताहरु जिल्ला फर्किन लागेका छन् ।

अभियानको शुरुवात बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट पुगेर गरिसकेका छन् । उनले त्यहाँ भोजपुरी भाषामा संविधानबारे कार्यकर्तालाई बुझाए ।

पहिले चरणमा आफ्नै पार्टीपंक्तिलाई संविधानको बारेमा प्रष्ट पार्ने र त्यसपछि जनतामा जाने योजना बनाइएको केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रीप्रसाद साहले बताए ।

अहिले नै जनपरिचालनका कार्यक्रम लिएर जाँदा आन्दोलनकारीहरु आक्रोशित हुने भएकाले आन्तरिक योजना बनाइएको हो । पहिलो चरणमा गाउँदेखि अञ्चल तहका बैठकहरु आयोजना हुनेछन् ।

एमालेले तराई मधेसका फैलिएको भ्रम चिर्नका लागि योजनावद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि एमालेले मधेसमा शक्ति परिचालनको तयारी गरेको छ ।

‘हाम्रो उद्देश्य भिडन्त गर्ने होइन, मधेसको आन्दोलनमा हाम्रो पनि भावना गाँसिएको छ, हाम्रा जनता पनि आन्दोलनमा छन्’ पोलिटब्यूरो सदस्य तथा सांसद सत्रुधन महतोले भने ‘मधेस जनताका जायज माग सम्बोधन भएपछि आन्दोलन आफैं टुंगिन्छ’ ।

संविधानमा भएका कुराहरु पनि आन्दोलनकारी दलहरुले खोसिए भनेर प्रचार गर्दा कतिपय कार्यकर्तामै भ्रम देखिएकाले बैठक बसेर वास्तविकता बुझाउन लागिएको महोत्तरी जिल्ला अध्यक्ष तथा सांसद राम दयाल मण्डलले बताए ।

बैठकपछि पार्टी कार्यकर्ता तहमा भेला, छलफल र प्रशिक्षणहरु आयोजना गर्ने योजना दोस्रो चरणमा राखिएको छ । त्यसक्रममा शिक्षक, पेशाकर्मी र गाउँका अगुवाहरुलाई संविधानमा मधेसको पक्षमा लेखिएका विषय प्रष्ट पार्ने योजना छ ।

तेस्रो चरणमा संविधान पक्षधर दलका स्थानीय नेतृत्व र कार्यकर्तासँग छलफल चलाउँदै जनतालाई बुझाउन थाल्ने योजना एमालेले बनाएको छ । यस क्रममा सानातिना कोणसभाहरु र अन्तरक्रिया कार्यक्रमहरु हुने छन् ।

यसबीचमा मधेसका जायज माग विशेषतः निर्वाचन क्षेत्र, समानुपातिक समावेशी र सीमांकनको कुरा मिलाउन नेतृत्वलाई निरन्तर दबाव दिने योजना बनाइएको एक मधेसी नेताले बताए ।

2_pardesh
संसदबाट संविधान संशोधन मार्फत मधेस आन्दोलनको मुख्य माग पूरा भएपछि ठूला सभाहरु गर्ने र जनताबीच जाने योजना एमालेले बनाएको छ ।

‘आखिर मधेसका जनता हाम्रै हुन्, हामीलाई भोट दिएकाहरु नै आन्दोलनमा छन्’ महतोले भने ‘कतिपय भ्रम छन् तीनलाई हामी चिर्छौं, कतिपय जायज माग सम्बोधन गर्न नेतृत्वलाई बाध्य पाछौं’ ।

को-को परिचालन हुँदैछन् ?

एमालेले मधेसमा पार्टीको जनमत कमजोर हुन नदिन र भ्रम चिरेर कार्यकर्ता पंक्तिलाई एकतावद्ध राख्न भित्री योजनाहरु समेत तय गरेको स्रोतले जनाएको छ ।

यसका लागि जिल्ला नेतृत्वले योजना बनाउनेछ । केन्द्रबाट पूर्वाञ्चलमा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, जगदीश कुसियत, धर्मनाथ साह, रामचन्द्र यादव, भगवती चौधरीलगायतका नेता परिचालित हुनेछन् ।

मध्यमाञ्चलमा लालबाबु पण्डित, सत्रुघन महतो, नागेन्द्र चौधरी, श्रीप्रसाद साह, सरला यादव लगायतका नेता परिचालन हुने आन्तरिक योजना बनाइएको स्रोतले जनाएको छ ।

त्यस्तै पश्चिममा बैजनाथ चौधरी, महेश चौधरी, शान्ता चौधरी, मेटमणि चौधरी, दिनेश यादव, कृपाराम रानालगायतलाई परिचालन गरिनेछ ।

यद्यपि संविधानमा हस्ताक्षर गर्ने मधेसी सभासदहरुप्रति आन्दोलनकारी आक्रोशित भएर घर अगजनी गर्नेसम्मका घटना भएका कारण जायज मागहरु शीर्षतहबाट सम्बोधन भएपछि मात्र जिल्ला फर्किने सोचमा सभासदहरु छन् ।

‘अहिले नै हामी जाने भनेको भिडन्त गर्न गएजस्तो हुन्छ, हामी पनि संसद अधिवेशनको पहिलो दिनमै नेताहरुबाट केही सम्बोधन होस् भनेर पर्खेका छौं’ पर्साका एमाले सभासद राजकुमार गुप्ताले भने ‘जिल्लामा जान त गइएकै छ, तर केही लिएर जान चाहान्छौं’ ।

तराई मधेसमा एमालेका ९ योजना यस्ता छन्

एमालेले शुरुमा गाउँ,नगर र जिल्ला कमिटीहरुका बैठक गर्ने योजना बनाएको छ । त्यससँगै अगुवा कार्यकर्ता भेला र संविधानबारे छलफल गरी भड्किएका एवं अन्योलग्रस्त कार्यकर्तालाई बुझाउने उसको कार्यक्रम छ ।

त्यसैगरी पार्टी सदस्यहरुलाई संविधानबारे प्रशिक्षण दिने, शिक्षक, पेशाकर्मी र अगुवाहरुसँग कोठे बैठक गर्ने कार्यक्रम एमालेले तय गरेको छ ।

संविधान पक्षधर दलका कार्यकर्तासँग छलफल गर्ने र सानातिना छलफलका साथै अन्तरक्रिया र कोणसभाहरु गर्ने उसको योजना छ ।

त्यसैगरी मधेसी मोर्चाले फैलाएका भ्रम चिर्ने अभियान चलाउने, जायज माग सम्बोधन गराउन नेतृत्वलाई दबाव दिने र संसदबाट संविधान संशोधनलगतै ठूला सभाहरु गर्ने एमालेले योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment