Comments Add Comment

हिलारी क्लिन्टनप्रति यति विघ्न घृणा किन ?

'ट्रम्प र क्लिन्टन दुबै खराब उम्मेद्वार'

hillary-clinton

१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावमा शायद यस्तो पहिलोपटक भएको छ कि दुबै प्रमुख उम्मेदवारलाई अमेरिकी जनताले त्यति धेरै मन पराएका छैनन् ।

आफ्नो विवादास्पद वयानलाई लिएर डोनाल्ड ट्रम्पप्रति सर्वसाधारणको बेखुसी त बुझ्न सकिन्छ । तर, शानदार राजनीतिक करियर भएकी हिलारी क्लिन्टनलाई पनि एउटा तप्काले यति धेरै घृणा गर्छ कि उनलाई गाली नै गर्न थालिएको छ ।

आखिर यसको कारण के हो ?

मैले आफ्नो करियरमा पहिलोपटक राष्ट्रपति चुनावमा यति फोहोरी शब्दहरु प्रयोग भएको देखेको छु । दुबै उम्मेदवारको भूमिकालाई लिएर प्रश्न उठेको छ- जेनिफर मर्सिका

अमेरिकाको जर्जिया सुबेकी एमिली लङवर्थलाई नै लिनुस् । उनको बाल्यकाल यस्तो घरमा बित्यो, जहाँ उनका पिता र दाइ दुबै कट्टरपन्थी विचार राख्थे । अहिले राजनीति एमिलीको रगतमा पनि उस्तै गरी बगेको छ । हिलारी क्लिन्टनको नाम सुन्नासाथ उनी आफनो आक्रोश थाम्न सक्दिैनन् ।

एमिली हिलारीलाई झुटो, अरुलाई प्रयोग गर्ने र सनकी स्वाभावकी महिला सबैथोक एकै सासमा भन्छिन् । उनी भन्छिन् कि हिलारीलाई त जन्मकैद हुनुपर्ने हो । उनी पाएसम्म फेसबुक र युट्युवमा पनि हिलारी क्लिन्टनलाई गाली गर्छिन्, जसलाई पढ्ने र हेर्ने हजारौं छन् ।

युट्युबमा एक भिडियोमा एमिली हिलारी र उनका समर्थकहरुलाई कट्टर नाजी भन्छिन् । हिलारीजस्ती महिलाको भाषणबाजी दिनदिनै सुन्नु परेकोमा उनलाई दुःख लागेको छ ।

हिलारीको भूमिकाप्रति एमिली मात्र होइन, धेरै अमेरिकीको गुनासो छ । त्यो पनि धेरै मामिलामा । यही कारण उनलाई रेटिङ गर्नेहरु मध्ये ५० प्रतिशतले उनलाई मन पराएका छैनन् ।

भलै, धेरै मानिसहरु हिलारीप्रति एलिमीले जस्तो शब्द प्रयोग गर्दैनन् । तर, हिलारीप्रति उनीहरुको गुनासो छ ।

hillary-clinton-and-donald-trump

त्यसैले त डोनाल्ड ट्रम्पको र्‍यालीमा हिलारी क्लिन्टनलाई जेल पठाउन माग गर्नेहरुको संख्या ठूलो छ । ट्रम्पका धेरै समर्थकहरु हिलारीलाई खुलेर गाली गर्छन् र उनलाई ‘चुडेल’ सम्म भन्न पछि पर्दैनन् । केहीले त उनलाई ‘शौतानकी नोकर्नी’ सम्म भन्ने गर्छन् । सामाजिक सञ्जालमा हिलारी क्लिन्टनविरुद्ध अभियान नै चलेको छ ।

उसो त डोनाल्ड ट्रम्पलाई पनि सन्की र हिटलर भनिन्छ ।

अमेरिकी राजनीतिलाई लामो समयदेखि नजिकबाट नियालिरहेकी जेनिफर मर्सिका भन्छिन्, मैले आफ्नो करियरमा पहिलोपटक राष्ट्रपति चुनावमा यति फोहोरी शब्दहरु प्रयोग भएको देखेको छु । दुबै उम्मेदवारको भूमिकालाई लिएर प्रश्न उठेको छ ।’

उनका अनुसार हिलारी क्लिन्टनलाई महिला भएकै कारण पनि निशाना बनाइएको छ । यसले ट्रम्पलाई फाइदा भएको छ ।

हिलारीलाई धेरै आक्रमण उनका पति बिल क्लिन्टनको अफेयर्सलाई लिएर भएको छ । हिलारीमाथि बिलसँग सम्वन्ध जोड्ने महिलाहरुलाई बदनाम गर्ने प्रयास गरेको आरोप छ ।

हालै मात्र बाहिर आएको डकुमेन्ट्री ‘हिलरिज अमेरिका’का लेखक दिनेश डिसूजाले त यतिसम्म भनेका छन् कि हिलारीले आफ्ना पतिलाई अर्की महिलासँग सुत्न हौसला दिएकी छन् ।

डोनाल्ड ट्रम्पले भने जानीबुझी विवाद सिर्जना गरेको भनिन्छ, ताकि ओबामा र क्लिन्टनभन्दा मानिसहरु आफूतिर झुकुन्, जस्तो कि ट्रम्पले एक र्‍यालीमा भने कि ओबामा मुसलनमान हुन् । अर्को र्‍यालीमा उनले हिलारी क्लिन्टनलाई शैतानको संज्ञा दिए ।

alex-jones
एलेक्स जोन्स

हिलारीप्रति घृणा गर्ने मानिसहरुमा एक हुन्, टेक्सासका रेडियो जक्की एलेक्स जोन्स । उनका अनुसार ९/११ को हमला र बोस्टन म्याराथनका क्रममा भएको बमबारी अमेरिकी सरकार स्वयंमको योजना थियो । आफ्नो रेडियो शो द एलेक्स जोन्स शोमा उनी खुलेर हिलारीलाई गाली गर्छन् । उनलाई शैतान, चुडेल जस्ता शब्द प्रयोग गर्छन् ।

डेमोक्रेटिक पार्टीको सम्मेलनका क्रममा एलेक्स जोन्सले हिलारीको निकै मजाक उडाए । उनले हिलारीको तुलना हुँडारसँग गरिदिए । यो भिडियोलाई अनलाइनमा पनि पोष्ट गरिएको थियो । यद्यपि उजुरीपछि अहिले त्यसलाई हटाइएको छ ।

हिलारीसँग मानिसहरुको प्रमुख गुनासो लिबियाको बेनगाजीमा अमेरिकी दूताबासमा भएको आतंककारी हमलालाई लिएर हुने गरेको छ । यसका साथै विदेशमन्त्री हुँदा सरकारी कामका लागि निजी इमेल प्रयोग गरेको आरोप पनि उनीमाथि लागेको छ ।

हिलारीविरुद्ध ट्रम्पको आरोप छ कि बिल क्लिन्टनको ‘क्लिन्टन फाउन्डेसन’का मानिसहरुसँग सम्वन्ध बनाएर उनले अनैतिक काम गरेकी छन् । खासगरी विदेशी नागरिकसँग ‘क्लिन्टन फाउण्डेसन’को सम्वन्धलाई लिएर धेरै प्रश्न उठाइने गरेको छ ।

सबैलाई जोडेर हेर्दा, योपटकको अमेरिकी राष्ट्रपतिको चुनावले त्यहाँको राजनीतिको स्तर निकै गिराएको छ ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment