Comments Add Comment

दाङ बस दुर्घटनाः मृतकको संख्या २२ पुग्यो

७ पुस, घोराही । दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । घाइते १५ जनामध्ये ११ को अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् ।

मृतक र घाइते सबै घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन् ।

घाइते सबैलाई अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । धेरैजसोको टाउको र मेरुदण्डमा चोट लागेको छ । ‘११ जनाको अवस्था गम्भीर छ र चार जनाको अवस्था केही सुधार आएको रिपोर्ट आएको छ,’ एसपी पाण्डेले अनलाइनखबरसँग भने ।

शवहरु अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । शव पोष्टमार्टम गर्दै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

बा ४ ख ९७६६ नम्बरको बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरी ३७ जना थिए । उनीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए ।

भ्रमणबाट फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो । ओरालो घुम्ती बाटो किनारका रेलिङ र रुखसमेत भाँचेर करिब सात सय मिटर तल बस खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment