Comments Add Comment

प्रदेश ५ मा चुनौती बन्दै सवारी दुर्घटना : ८ महिनामा ३८४ को मृत्यु

Photo Credit : लमही नगरपालिका-९ मा ठोक्किएर दुर्घटनामा परेको जीप र यात्रु बस /अनलाइनखबर ।

६ चैत, बुटवल । असोज २० गते बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका-९ मुगुवाखोला नजिक पूर्वपश्चिम राजमार्गमा दाङबाट नेपालगञ्ज जाँदै गरेको रा१ख १६६२ नंंम्बरको हाइस र विपरीत दिशाबाट आएको लु१ख ७७२९ नं.को ट्रक एक आपसमा ठोक्किदा ६ जनाको मृत्यु भयो । ४ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भयो ।

मंसिर २७ गते दाङको लमही नगरपालिका ९ रिहारमा पूर्वपश्चिम राजमार्गमै पूर्वतर्फ आउँदै गरेको ना५ख ४०९० नंं.को बसमा विपरीत दिशाबाट आउँदै गरेको बा१२च ३१२२ नंं. को स्कार्पियो जीप बसमा ठोक्कियो । स्कार्पियोमा सवार ४ जना पुरुष र २ जना महिलाको मृत्यु भयो ।

पुस ६ गते दाङ तुल्सीपुर उपमहानरगपालिका ३ राम्रीस्थित तुल्सीपुर-सल्यान सडक खण्डमा बा४ख ९७६६ नं.को बस सडकबाट अन्दाजी सात सय मिटर तल खस्यो । दुर्घटनामा चालकसहित १८ जना पुरुष र ४ जना महिला गरी २२ जनाको मृत्यु भयो । उपचारका क्रममा नाम ठेगाना नखुलेकी एक महिलाको समेत मृत्यु भयो । दुर्घटनामा १५ जना घाइते भए । उक्त दुर्घटनामा पर्नेहरु कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराहीमा फरेष्ट्री पढ्ने विद्यार्थी थिए ।

माथिका तीन वटा घटना प्रदेश ५ मा चार महिनाभित्र भएका ठूला दुर्घटनाभित्र पर्छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले चालु आर्थिक वर्षको फागुनसम्म निकालेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा ६९७ वटा सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा ९७१ वटा सवारीसाधन परेका छन् । ती दुर्घटनामा परेर ३८४ जनाको मृत्यु भएको छ । जसमा पुरुष २८१ जना, महिला ६६ जना बालक २२ जना र बालिका १५ जना छन् । ती दुर्घटनामा परेर ६४२ जना गम्भीर घाइते भएका छन्, ४८३ जना सामान्य घाइते । यसबीचमा पशु चौपाय तीन वटाको मृत्यु र एकजना घाइते भएका छन् ।

दुर्घटनामा सबैभन्दा बढी ४४४ वटा मोटरसाइक र त्यसपछि क्रमशः जीपकार १२४ वटा, बस ९८ वटा, ट्रक टेंकर ७६ वटा, ट्याक्टर ७५ वटा, टेम्पो ४१ वटा, टिप्पर ३० वटा, माइक्रो बस १० वटा लगायत अन्य दुर्घटना भएका छन् ।

जिल्लागतरुपमा सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा भएका छन् । ८ महिनामा रुपन्देहीमा २३९ वटा दुर्घटना भएका छन् ।

रुपन्देहीपछि धेरै दुर्घटना दाङमा १८२ वटा भएका छन् । यस्तै कपिलवस्तुमा १६३ ,नवलपरासी पश्चिममा ११०, बांकेमा ८२ पाल्पामा ५६, बर्दियामा ५५, प्युठानमा २७, रोल्पामा २४, पाल्पामा १३ र सबैभन्दा कम रुकुम पुर्वमा ३ वटा दुर्घटना भएका छन् ।

यो पनि पढ्नुस्–दाङ दुर्घटनाबाट बाँच्ने ‘भाग्यमानी’ यात्रुको कथा

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बढ्दो सडक दुर्घटना सरकारलाई एउटा चुनौतीका रुपमा खडा भएको बताउँछन् । ‘एउटै प्रदेशमा वर्षमा सरदर पाँच सय जनाको सडक दुर्घटनाबाट ज्यानु सामान्य विषय होइन,’ प्रहरी प्रमुख चन्द भन्छन्, ‘दुर्घटनाको बढ्दो दरलाई हेर्दा मानवीय क्षतिका दृष्टिले यो विषय विगतको माओवादीको सशस्त्र युद्धको क्षति भन्दा पनि बढी हुन्छ ।’

राज्यले सडक दुर्घटनाबाट हुने क्षतिलाई गम्भीर रुपमा लिएर न्यूनिकरणका लागि विशेष योजना बनाई बजेट विनियोजन गर्नुपर्ने प्रहरी उपरीक्षक चन्दको सुझाव छ ।
चालकको लापरवाही, ओभरलोड, ट्राफिक नियमको पालनामा हेलचेक्र्याइर्ं, सडकको दूरावस्था र पुराना थोत्रा सवारीसाधनको प्रयोग दुर्घटनाका मुख्य कारणहरु रहेको एसपी चन्द बताउँछन् ।

सडक प्रयोगकर्ता पैदल यात्रीको अज्ञानता र लापरवाही, छाडा पशु चौपाया पनि दुर्घटनाका कारण हुन् । यी मध्ये चालकको लापरवाही मुख्य कारण हो । बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्न प्रहरीले सवारी साधनको तीव्र गति नियन्त्रण गर्न राडार गनको प्रयोग गरी अनुगमनको थालनी गरेको छ ।

यस्तै लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ । मुख्य राजमार्गका विभिन्न स्थानमा चालकलाई आराम गराउन र प्रशिक्षण दिन रिफ्रेस सेन्टरहरु पनि संचालनमा ल्याइएको प्रहरी उपरीक्षक चन्दले बताए ।

दुर्घटनापछि छिटो उद्दार गर्नको साथै अन्य कुनै घटनाको सुचना सहज रुपमा प्रहरीले प्राप्त गर्न प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले पैसा नलाग्ने टोल फ्री टेलिफोन सेवा पनि सुरु गरेको छ ।

१०३ नम्बरमा डायल गरेपछि सर्वसाधारणले दुर्घटना वा अन्य आपराधिक घटनाबारे प्रदेशवासीले जानकारी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment