Comments Add Comment

गगन महामन्त्रीमा नउठेको भए ससुरालाई कति फाइदा हुन्थ्यो ?

arjun narshing kc

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा चुनाव लडेका ज्वाइँ-ससुरा गगन थापा र अर्जुननरसिंह केसी दुबै पराजित भएका छन् । कतिपयलाई लाग्दो हो, गगन थापाले चुनाव नलडेको भए ससुराले जित्ने थिए कि ?

तर, महामन्त्रीको मत परिणामलाई विश्लेषण गर्दा के स्पष्ट देखिएको छ भने गगन थापाले चुनाव नलडेको भए पनि अर्जुननरसिंह केसीले शशांकलाई जित्न नसक्ने रहेछन् । चुनावी गणितले के स्पष्ट पारेको छ, केसीको हारको कारण उनका ज्वाइँ होइनन्, देउवा गुटकै नेताहरु हुन् ।

महामन्त्रीका बिजेता शशांकले १४१७ मत ल्याएका छन् । अर्जुननरसिंह केसीले पाएको मत १०१७ मत मात्र छ । यो भनेको ४ सय मतको फराकिलो अन्तर हो ।

Mahamantri Mat

गगन थापाले ५८४ मत पाएका छन् । ज्वाइँ-ससुराको मत जोड्दा १५९१ मत पुग्छ, जुन शशांकको भन्दा केही बढी हो । तर, गगन थापा चुनावमा नउठेको भए के हुन्थ्यो ?

त्यो अवस्थामा गगनले पाएको ५८४ मत सबै केसीकै पोल्टामा पर्ने दाबी गर्न सकिँदैन । किनभने गगनले आफूतिर तानेको अधिकांश संस्थापन पक्षको मत छ । गगनले ससुराका लागि ‘मार्गप्रशस्त’ गरिदिएको भए उनको पक्षमा झरेको ५८४ मतमध्ये धेरै मत संस्थापन पक्षका उम्मेद्वार शशांककै पक्षमा जाने थियो । गगनले पाएको ५८४ मतमध्ये धेरै शशांककोमा र थोरै मात्र अर्जुननरसिंहको ढ्वाङमा खस्ने सम्भावना थियो ।

शशांक कोइराला एक्लैले अर्जुननरसिंह केसीको भन्दा ४०० मत बढी पाएका छन् । गगन थापाले छेकेको ५८४ मतमध्ये २ सय मतमात्रै शशांकले तानेको अवस्था पनि उनले १६ सय मत हात पार्ने थिए ।

गगनको मतबाट केसीले ३ सय मत नै तानेको अवस्थामा पनि -जुन सम्भव थिएन) अर्जुननरसिंहको भागमा १३ सय मतमात्रै खस्ने स्थिति हुन्थ्यो, जुन शशांकको भन्दा ३ सय मत कम हुन्थ्यो ।

यो स्थितिमा गगन थापाले महामन्त्रीमा प्रतिस्पर्धा नगरेको भए पनि केसीले कोइरालासँग कम्तिमा ३ सयभन्दा बढी मतान्तरले हार्ने स्पष्ट देखिएको छ ।
बरु गगन थापाले महामन्त्रीमा चुनाव लडेर ससुरालाई जित नजिक पुग्न सहज गराइदिएका छन् । किनभने गगनले संस्थापन पक्षका शशांकको भोट काटेर केसी र कोइरालाको मतान्तरलाई अझ बढी फराकिलो हुन र केसीको शर्मनाक हार हुनबाट जोगाइदिएका छन् ।

केसीलाई देउवा पक्षबाटै धोका

महामन्त्रीमा देउवापक्षबाट चुनाव लडेका अर्जुन नरसिंह केसीलाई देउवापक्षबाटै अन्तरघात भएको प्राप्त मत परिणामले स्पष्ट पारेको छ ।
भर्खरै गुट परिवर्तन गरेर देउवातिर लागेका केसीलाई देउवा पक्षले भित्रैदेखि विश्वास नगर्नु उनको हारको अर्को कारण बन्यो ।

सभापतिमा देउवालाई मतदान गरेको खुमबहादुर खड्का समूहले केसीलाई मतदान नगरेर शशांकलाई मत नदिएको भए शशांकको मत यति धेरै आउने थिएन ।

विशेषतः शशांक हिन्दुराष्ट्रको पक्षधर भएकाले खुमबहादुर खड्का समूहको भोट केसीलाई गएन र उनले हार व्यहोरे । देउवा पक्षबाट यसरी अन्तरघात नभएको भए गगन थापाले संस्थापन पक्षको भोट काटेको अवसरमा केसीको जित लगभग निश्चित थियो ।

संस्थापनको भोट काटेकोमा ससुराले ज्याइँसँग गुनासो हैन, धन्यवाद दिनुपर्ने यो चुनावी परिणामले स्पष्ट पारिदिएको छ ।

गगनको मनोवैज्ञानिक जित

त्यसो त गगन थापाले महामन्त्रीमा चुनजाव जितेनन् । तर, मनोवैज्ञानिक रुपमा गगन नेताका रुपमा कांग्रेसभित्र स्थापित भएका छन् । पार्टीभित्र उनले कृष्ण सिटौलाको भन्दा सम्मानजनक मत ल्याएका छन् । गगनले पाएको ५८४ मत पार्टीभित्रको युवा पुस्ताको भरोसाको मत हो ।

पार्टीभित्र भर्खर उदाउँदै गरेको युवाले गुटको बेरियर छिचोलेर ५८४ मत ल्याउनु भनेको सम्मानजनक उपस्थिति हो । पार्टीको महामन्त्री र देशको गृहमन्त्री चलाइसकेका सिटौलाले गगनको जति पनि मत ल्याउन सकेनन् ।

तर, नेपाली कांग्रेसमा युवा पुस्ताका नेताले चुनाव हार्नु र लिगेसी बोकेकाहरुले नै जित्नु सुखद विषयचाँहि होइन ।

अब गगन थापाले भावी राजनीतिमा कसरी आफूलाई प्रस्तुत गर्छन्, त्यसले उनको दोस्रो सफलता निश्चित गर्नेछ । तर, केसीको हकमा भने आफूले विश्राम लिएर अब ज्वाइँ पुस्तालाई सघाउनु उचित होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment