Comments Add Comment

भोलिको टिकट छ ! ४० घण्टा लाइन बस्दा पनि श्रम इजाजत पाइएन

shram-1

२५ कात्तिक, काठमाडौं । ‘भोलि साउदीका लागि उड्ने टिकट गोजी छ । हिजो दिउँसो भर लाइन बस्दा पनि कागज बुझाउन सकिएन । आज बिहान बल्ल-बल्ल त बुझाइयो । तर, पासपोर्ट आएको छैन’

तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा बिहीबार राति ८ बजेतिर भेटिएका मोरङका सत्यनारायण भगतले दुःखेसो पोखे । उनी बैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने तयारीमा छन् ।

श्रम इजाजत लिनका लागि बुधबार बिहान ४ बजे नै लाइनमा लागेका थिए । तर, ४० घण्टा कटिसक्यो, अझै लाइनमा छन् । कठ्याङ्ग्रीदो चिसोमा लाइनमा बस्नु पर्दाको पीडा त छँदैछ, कतै भोलिको फ्लाइट छुट्छ कि भन्ने अर्को डर छ ।’

कम्पनीको टिकट दिने भए पनि एउटा कुरा । आफ्नो पैसा परेको टिकटमा पनि उड्न पाइएन भने तनाव मात्रै हुन्छ’ भगतले भने ।

shram-4

भगत मात्रै होइन, वैदेशिक रोजगार विभागको कार्यालयमा श्रम स्वीकृतिका लागि पर्खिरहेकाहरुको संख्या ठूलो छ । काठमाडौं मस्त निद्रामा डुब्न बेला भइसक्दा पनि थुप्रै युवा युवती कतिबेला मेरो नाम आउँछ भनेर पर्खिरहेका छन् ।

शुक्रबारको फ्लाइट छ । भात खान जाँदा पनि यहाँ नाम छुट्ला भन्ने डर । यहीँ चिया विस्कुट खाएर दिन बित्यो’ झापाका सुमन पुरीले भने । युइई जान लागेका उनले बुधबार नै इजाजतका लागि कागजपत्र पेश गरेका थिए तर, बिहीबार अबेर रातिसम्म पनि उनको हातमा श्रम इजाजत परेको छैन ।

shram-3

कार्यालयमा सानो आवाज आउने माइकबाट नाम बोलाउने गरिएको छ । युवा युवतीहरु झ्याल वरिपरि झुम्मिएका छन्, ताकि नाम आयो भने दौडिएर गएर श्रम स्वीकृतीसहितको आफ्नो पासपोर्ट लिन सकियोस् ।

यसैका कारण बुधबार नै कार्यालय परिसर दुखःद घटना भएको थियो । श्रम गर्न लाइनमा बसेका एक युवकको ढलेर दुखःद निधन भएको छ । गुल्मी घर भएका युवक चर्को घाममा लागेको लामो लाइनमै बेहोस भएर ढलेका थिए । उपचार गर्न लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको बुझिएको छ ।

किन भयो त समस्या ?

shram-2

वैदेशिक रोजगार विभागमा तिहार र छठको छुट्टीका कारण झण्डै ७ हजार श्रम इजाजतका फाइल थुपि्रएका थिए । यसबीचमा मंगलबारदेखि नै विभागको कार्यालयमा इन्टरनेटमा समस्या आयो ।

विभागले भने सर्भर नै डाउन भएको भनेको छ । जे होस् प्राविधिक कारण देखाउँदै विभागले दुईदिनदेखि श्रम इजाजत वितरण सुस्त बनाएको छ । यसैका कारण विदेश जान श्रम लिने युवाले ठूलो सास्ती खेपिरहेका छन् ।

यसैसमयमा विभागका प्रमुख कृष्ण दुवाडी पनि जापान भ्रमणमा थिए । उनी बुधबारदेखि कार्यालयमा हाजिर भएका थिए ।

विदेशिने युवाको समस्यालाई ध्यानमा राखेर विभागले आज राति १२ बजेसम्म श्रम इजाजत वितरणको काम गर्ने जनाएको छ । श्रमका लागि लागेको ठूलो भीडलाई व्यवस्थापन गर्न कुनै पहल नगर्दा पनि बीच समस्या भएको देखिएको छ ।
shram-5 shram-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment