
७ असोज, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना पत्रकार घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गर्न जाँदै गर्दा मंगलबार साँझ ६ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पत्रकार महासंघ चितवनका सदस्य सुदन पौडेल घाइते भएका हुन् ।
घाइतेमध्ये पत्रकार ढकालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार पत्रकार ढकालको टाउकोमा चोट लागेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रेस युनियन चितवनका अध्यक्ष समेत रहेका पत्रकार ढकालको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) मा उपचार भइरहेको पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले जानकारी दिए ।
उनका अनुसार ढकालसँगै मोटरसाइकलमा सवार रहेका पौडेलको अवस्था भने सामान्य छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि उनीहरू भरतपुरबाट रिपोर्टिङका लागि त्यहाँ जाँदै थिए ।
‘पहिरोको समाचार संकलनका लागि जाँदै गर्दा भतेरी भन्ने स्थानमा माइक्रोलाई साइड दिन खोज्दा ट्रकसँग ठोक्किएको भन्ने सूचना छ,’ महासंघ चितवनका अध्यक्ष पराजुलीले भने ।
प्रतिक्रिया 4