Comments Add Comment

दाङ बस दुर्घटना: मृतकको संख्या २३ पुग्यो, १३ जनाको सनाखत

७ पुस, घोराही । दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २३ पुगेको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ ।

१९ जना पुरुष र चार जना महिला गरी २३ जनाको मृत्यु भएको र तिमध्ये १३ जनाको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सनाखत हुन बाँकी शव अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

सनाखत दाङको दंगिशरण गाउँपालिका-१ बस्ने २० वर्षीय संजित रतगैया, दाङको घोराही उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय प्रदीप घिमिरे, दाङकै बबई गाउँपालिका-५ बस्ने २१ वर्षीया कबिता खत्री, दाङको घोराही उपमहानगरपालिका-१४ बस्ने १९ वर्षीय बिजय घर्ती, दाङको घोराही उपमहानगरपालिका-३ बस्ने बस चालक २६ वर्षीय मदन खत्री क्षेत्री छन् ।

रुकुमको भुमे गाउँपालिका-६ बस्ने २८ वर्षीय नरेश वली, जाजरकोटको भेरीगंगा नगरपालिका-४ बस्ने १७ वर्षीय आतिस नेपाली र कन्चनपुरको कृष्णपुर नगरपालिका-५ बस्ने १७ वर्षीय खेमराज भट्टको पनि मृत्यु भएको छ ।

यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका-६ बस्ने १६ वर्षीया कुसुम रावल, जुम्लाको चन्दननाथ नगरपालिका-३ बस्ने १७ वर्षीय हिक्मत बोहरा, जुम्लाको चन्दननाथ नगरपालिका-१ बस्ने १७ वर्षीय अर्जुन शाही, जुम्लाको हिमा गाउँपालिका-५ बस्ने वर्ष १७ की शैलजा शाही र जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ बस्ने २० वर्षीय विरेन्द्र कन्डरा छन् । विरेन्द्रको बाँकेको कोहलपुर नर्सिङहोममा उपचारको क्रममा शनिबार बिहान ८ बजेतिर मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु सवार बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार साँझ तुलसीपुर उपमहानगरपालिका-३ राम्री भन्ने स्थानमा दुर्घटना भएको थियो । उनीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएर फर्किँदै थिए ।

घाइते १४ जनाको बाँकेको नेपालगञ्जमा उपचार जारी छ । उनीहरुको अधिकांशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

यही वर्षदेखि सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको यो शिक्षालय घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँमा सञ्चालनमा थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment