१४ कात्तिक, रुकुम । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राज्यलाई नै आतंकको भुमरीमा राखेर शक्ति हत्याउने खेल खेलेकाले महाअभियोग लगाउनु परेको बताएका छन् । महाअभियोग लगाएर हटाइसकेपछि आवश्यक सजाय दिलाउने तयारी पनि भइरहेको उनले जानकारी दिए ।
आइतबार नेकपा माओवादी केन्द्र रुकुमले तिहारको सन्दर्भमा सिम्लीमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले अधिकारक्षेत्र नाघेर राज्यको शक्ति नै हातमा लिने र खिलराज रेग्मी जस्तै प्रकृतिको प्रधानमन्त्री बन्ने षडयन्त्र शुरु गरेकाले कार्कीलाई महाअभियोग लगाउनुपरेको बताए ।
आफूहरुको अग्रसरतामा संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवासमेत गरे । कार्की विरुद्धको महाअभियोग प्रस्तावप्रति कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेकाले कांग्रेसले पनि प्रस्ताव पारित गर्न साथ दिने उनको विश्वास थियो ।
उर्जामन्त्री शर्माले जलविद्युत नेपालको विकासको लागि अक्सिजन भएकोले यसको विकास विना देशको उन्नती नहुने तर्क गरे ।
प्रतिक्रिया 4