Comments Add Comment

पार्टी घोषणाको भोलिपल्टै नयाँ शक्तिमा विवाद

छलफल सत्रमा तीन प्रतिवेदन पेश

Naya-Shakti-Nepal-Chhafal-Shatra
छलफल सत्रलाई सम्बोधन गर्दै डा. बाबुराम भट्टराई । तस्वीर: फेसबुक

३१ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालको छलफल सत्रमा प्रतिनिधि छनोटमा विवाद भएको छ । गत शनिबार नयाँ शक्तिमा बिलय भएको जनमुक्ति पार्टीका कार्यकर्ताहरुले आफ्ना प्रतिनिधि कम समेटिएको भन्दै असन्तुष्टि जनाएपछि विवाद सिर्जना भएको हो ।

विवाद मिलाउने क्रममा निर्धारित समयभन्दा करिब दुई घण्टा ढीला छलफल सत्र सुरु भएको थियो । नयाँ शक्तिले हरेक कार्यक्रम तोकिएकै समयमा गर्दै आएको थियो ।

पार्टी घोषणाको भोलिपल्ट सोमबार नयाँ शक्ति नेपालको छलफल सत्र नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा जारी छ । छलफल सत्रमा तीन वटा प्रतिवेदन पेश गरिएका छन् । संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक, आर्थिक विभाग प्रमुख रामेश्वर खनालले आर्थिक र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सांगठनिक प्रतिवेदन पेश गरेका हुन् ।

संयोजक डा. भट्टराईले संक्षिप्त रुपमा प्रस्तुत गरिएका तीनवटै प्रतिवेदनहरु पूर्ण नरहेको भन्दै साधारण सदस्य र विज्ञहरुबाट सुझाव लिएर मात्र त्यसलाई पूर्णता दिइने बताए । उनले साधारण सदस्य र विज्ञहरुको सुझावका लागि भने छलफल सत्रले प्रस्तावहरु पारित गर्नुपर्ने धारणा राखे ।

संयोजक डा. भट्टराईले दस्तावेजले पूर्णता नपाउञ्जेलसम्म समतामूलक समृद्धि, सुशासन, सहभागितामूलक लोकतन्त्र, सार्वभौमिकता र सम्मुनत समाजवाद पार्टीको तत्कालीन कार्यदिशा हुने बताए ।

सांगठनिक प्रतिवेदन पेश गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्तिलाई दुई वर्षभित्र मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर देखाउने दाबी गरे ।

यस्तै, आर्थिक विभाग प्रमुख रामेश्वर खनालले मुलुकमा जनताले अनुभव गर्ने आर्थिक समृद्धि सम्भव रहेको तर त्यसका लागि सार्वजनिक संस्थाहरुको क्षमता बढाउन आवश्यक रहेको बताए । सार्वजनिक संस्थाहरु कमजोर बनेका कारण सरकारले विनियोजित पूँजीगत बजेट पनि खर्च गर्न नसक्ने अवस्था निम्तिएको भन्दै उनले समृद्धिका लागि सार्वजनिक संस्थाको क्षमता अभिवृद्धिसँगै सुशासनलाई प्रबर्द्धन गर्न पनि आवश्यक रहेको धारणा राखे ।

छलफल सत्रमा पेश भएका तीनवटै प्रतिवेदनमाथि मंगलबारसम्म छलफल हुने छ । छलफल सत्रमा १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् ।

छलफल सत्रमा सहभागीहरुलाई बिरयानी खुवाउने नयाँ शक्ति नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment