२६ वैशाख, काठमाडौं । भारतमा जारी आईपीएल क्रिकेटमा बिहीबार पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा बीचमै रोकियो ।
१०.१ ओभरमा १२२ रन जोड्दा पहिलो विकेट गुमाएको पञ्जाबका लागि त्यसपछि ब्याटिङ गर्न कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए तर त्यसैबेला एक फ्लडलाइट बन्द भएपछि खेल केहीबेर रोकियो ।
केहीबेरको मात्र ढिलाइ हुने धेरैको अनुमानका बीच अर्को दुईवटा फ्लडलाइट पनि बन्द भएपछि मैदानमा केवल एउटा मात्र फ्लडलाइट सुचारु थियो ।
त्यसैबेला खेलाडी र अम्पायरहरू मैदान छाडेर बाहिरिए र दर्शकलाई पनि तत्काल मैदानबाट बाहिर निकाल्न थालियो । केहीबेरमा रंगशाला पूर्णरूपमा खाली नै भयो ।
त्यसबेलासम्म पनि मैदानमा एउटा मात्र बत्ती बलिरहेको थियो । सुरुमा प्राविधिक कारणले त्यस क्षेत्रमा पावर आउटेज भएका कारण फ्लडलाइट बन्द भएको भनिएको थियो ।
ठीक त्यही समय पाकिस्तानले भारतको सीमा क्षेत्रमा पर्ने जम्मुमा आक्रमण गरेको खबर बाहिरिएसँगै हिमाञ्चल प्रदेशको धर्मशालामा पनि सुरक्षाको दृष्टिकोणले खेल तत्काल रोकेर मैदान खाली गरिएको रिपोर्टहरू बाहिरिन थाले ।
यस खेलमा बलियो अवस्थामा रहेको पञ्जाब किङ्सले राम्रो योगफल खडा गर्ने संकेत गरेको थियो । यस खेलमा जित निकाल्न सके पञ्जाबको प्लेअफमा स्थान पक्का हुन्थ्यो ।
११ वर्षपछि पहिलोपटक प्लेअफमा पाइला टेक्न लागेको पञ्जाबका लागि घरेलु मैदानमा समर्थकहरू पनि उत्साहित थिए तर असहज परिस्थितिका कारण खेल नै रोकिएपछि त्यो पुरा हुन सकेन ।
सामान्यतया: खेल रोकिएर पुन: सुचारु नभए रद्द मानिन्छ र रद्द भएमा दुवै टोलीले १-१ अंक प्राप्त गर्छन् । तर हिजोको खेल रद्द भएपछि भने आईपीएलको आधिकारिक वेबसाइटसहित अन्य साइटहरूमा पनि खेल र अंक दुवै गणना भएको छैन ।
खेल सुरक्षा कारणले रद्द गरेर निर्धारित समयभन्दा अगाडि नै अन्त्य गरिएको थियो, त्यसैले यसलाई शून्य र अमान्य खेल मानिने कुरा विभिन्न रिपोर्टमा उल्लेख छ ।
यद्यपी एक साताका लागि स्थगित गरिएको आईपीएल फेरि सुरु भएमा पञ्जाब र दिल्लीबीचको खेल पुनः खेलिने सम्भावना यसले देखाएको छ किनभने यस खेललाई अहिलेको अवस्थामा गणना नै गरिएको छैन ।
सोही अवस्थाबाट सुचारु गरिनेछ वा टस फेरि भएर सुरुबाट खेलिनेछ त्यसबारेमा आईपीएलको आगामी अपडेटमा जानकारी आउन सक्छ । तर यस खेलको बारेमा केही न केही निर्णय पक्कै लिइने बुझिएको छ ।
हाल यस खेल हुनुअघिको अवस्थामा पञ्जाब ११ खेलमा १५ अंकसहित तेस्रो स्थानमा छ भने दिल्ली समान खेलबाट १३ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4