+
+
Shares

ल्वाङ गाउँमा ‘सिनेमा संवाद’ : बजार, कथावस्तु र शैलीमाथि मन्थन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र पत्रकार संघ कास्कीले ल्वाङ गाउँमा नेपाली फिल्मका विविध आयाम, चुनौती र सम्भावनाबारे 'सिनेमा संवाद' कार्यक्रम सम्पन्न गरेको छ।
  • गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले चलचित्रकर्मीले मिथ्या सूचना चिर्न जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो।
  • कार्यक्रममा फिल्मकर्मी, पत्रकार र स्थानीयले नेपाली सिनेमाको विकासका लागि नयाँ बहस सुरु भएको उल्लेख गरेका छन्।

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले प्रसिद्ध पर्यटकीय थलो ल्वाङ गाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपाली फिल्मका विविध आयाम, चुनौती र सम्भावनाबारे फिल्मकर्मी, पत्रकार र स्थानीयबासीले छलफल गरेका थिए ।

यो चौंथो संस्करणको कार्यक्रमको दोस्रो दिन गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले सिनेमा समाजको ऐना मात्र नभई विचारको संवाहक र आर्थिक समृद्धिको इन्जिन भएको बताइन् ।

आजको डिजिटल युगमा फैलिएका भ्रमपूर्ण र मिथ्या सूचना चिर्न चलचित्रकर्मीले जिम्मेवार भूमिका खेल्नुपर्ने र कलाकार केवल विज्ञापनका पात्र नभई समाजका रोल मोडल बन्नुपर्नेमा उनले जोड दिइन् ।

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी र वडा ८ का वडाध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्धनमा मद्दत पुग्ने बताए । पहिलो दिनको साँझ स्थानीय ल्वाङ होमस्टेमा ‘सिनेमा साँझ’ कार्यक्रम गरिएको थियो, जहाँ कलाकार र स्थानीयबीच सांगीतिक र भावनात्मक साटासाट भएको थियो ।

उद्घाटन सत्रपछि फिल्मको प्राविधिक, व्यवसायिक र सिर्जनात्मक पक्षमा केन्द्रित रहेर ४ अलग सत्रमा संवाद गरियो । पहिलो सत्रमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा पटकथा लेखक सामीप्यराज तिमिल्सिनाले नेपाली सिनेमा बर्लिन र कान्सजस्ता प्रतिष्ठित महोत्सवमा पुगिसकेकाले अब बजार विस्तारमा ध्यान दिनुपर्ने बताए ।

‘उनको स्वीटर’ले विदेशबाट ६ करोड र ‘जेरी अन टप’ ले साढे ३ करोड रुपैयाँ ग्रसको व्यापार गरेको तथ्यांक प्रस्तुत गर्दै नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको दाबी गरे । अभिनेत्री बेनिशा हमालले बलियो कथा भए बजेटले सिर्जनालाई नरोक्ने अनुभव सुनाइन् ।

दोस्रो सत्रमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ बारे छलफल भयो । अभिनेत्री आँचल शर्माले अघिल्लो पुस्ताको कडा मेहनत र अनुशासनलाई पछ्याउँदै नयाँ पुस्ताले सिर्जनात्मक र फरक विषयवस्तु पस्कनुपर्ने बताइन् ।

हमालले परम्परागत कथावाचनको शैली तोड्न नयाँ पुस्ता तयार रहेको उल्लेख गरिन् । अभिनेता सलोन बस्नेतले फिल्म निर्माणको प्रणालीमा रहेका कमजोरी सुधार्नुपर्ने बताए भने अभिनेत्री सनिशा भट्टराईले महिला सशक्तीकरणका विषयमा थप फिल्म बन्नुपर्नेमा जोड दिइन् ।

तेस्रो सत्र ‘सिनेमामा द्वन्द्व’ विषयमा केन्द्रित रह्यो । अभिनेता निखिल उप्रेतीले ‘द्वन्द्व’ लाई दार्शनिक ढंगले परिभाषित गर्दै यो केवल कुटाकुट नभई परिस्थितिको स्पष्टता भएको बताए । उनले विश्व बजारमा द्वन्द्वप्रधान फिल्मको वर्चस्व रहेको चर्चा गर्दै नेपाली फिल्मले स्वदेशमै विदेशी फिल्मको प्रभाव कम गर्नुपर्नेमा जोड दिए ।

निर्देशक तथा पटकथा लेखक मनोज पण्डितले भने ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाइरहेको यथार्थ सुनाउँदै दर्शकलाई अनुभूति गराउने गरी गुणस्तरीय सिनेमा बनाउनुपर्ने तर्क गरे । पण्डिले विदेशी फिल्मले नेपालबाट वार्षिक २५ देखि ३० करोड रुपैयाँ लैजाने गरेको तथ्यांक पेश गरे ।

अन्तिम सत्रमा ‘कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा’ विषयमा संवाद भयो । कन्टेन्ट क्रिएटर इस्टु कार्की र महेश भण्डारीले सामाजिक सञ्जाल र सिनेमा एकअर्काका परिपूरक भएको बताए ।

कार्कीले आफू पैसाका लागि भन्दा पनि समाजमा प्रभाव पार्ने पात्र निभाउन रुचाउने बताइन् भने भण्डारीले कलाकारितामा प्यासनसँगै पैसाको हिसाब–किताब पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने औंल्याए ।

संघका अध्यक्ष सन्तोष बस्यालले यस कार्यक्रमले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास लिएका छन् । संवादमा भएका छलफलका विषय बस्तु नेपाली चलचित्रको दायरा फराकिलो बनाउने उनको भनाइ थियो ।

घान्द्रुक, सिक्लेस र घलेगाउँपछि ल्वाङमा सम्पन्न यो चौथो शृखंलाले नेपाली सिनेमाको विकासका लागि नयाँ बहसको सुरुवात गरेको संस्थापक अध्यक्ष श्रीराम सिग्देल र पूर्व अध्यक्ष अरुण गिरीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल लगायतले ‘सिनेमा संवाद’ पछिल्लो समय एउटा स्थापित ब्राण्ड बनेको चर्चा गरे । पर्दामा देखिने कलाकारलाई आफ्नै गाउँमा पाउँदा ल्वाङका स्थानीय बासिन्दा हर्षित देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?