१६ असार, काठमाडौं । नेपालमा खुला विश्वविद्यालय स्थापनाको लागि ढोका खुलेको छ । व्यवस्थापिका संसद्ले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित गरेसँगै खुला विश्वविद्यालय स्थापनाको ढोका खुलेको हो । संसद्को विहिवारको बैठकले विधेयक वहुमतले पारित गरेको छ ।
विधेयक पारितसँगै नेपालभित्रका विभिन्न स्थान तथा विदेशमा रहेका विद्यार्थीले विश्वविद्यालयमा हाजिर नभइकन उच्च शिक्षा पढ्न पाउने भएका छन् । उच्च शिक्षामा विद्यार्थीको पहुँच बढाउनका लागि भन्दै सरकारले खुला विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक केही महिना पहिले संसद्मा पेश गरेको थियो ।
संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले दफावार छलफल गरेर तयार पारेको प्रतिवेदन अनुसार विधेयक पारित भएको छ । विधेयक अनुसार खुला विश्वविद्यालयमा कर्मचारी भर्नाका लागि अन्य विश्वविद्यालयमा जस्तो सेवा आयोगको गठन हुने छैन ।
खुला विश्वविद्यालयको कार्यकारी परिषदलाई नै कर्मचारी भर्नाको अधिकार दिएर विधेयक पारित गरिएको छ । गैरआवासीय नेपाली संघले खुला विश्वविद्यालय सम्बन्धी कानून बनाउन पाँच वर्ष अगाडिदेखि पहल गर्दै आएको थियो ।
संसद् बैठकले विशेष आर्थिक क्षेत्र विधेयक र औद्योगिक व्यवसाय विधेयक २०७१ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
प्रतिक्रिया 4