Comments Add Comment

विश्वभरबाट अनलाइनमार्फत समान पठाउने माध्यम बन्यो ‘ठमेल डटकम’

Thamel.com-Final

२४ असार, काठमाडौं। संयुक्त राज्य अमेरिकाबाट स्वदेश फर्केपछि परीक्षणका रुपमा सुरु गरेको ‘ठमेल डटकम’ले छोटो समयमा यति धेरै सफलता प्राप्त गर्नेमा बालकृष्ण जोशीलाई विश्वास थिएन ।

विश्वमा इन्टरनेटको बढ्दो प्रयोगसँगै नेपालमा पनि यसको सम्भावना छ कि भनेर सन् २००१ मा परीक्षणका रुपमा सुरु गरिएको ठमेल डटकम आज मुलुकबाहिर बसेका नेपालीलाई विश्वको जुनसुकै कुनाबाट स्वदेशमा सामान पठाउने उपयुक्त र भरपर्दाे माध्यम बनेको छ ।

अमेरिकामा उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्कनुभएका सहसंस्थापक बालकृष्ण जोशीले केही साथीहरुको सहयोगमा सन् २००१ मा नेपालकै पहिलो विद्युतीय व्यापार (इ–कमर्श)का रुपमा ‘ठमेल डटकम’ को सुरुवात गरेका हुन् ।

‘क्लक बी बिजिनेस इन्नोभेसन्स’ले आयोजना गरेको कार्यक्रममा सफल उद्यमीका रुपमा आफ्नो सफलताको कथा सुनाउँदै ‘ठमेल डटकम’ का सहसंस्थापक जोशीले भने- ‘हामीले यो गर्छु भनेर गरेको होइन । यो त परीक्षण गर्दागर्दै सिर्जना भएको हो ।’

उनका अनुसार मुलुक बाहिर बसेका नेपालीले यस कम्पनीको वेभसाइटमा प्रवेश गरेर विश्वको जुनसुकै कुनाबाट स्वदेशमा आफ्ना परिवार र आफन्तलाई सामान पठाउन सक्छन् ।

कम्पनीले हाल नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर विदेशबाट इन्टरनेटका माध्यमले छिटो र सस्तो मूल्यमा पैसा पठाउने सुविधासमेत प्रदान गरेको उनले बताए ।

‘केही सामान आयात गरेर सुरुवात गर्याैं । यो काम हाम्रो समाजमा पूरै नयाँ कुरा भएकाले धेरै उतारचढाव भयो । कारोबार बढैसँगै साझेदार पनि बढाउँदै गयौँ । सोचेको भन्दा ठूलो काम भयो’ उनले भने ।

कम्पनीले सामान पठाउने काम विश्वभरबाटै गरेको भए पनि पैसा भने केही नीतिगत चुनौतीका कारण हाल संयुक्त राज्य अमेरिका र बेलायत मात्र रहेको तथा निकट भविष्यमै कतारबाट पनि सेवा सुरु गर्ने भएको छ ।

छोटो प्रक्रिया र इन्टरनेटबाट सिधै सम्पर्क गरी पैसा पठाउने भएकाले अन्य रेमिट्यान्स पठाउने कम्पनीका तुलनामा सस्तो भएको उनको दाबी छ ।

कम्पनीले विश्वभरबाट सामान पठाउँदा क्रेडिट र डेबिट कार्ड तथा सुइफ्ट नेटवर्कबाट पठाउने गरेको छ । विदेशमा शाखा स्थापना गरेको उक्त कम्पनीले हाल १५० जनालाई रोजगारी दिएको छ ।

विश्वव्यापीकरण र मानिसको व्यस्त जीवनशैलीले इ–कमर्श बढ्दै गएको बताउँदै जोशी भन्छन्- ‘प्रविधिले पैसा पठाउने प्रक्रियालाई सहज, विश्वासिलो र सस्तो बनाइदिएको मात्र होइन बीचमा रहने बिचौलियाको तहसमेत अन्त्य भएको छ ।’

कम्पनीमार्फत मासिक रुपमा झन्डै तीन/चार हजार मानिसले स्वदेश पैसा पठाउने गरेको जानकारी दिँदै उनले सरकारका नीति परिवर्तनसँगै यस काममा चुनौती थपिने गरेको बताए ।

‘हामीले ग्राहकलाई सिधै पैसा उपलब्ध गराउँदैनौँ तर कतिपयले पैसा खोज्छन्’ सहसंस्थापक जोशीले भने । नेपालमा नेपालीले बनाएको उक्त कम्पनीलाई आगामी दिनमा विश्वभर फैलाउने योजना रहेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment