
५ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।
अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।
अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सह-चालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुख विद्या सुन्दर शाक्यसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए ।
कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुने छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।
यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।
कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।
सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छ ।
ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।
पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।
प्रतिक्रिया 4