Comments Add Comment

‘मैले २० वर्षमा गर्न नसकेको काम म्यागीले २० दिनमा गरिदियो’

venkateshकरिब एक वर्षअघि म्यागी चाउचाउको आतंक जस्तै थियो । चाउचाउमा अखाद्य पदार्थ भेटिएपछि त्यसबेला भारतका विभिन्न राज्यका साथै नेपालमा समेत म्यागीको बिक्री-वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

म्यागीमा लिड (शिशा) को मात्रा मापदण्डभन्दा बढी भेटिएको चर्चा त्यसबेला व्यापक भयो । तर, लिड भनेको के हो र यसले मानव स्वास्थ्यमा के-कस्तो असर गर्छ भन्नेबारे गहिराइमा खोतल्ने काम भएन । जे भए पनि लिडको विषय त्यो घटनाले सतहमा ल्याइदियो ।

मैले भारतमा २० वर्षदेखि लिड विरुद्धको अभियान चलाउँदै आएको छु । मैले यत्तिका वर्षसम्म फैलाउन नसकेको लिडसम्बन्धी जनचेतना नेस्लेको म्यागी प्रकरणले २० दिनमा गरेर देखाइदियो ।

म्यागीमा हानिकारक रसायन लिड भएकोले सबैजना त्यसप्रति सजग भए । म्यागी खानु हुन्न भन्ने आवाज बढ्दै गयो । राम्रोसँग बोल्न नसक्ने मेरो पाँचवर्षे नातिले समेत म म्यागी खान्नँ, किनभने त्यसमा ‘लिड’ छ भन्यो ।

लिड एक किसिमको घातक रसायन हो । यो हाम्रो शरीरको लागि आवश्यक हुँदैन । शरीरमा छिरेमा यसले मानव स्वास्थ्यलाई हानि मात्र गर्छ

अभियानका क्रममा हामीले लिडबारे बुझाउन धेरै उदाहरण अघि सारेका थियौं । हामी भन्दै थियौं, आइन्सटाइन यतिबेला भारत वा नेपालमा जन्मेका भए उनले उतिबेला सोचे जस्तो अहिले सोच्न सक्दैनथे होला । किनभने यहाँ लिडले उनको बौद्धिक क्षमतामा ह्रास ल्याइसक्थ्यो ।

के हो लिड ?

लिड एक किसिमको घातक रसायन हो । यो हाम्रो शरीरको लागि आवश्यक हुँदैन । शरीरमा छिरेमा यसले मानव स्वास्थ्यलाई हानि मात्र गर्छ । यो रगतको माध्यमबाट शरीरको आन्द्रा, मृगौला लगायत शरीरको कुनै पनि भागमा सजिलै छिर्न सक्छ । रगतको माध्यमबाट यसले गर्भावस्थाको भ्रुणमा समेत असर पुर्‍याउँछ । यो कहिल्यै नाश हुँदैन ।

रगतको माध्यमबाट लिड हाम्रो शरीरमा प्रवेश गरेमा त्यसले सबै अंगमा असर पार्छ । यदि लिड मिर्गौलामा पुगेमा मिर्गौला फेल हुन्छ । दिमागमा पुगेमा बौद्धिक क्षमतामा ह्रास आउँछ । त्यस्तै, नशामा पुगेमा नशालाई कमजोर बनाउँछ । कानमा पुगे मानिसले सुन्ने शक्ति गुमाउँछ, मुटुमा पुगे मुटुलाई असर गर्छ । बालबालिका लिडको चपेटामा परेमा उनीहरु बढी रिसाहा बन्छन् । उनीहरुमा आपराधिक मनोवृत्ति बढ्छ ।

गत वर्ष हामीले भारतको जेलमा गरेको एक अनुसन्धानका क्रममा कैदीहरुमा लिडको मात्रा धेरै पाएका थियौं । घरमा पालिएका कुकुर समेत लिडका कारण बढी आक्रामक हुने गर्छन् । बढी गोला-बारुद प्रयोग गर्ने सैनिकहरु लिडको चपेटामा पर्ने भएकोले उनीहरु पनि बढी आक्रामक हुने गर्छन् । उनीहरुमा अरुप्रति भावना नै जागृत हुन छोड्छ ।

रङहरुमा पनि लिड पाइन्छ । म बालबालिकाको जन्मदिनको पार्टीमा जान्थेँ । उनीहरुलाई मानिसले पुतली, गाडी लगायतका खेलौना दिएको देख्थेँ । रङले पोतिएका ती खेलौनाहरु बच्चाले बारम्बार मुखमा हालिरहेको हुन्थ्यो ।

पार्टीमा आएका मान्छेहरुले बालबालिकाको दीर्घायुको कामना गरिरहेका हुन्थे, तर व्यवहारमा भने ठीक विपरीत लिड भएको विषाक्त खेलौना दिएर स्वास्थ्यमा हानि पुर्‍याइरहेको भान हुन्थ्यो ।

अर्कातिर, बुढापाकाहरु कपाल रङ्ग्याइरहेका हुन्थे । त्यतिबेला मेरो एउटा मात्र प्रश्न हुन्थ्यो, ‘Are You Dying or dieing ?

खानेकुरा चम्किलो देखाउन र आइसक्रिमलाई आकर्षक बनाउन लिड अक्साइडको प्रयोग गर्छन् । यस्तै, कुनै सामानमा कीरा पर्न नदिन समेत लिडको प्रयोग गरिँदै आएको छ

लिपिस्टिक, नेल पोलिस, आई स्याडो लगायत कस्मेटिक्स सामग्रीमा पनि लिड मिसाइएको हुन्छ । यस्तै, च्यवनप्रास जस्ता अयुवेर्दिक औषधिमा समेत लिडको प्रयोग गरिनु दुःखद हो । नेपालमा केही पेन्ट कम्पनीहरुले लिडको प्रयोग कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यो सराहनीय कुरा हो । यसबारे अझै जनचेतना फैलाउनु जरुरी छ ।

सामान्यतया लिड हाम्रो शरीरमा विभिन्न माध्यमबाट प्रवेश गर्छ :

•  श्वासप्रश्वास

•  खाना

•  पानी

•  कस्मेटिक्स सामग्री

व्यापारीहरुले लिडलाई जथाभावी प्रयोग गरेको पाइन्छ । उनीहरुले खानेकुरा चम्किलो देखाउन र आइसक्रिमलाई आकर्षक बनाउन लिड अक्साइडको प्रयोग गर्छन् । यस्तै, कुनै सामानमा कीरा पर्न नदिन समेत लिडको प्रयोग गरिँदै आएको छ । त्यसैले आजको समयमा लिड नभएका सामग्रीको उपयोग गर्न सम्भव देखिँदैन । तर, कसरी लिड कम भएका सामान प्रयोग गर्ने भन्नेतिर लाग्नु आजको आवश्यकता हो ।

समाधानका उपाय

प्रत्येक मानिसले आफ्नो जीवनकालमा आधा टनभन्दा बढी लिडको प्रयोग गरिरहेको हुन्छ । त्यसैले लिडरहित वातावरणको विकास गर्न सम्भव छैन । तर, समाजलाई यसबाट सुरक्षित गराउन भने अवश्य नै सकिन्छ ।

लिडबाट बच्ने एउटै प्रमुख उपाय भनेको जनचेतना नै हो । प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीलाई लिडबारे जानकारी दिनुपर्‍यो । लिड के हो र यसको असर के हुनसक्छ भन्ने विषयमा बृहत् छलफल पनि आवश्यक छ । जनचेतना जगाउन सके मात्र पनि ५० प्रतिशत समस्या समाधान हुन्छ ।

बच्चाहरु पेन्सिलको प्रयोग गर्छन् । त्यस्ता, पेन्सिलमा किन रङ लगाउनुपर्‍यो ? त्यस्ता पेन्सिलमा रङकै प्रयोग भएको छ भने बजारमा रङरहित काठका पेन्सिलहरु पनि किन्न पाइन्छ । हामीले रंगीन पेन्सिल किन्न छाड्नुपर्छ । लिडका कारण बच्चाको आईक्यू क्षमतामा ह्रास आउँछ ।

अहिले स्कूलबसहरुमा लगाइने पहेंलो रङको कुरा उठिरहेको छ । पहेंलो रङ चम्किलो हुने र टाढाबाट देखिने भएकोले त्यसको प्रयोगमा जोड दिइएको हो । तर, त्यो रङमा पाइने लिडबाट हाम्रा बालबालिकालाई जोगाउनु चुनौतीपूर्ण छ । हामीले यसो भनेर तर्साउनुभन्दा यसबारे जनचेतना जगाएर आफ्ना बालबालिकालाई लिडबाट सुरक्षित गर्न आवश्यक छ ।

त्यस्तै, बच्चा जन्माउने उमेरका महिलाहरुलाई पनि लिडबाट बचाउनु पनि आवश्यक छ । होइन भने उनीहरुको सन्तानले यसको मूल्य चुकाउनुपर्छ । किनभने लिड रगतको माध्यमबाट भ्रुणमा समेत सर्छ ।

(भारतका लिड म्यान भनेर चिनिने थुप्पिलसँग अनलाइनखबरकर्मी रिचा अर्यालले गरेको कुराकानीमा आधारित । थुप्पिल दुई दशकयता लिड विरुद्धको अभियानमा सक्रिय छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment