Comments Add Comment

आजका पत्रपत्रिका : विप्लव खोज्दै सेना, कालीकोटमा सर्च अपरेशन

६ चैत, काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाले बेथिति र अनियमिततासँग सम्बन्धित विषयलाई प्रमुख समाचार बनाएका छन् । त्यस्तै, विप्लव समूहको बढ्दो गतिविधि र नियन्त्रणका प्रयासलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।

भीडीयो कलमार्फत दाङ जिल्ला अदालतले एक अभियुक्तसँग लिएको बयानको तस्वीर छापेको कान्तिपुरले सेनालाई ठूला आयोजना ठेक्का दिनुको मक्सदबारे केलाएको छ ।

नेपाली सेनाभित्र हुने अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले पूर्वाधार निर्माणका ठूला आयोजना सेनालाई दिने प्रवृत्ति बढ्दै गएको कान्तिपुरको ठहर छ ।

संविधानमा अख्तियारले संवैधानिक अंग तथा नेपाली सेनाभित्रको भ्रष्टाचार र अख्तियार दुरुपयोगका घटना छानबिन गर्न नपाउने प्रावधान छ ।

कान्तिपुर लेख्छ– पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारे सरकारी स्तरमा छलफल सुरु भएको समाचारमा उल्लेख छ । सेनाले भने आफूले पाएका सबैजसो काम ठेक्का लगाएर गराउँदै आएको छ ।

ग्रामीण दूरसञ्चार परियोजनाअन्तर्गतको एक योजनाको काम नै नहेरी भुक्तानी दिइएको अर्को खबर पनि कान्तिपुरमा छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दुर्गमममा इन्टरनेट सेवा पुर्याउन सञ्चालन गरेको ग्रामीण परियोजनामा कामै नहेरी भुक्तानी गरिएको हो । सात जिल्लामा इन्टरनेट जडान गरेका मर्कन्टायल र सुबिसुबाट भुक्तानी फिर्ता गर्नुपर्ने महालेखा परीक्षक कार्यालयले ठहर गरेको समाचारमा उल्लेख छ ।

घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई अख्तियारले नियन्त्रणमा लिएको खबर नागरिकले छापेको छ । पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको र दिनभर अख्तियार अनुसन्धान टोलीले बयान लिएको समाचारमा उल्लेख छ । नियन्त्रणमा लिइएका पाठकलाई बेलुका भने निवासमै लगेर छोडिएको छ ।

विप्लव नेतृत्वको नेकपाको बढ्दो गतिविधि सरकारका लागि टाउको दुखाइको विषय बनेको छ । यो समूहको गतिविधि नियन्त्रणका प्रतिबन्ध लगाएको सरकारले सेनालाई समेत प्रयोग गर्न थालेको छ ।

अन्नपूर्णका अनुसार विप्लव समूहका नेता–कार्यकर्ता खोज्न नेपाली सेना कालीकोटका गाउँ पसेका छन् । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको समाचारमा उल्लेख छ ।

रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि मिसिएका छन् ।

राजधानीले पूर्वराजा र भारतीय राजदूतबीच गोप्य वार्ता भएको दाबी गरेको छ । दुईबीचको छलफलमा पूर्वराजाको भारत भ्रमणबारे छलफल भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment