News Summary
Generated by OK AI. Editorially reviewed.- प्याथोलोजिकल लाइङ वा कम्पल्सिभ लाइङ भनेको बारम्बार र अनियन्त्रित रूपमा झुट बोल्ने मानसिक स्वास्थ्य समस्या हो।
- नार्सिसिस्टिक, बोर्डरलाइन, एन्टिसोसियल र हिस्टेरियोनिक पर्सनालिटी डिसअर्डरमा झुट बोल्ने प्रवृत्ति देखिन्छ।
- कगनेटिभ विहेभियर थेरापी, औषधि र परिवार थेरापीले झुट बोल्ने बानी सुधार्न मद्दत गर्छ।
झुट बोल्नु मानव स्वभावको एक हिस्सा हो । कहिलेकाहीँ हामी सामाजिक सद्भाव कायम राख्न, भावनाहरू जोगाउन वा अप्ठ्यारो परिस्थितिबाट बच्न सानातिना झुट बोल्छौँ । तर, अनावश्यक रूपमा जब झुट बोल्ने बानी पर्छ । वा, यो बानी अनियन्त्रित हुन्छ, यो केवल बानी नभई गम्भीर मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।
बारम्बार र अनियन्त्रित रूपमा झुट बोल्ने बानीलाई मनोविज्ञानमा ‘प्याथोलोजिकल लाइङ’ वा ‘कम्पल्सिभ लाइङ’ भन्ने गरिन्छ । यद्यपि, मानसिक रोगमा यसलाई कुनै छुट्टै रोगको रूपमा सूचीकृत गरिएको छैन, तर यो विभिन्न व्यक्तित्व विकारहरूको लक्षणको रूपमा देखिन सक्छ ।
प्याथोलोजिकल लाइङ के हो ?
यो एक यस्तो अवस्था हो जसमा प्राय: बिना कुनै स्पष्ट उद्देश्य वा फाइदाव्यक्ति बारम्बार र अनावश्यक रूपमा झुट बोल्छ । यस्ता व्यक्तिहरूले झुटलाई आफ्नो व्यक्तित्वको हिस्सा बनाउँछन् र कहिलेकाहीँ आफ्नै झुटलाई सत्य ठान्न थाल्छन् ।
यो व्यवहार प्राय: जटिल र काल्पनिक हुन्छ, जसलाई ‘पिसेउडोल्जिया फान्टास्टिका’ पनि भनिन्छ । अर्थात्, कसैले आफूलाई कुनै ठूलो व्यक्तित्वसँग भेटेको वा असाधारण उपलब्धि हासिल गरेको दाबी गर्न सक्छ, जुन पूर्णरूपमा झुटो हुन्छ ।
कम्पल्सिभ लाइङ
यो झुट बोल्ने बानी हो, जहाँ व्यक्ति झुट बोल्नबाट आफूलाई रोक्न सक्दैन । यो प्राय: तत्कालीन तनाव, असहजता वा सामाजिक दबाबबाट बच्नका लागि हुन्छ । कम्पल्सिभ लाइङ सामान्यतया प्याथोलोजिकल लाइङभन्दा कम जटिल हुन्छ, तर यसले पनि व्यक्तिको जीवनमा गम्भीर असर पार्छ ।
यी दुवै अवस्थाहरूले व्यक्तिको सामाजिक, पारिवारिक र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पार्छन् । विश्वासको कमी, सम्बन्धमा तनाव र सामाजिक बहिष्कार यस्ता समस्याका प्रमुख परिणाम हुन् ।
मानिसले किन झुट बोल्छ त ?
मानिसहरूले विभिन्न कारणले झुट बोल्छन् । यी कारणहरू सामान्यदेखि जटिल मनोवैज्ञानिक समस्यासम्म हुन सक्छन् ।
१. आत्मसम्मान र आत्मविश्वासको कमी
आत्मविश्वास कमजोर भएका व्यक्तिहरूले आफूलाई अरूको अगाडि राम्रो देखाउन वा आफ्नो कमजोरी लुकाउन झुट बोल्छन् । उदाहरणका लागि, कसैले आफ्नो उपलब्धिहरूलाई बढाइचढाइ गर्न सक्छ ।
ताकि, अरूले उसलाई सम्मान गरोस् । यो आत्मसम्मानको कमी वा असुरक्षाको भावनासँग सम्बन्धित हुनसक्छ ।
२. सामाजिक स्वीकार्यता
समूहमा फिट हुन वा सामाजिकरूपमा स्वीकार्य हुन व्यक्तिहरूले आफ्नो रुचि, अनुभव वा पृष्ठभूमिलाई झुटो बनाउन सक्छन् ।
उदाहरण : कुनै व्यक्तिले आफूलाई कुनै विशेष समूहमा घुलमिल हुन झुटोको कथा बनाउन सक्छ ।
३. तनाव वा दबाबबाट बच्ने प्रयास
अप्ठ्यारो परिस्थितिबाट जोगिन वा सजायबाट बच्न झुट बोलिन्छ । जस्तै, विद्यार्थीले गृहकार्य नगरेको कुरा लुकाउन झुट बोल्नु ।
मनोवैज्ञानिक रोगका कारण
केही मानसिक स्वास्थ्य समस्याहरूले व्यक्तिलाई बारम्बार झुट बोल्न प्रेरित गर्न सक्छ ।
जस्तो कि, नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर : एक मानसिक अवस्था हो, जसमा व्यक्तिमा आफ्नो महत्व, श्रेष्ठता र विशेषताको अतिरञ्जित भावना हुन्छ । यस्ता व्यक्तिहरूले आफूलाई अरूभन्दा माथि र विशेष ठान्छन्, र अरूबाट प्रशंसा वा ध्यानको अपेक्षा गर्छन् । यो समस्या भएकाहरू आफूलाई महान् देखाउन झुट बोल्ने गर्छन् ।
बोर्डरलाइन पर्सनालिटी डिसअर्डर : बोर्डरलाइन पर्सनालिटी डिसअर्डर एक जटिल मानसिक अवस्था हो, जसमा व्यक्तिमा भावनात्मक अस्थिरता, तीव्र र अस्थिर सम्बन्ध, र आत्म–छविको कमजोर धारणा हुन्छ । उनीहरू भावनात्मक अस्थिरताबाट उम्किन झुट बोल्छन् ।
यस्ता व्यक्तिहरूले प्राय : परित्यागको डर र असुरक्षाको भावना अनुभव गर्छन् ।
एन्टिसोसियल पर्सनालिटी डिसअर्डर : एक यस्तो अवस्था हो, जसमा व्यक्तिमा सामाजिक नियम, नैतिकता, र अरूको भावनाप्रति उदासीनता हुन्छ ।
यस्ता व्यक्तिहरू प्राय: आफ्नो फाइदाका लागि अरूलाई हानि पुर्याउनका लागि झुट बोल्न सक्छन् र पछुतो पनि महसुस गर्दैनन् ।
हिस्टेरियोनिक पर्सनालिटी डिसअर्डर : यो एक यस्तो अवस्था हो, जसमा व्यक्तिमा अत्यधिक ध्यानाकर्षणको चाहना र नाटकीय व्यवहार हुन्छ । यस्ता व्यक्तिहरूले आफूलाई सधैं केन्द्रविन्दुमा राख्न खोज्छन् र भावनात्मकरूपमा अतिशयोक्तिपूर्ण व्यवहार गर्छन् । र, अरूको ध्यानाकर्षण गर्न झुट बोल्छन् ।
सांस्कृतिक प्रभावका कारण बोलिने झुट
केही संस्कृतिमा सानातिना झुटलाई सामान्य मानिन्छ । उदाहरणका लागि कसैको भावना जोगाउन ‘तिमी राम्रो देखिएको छौं’ भन्नु । कतिपय व्यक्तिमा झुट बोल्नु स्वचालित प्रतिक्रिया बन्छ । यो प्राय: बाल्यकालमै विकसित हुन्छ र लतजस्तै भएर बस्छ ।
लत वा बानी
कतिपय व्यक्तिहरूमा झुट बोल्ने बानी यति गहिरो हुन्छ कि, यो उनीहरूको स्वभावको हिस्सा बन्छ । यो लतजस्तै हुन्छ, जहाँ व्यक्ति बिनाकारण पनि झुट बोल्न थाल्छ । यस्तो अवस्थामा, झुट बोल्नु उनीहरूका लागि एक स्वचालित प्रतिक्रिया बन्छ ।
बारम्बार झुट बोल्नुको प्रभाव
बारम्बार झुट बोल्ने बानीले व्यक्तिको जीवनमा गम्भीर प्रभाव पार्न सक्छ ।
१.विश्वासको कमी
बारम्बार झुट बोल्ने व्यक्तिमाथि परिवार, साथीभाइ, र सहकर्मीहरूले विश्वास गर्न छोड्छन् ।
२.सामाजिक बहिष्कार
झुटका कारण व्यक्तिको सामाजिक सम्बन्ध कमजोर हुन सक्छ ।
३.मानसिक तनाव
झुट लुकाउन र त्यसलाई कायम राख्न व्यक्तिलाई मानसिक दबाबको सामना गर्नुपर्छ ।
४.कानुनी र नैतिक समस्या
यदि झुटले ठूलो हानि पुर्याउँछ भने, यसले कानुनी वा नैतिक समस्याहरू निम्त्याउन सक्छ ।
झुट बोल्ने बानी समस्या बनेको कसरी पहिचान गर्ने ?
-झुटहरू अनावश्यक र बारम्बार हुनु ।
– झुटले व्यक्तिको जीवनमा जोखिम वा दु :ख निम्त्याउनु ।
– व्यक्तिले आफ्नो झुटलाई नियन्त्रण गर्न नसक्नु ।
-झुटहरू जटिल र काल्पनिक हुनु ।
यदि यी लक्षणहरू देखिन्छन् भने, यो मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ । यस्तो अवस्थामा मनोपरामर्श लिनु आवश्यक हुन्छ ।
उपचार
बारम्बार झुट बोल्ने समस्याको उपचार कारणमा निर्भर हुन्छ ।
थेरापी : कगनेटिभ विहेभियर थेरापीले झुट बोल्ने बानी परिवर्तन गर्न र सत्य बोल्ने अभ्यास गराउन मद्दत गर्छ । यसले सोच्ने तरिकालाई सुधार्छ ।
औषधि : यदि यो डिप्रेसन, चिन्ता वा अन्य विकारसँग जोडिएको छ भने, एन्टिडिप्रेसन्ट वा अन्य औषधिहरू प्रयोग गर्न सकिन्छ ।
परामर्श समूह : लत वा बानीसँग जोडिएका समूहहरूमा भाग लिनुले सहायता प्रदान गर्छ ।
परिवार थेरापी : सम्बन्धहरू सुधार्न र विश्वास पुनर्स्थापना गर्न उपयोगी हुन्छ ।
आत्म–जागरूकता : व्यक्तिलाई आफ्नो झुटको प्रभावबारे सचेत गराउनु र सत्य बोल्ने प्रेरणा दिनु ।
उपचारको सफलता व्यक्तिको इच्छाशक्ति, कारणको गम्भीरता र समयमै हस्तक्षेपमा निर्भर हुन्छ । प्रारम्भिक उपचारले राम्रो परिणाम दिनसक्छ ।
प्रतिक्रिया 4