Comments Add Comment

अम्बर गुरुङको स्वास्थ्यः एकैसाथ ६ रोग, मेदान्तले पेटमा राखेको स्टेन्ट खुस्किँदा समस्या

छोरा राजु भन्छन्ः भोलिसम्म हेरेर अर्को विकल्पमा जाने सोचाइमा छौं

Ambar-gurung
२४ जेठ, काठमाडौ । वरिष्ठ संगीतकार ७९ वर्षीय अम्बर गुरुङ्ग यतिबेला ग्राण्डी हस्पिटलको बेडमा मृत्युसँग संघर्ष गरिरहेका छन् । भेन्टिलेटरमा राखिएका उनको अवस्था ‘चिन्ताजनक तर स्थिर’ रहेको डाक्टरहरुको भनाइ छ ।

ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो शनिबार अस्पताल ल्याइएको थियो । उनी हाल एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् ।

खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो ।’अस्पताल ल्याइपुर्‍याउँदा उहाँको पेटमा राखिएको स्टेन्ट तल खसेको अवस्था थियो र खानेकुरा निल्न गाह्रो भएको थियो,’ अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो ।

गुरुङलाई अहिलेसम्म एन्टिवायोटिक, कृत्रिम स्वासप्रस्वास प्रणाली तथा रक्तचाप नियन्त्रण गर्ने औषधीले जोगाइराखेको उपचारमा संलग्न ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउँछन् । अस्पतालमा आएपछि उनको स्वास्थ्यमा सुधार देखिए पनि तीन दिनअघि भएको रगत वान्ता भएकाले स्वास्थ्यस्थिति जटिल बन्न पुगेको उनको भनाइ छ ।

‘रगत वान्ता हुँदा त्यसको केही अंश फोक्सोमा पुग्यो र श्वासप्रश्वासको समस्या देखियो,’ डा. पाण्डेले भने, ‘त्यतिबेला थप उपचार गरेर उनलाई जोगायौं र भेन्टिलेटरमा सार्‍याैं।’

गुरुङलाई  अहिलेसम्म औषधिकै भरमा जोगाइराखेको उनी बताउँछन् । मेडिकल साइन्समा सम्भव भएजति उपचार भइरहेको उनले बताए । ‘अस्पताल परिवारको तर्फबाट उहाँको स्वास्थ्यस्थिति निकै नै चिन्ताजनक छ,’ डा. पाण्डेले भने ।

भिडियो

गुरुङ्गलाई पाचन नली तथा मुटुमा गम्भीर समस्या देखिएपछि गत माघ १८ गते भारतको हरियाणास्थित मेदान्त अस्पताल भर्ना गरिएको थियो । उनी त्यसभन्दा अघि पनि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । ठोस पदार्थ निल्न समस्या देखिएपछि गुरुङ्गलाई करिब तीन महिना पहिले ग्राण्डीमा भर्ना गरिएको थियो । उनी मेदान्त भर्ना हुन गत माघ १४ गते भारत पुगेका थिए ।

गुरुङलाई मेदान्तमा क्यान्सर तथा ग्यास्ट्रो इन्टेस्टाइनका डाक्टरहरुले हेरेका थिए । उनी लामो समयदेखि ‘पार्किन्सन्स’ तथा सुगर रोगबाट समेत पीडित छन् ।

चिकित्सकले भोलिसम्म हेरौं भन्नुभएको छः छोरा राजु गुरुङ

बुवा ७९ वर्षको हुनुभयो । उहाँमा सुरुदेखि नै खानाको समस्या देखिएको थियो । तर, जटिल समस्या करिब दुई महिना पहिलेबाट सुरु भएको हो । त्यसबेला उहाँलाई खाना निल्न समस्या भएपछि ग्राण्डी अस्पताल ल्याएर चेकजाँच गराएका थियौं । उक्त चेकजाँचमा उनको अन्ननलीमा ट्युमर देखियो । त्यसबेला ग्राण्डीमै अपरेशन गर्ने भन्ने कुरा भएको थियो । तर, अपरेशनका लागि अन्य चेकजाँच गर्दा विभिन्न समस्या देखा परेपछि ग्राण्डीका डाक्टरहरुकै सुझावमा दिल्लीस्थित मेदान्त अस्पताल पुर्‍याइएको थियो ।

मेदान्तमा उहाँलाई करिब दुई महिनासम्म ‘रेडियसन’को माध्यमबाट उपचार गरिएको थियो ।  साथै खाने नली खुलाउन स्टेन्ट (एक प्रकारको पाइप) लगाइएको थियो ।

त्यसपछि हामी पुनः काठमाडौ आयौं । यहाँ आउँदा पनि उहाँमा खानाकै समस्या देखियो । एक त खाना नै रुच्दैनथ्यो, अर्को खानै नसक्ने समस्या थियो । अहिले सोच्दा यो अवस्था त्यसैको परिणाम हो जस्तो लाग्छ ।

अघिल्लो शनिबार बेलुका ब्लड प्रेसर घटेर अचेत भएपछि उहाँलाई ग्राण्डी अस्पताल पुर्‍यायौं । दुई दिन आइसीयूमा राखेर फेरि दुई दिन क्याबिनमा राखियो । त्यसपछि अवस्था झन् बिग्रेकाले भेन्टिलेटरमा राखिएको छ ।

अहिले डाक्टरहरु उहाँको उपचारलाई सहज बनाउन प्रयासरतः हुनुहुन्छ । यस्तो नाजुकमा अवस्था अन्त लिएर जाने अवस्था छैन ।

त्यसैले पनि अहिले यहाँका डाक्टरहरुले जे गरिरहनुभएको छ, ठिकै गरिरहनुभएको छ जस्तो लाग्छ ।
पछिल्लो समयसम्म आइपुग्दा डाक्टरहरुले  ‘वेट एण्ड वाच’नै भनिरहेका छन् । त्यसैले हामी पनि भोलिसम्म हेरौं भन्ने मनस्थितिमा छौं । भोलिसम्म पनि अवस्थामा सुधार नआए अर्को विकल्पमा जाने सोच बनाएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment