Comments Add Comment

कसले बनायो ‘अंगीकृत’लाई प्रमुख पदमा आसिन गराउने प्रस्ताव ?

प्रधानमन्त्री र मोर्चाले स्वामित्व लिएनन्

nagarikta810

२१ कात्तिक, काठमाडौं । अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव तयार भएको समाचार आएपछि आइतबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको फोन स्वीच्ड अफ भयो ।

मोर्चाका एक नेताले महतोलाई फोन गरे, तर, लागेन । त्यसपछि उनले संघीय समाजवादी फोरमका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठलाई फोन गरेर सोधे, अंगीकृतलाई राष्ट्रपति बनाउने प्रस्ताव कसले तयार पार्‍यो ?

फोरम नेता श्रेष्ठले अंगीकृतलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउने माग आफ्नो पार्टीको नभएको र आफूले त्यस्तो कुरा मिडियालाई नदिएको बताए । श्रेष्ठले यो विषयमा फेसबुकमा समेत स्पष्टीकरण लेखेर त्यस्तो माग आफूहरुको नभएको स्पष्ट पारेका छन् ।

[sam_list]  फोरम सह-अध्यक्ष श्रेष्ठले भनेका छन्- यस सन्दर्भमा सरकारको तर्फबाट पठाएको भनिएको मस्यौदाबारे मलाई कुनै जानकारी नभएको र त्यस्तो मस्यौदामा कुनै सहमति पनि नगरिएको कुरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

साँझ अनलाइनखबरसँग सम्पर्कमा आएका सदभावना अध्यक्ष राजेन्द्र महतोले भने, यो प्रस्ताव न ल्याउनेलाई थाहा छ, न दिएको भनिएको हामीलाई थाहा छ ।’ संविधान संशोधन गर्न नदिने षड्यन्त्र अनुसार गलत प्रचार भएको उनको दाबी छ ।

उसोभए के तमलोपाका नेता महन्थ ठाकुरको प्रस्ताव हो त यो ? मधेसी मोर्चामा दिनभरि खैलाबैला मच्चियो । महन्थको फोन स्वीच्ड अफ थियो । मोर्चाका नेताहरुले हृदयेश त्रिपाठीसँग सम्पर्क गरे । उनले पनि अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव आफ्नो पार्टीको नभएको बताउँदै कसले यस्तो प्रचार गर्‍यो भन्ने थाहा नभएको नेताहरुलाई जवाफ दिए ।

रामसपाले पनि अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव मधेसी मोर्चाको नभएको स्पष्ट पार्‍यो । पार्टीका महासचिव केशव झाले मोर्चाका नेताहरुसँग सम्पर्क गरेर आफ्नो दल त्यस्तो प्रस्तावको पक्षमा नरहेको बताए ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव दिनभरि आक्रोशित देखिए । आफूहरु मधेसको भूमिपुत्र रहेको भन्दै अंगीकृत नागरिकलाई संवैधानिक पदमा निर्वाचित गर्न नसकिने यादवले बताउँदै आएका छन् । उनले यो माग मोर्चाको माग हुनै नसक्ने बताए ।

प्रधानमन्त्री पनि तीन छक्क !

अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन सकिने प्रस्तावको मधेसी मोर्चाले मात्र होइन, सत्तारुढ कुनै पनि दलले स्वामित्व लिन सकेको छैनन् ।

संशोधन प्रस्तावको चर्को विरोध भएपछि मधेसी मोर्चाका सबै घटकले यो माग आफूहरुको नभएको बताएका छन् । प्रधानमन्त्रीले पनि नभएको बताएका छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै प्रधानमनत्री प्रचण्डले यस्तो प्रस्ताव तयार नपारिएको बताए । उनले अंगीकृतलाई राष्ट्र प्रमुख, सरकार प्रमुख बनाउनै नसकिने स्पष्टीकरण दिए ।

आखिर कसैले पनि जिम्मा नलिने हो भने संविधान संशोधनको यो प्रस्ताव चाँहि तयार पार्‍यो कसले ? अहिले यो प्रश्न सर्वत्र फैलिएको छ ।
प्रस्तावबारे सूचना दिने स्रोतले चाँहि यस्तो प्रस्तावको ड्राफ्ट तयार पारिएको सत्य भएको बताएको छ, जुन बाहिर आएको मस्यौदाले पनि पुष्टि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment