
२६ वैशाख, काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् ।
शुक्रबार अपराह्न भएको प्रेस बिफिङमा बोल्दै उनले भारतले सुरुवाती हमलाको जवाफ मात्र फर्काएको बताए । ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन्’, उनले भने, ‘केवल पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारमाथि निशाना साँधिएको छ ।’
दुई साताअघि भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा एक नेपाली र २६ भारतीय नागरिकको ज्यान लिने गरी आतंकवादी हमला भएको थियो । त्यसको जिम्मेवारी ‘द रेसिसटेन्स फ्रन्ट’ नामक धार्मिक कट्टरपन्थी समूहले लिएको थियो ।
‘यो समूह पाकिस्तानमा रहेको चिरपरिचित आतंकवादी समूह लश्कर ए तोइबाको एक मोर्चा हो भन्ने प्रसंग मैले हिजो पनि कोट्याएको थिएँ’, उनले अगाडि भने, ‘हामी चाँडै नै अनुगमन टोलीसँग फेरि भेट्दैछौं र यसअघि हामीले उपलब्ध गराएको जानकारीमा नयाँ कुराहरु समेट्दै साझा गर्नेछौं ।’
पहलगाम घटनाको जवाफ भन्दै भारतले तीन दिनअघि पाकिस्तानका ९ स्थानमा हवाई कारबाही गरेको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो क्रममा छ ।
प्रेस ब्रिफिङमा मिस्रीले सीमापारबाट धेरै निराधार जानकारीहरु बाहिर ल्याएको भन्दै भनेका छन्, ‘मैले हिजोकै कुरालाई आंशिक रुपमा दोहोर्याएँ मलाई लाग्छ पाकिस्तानको छवि एउटा विश्वव्यापी आतंकवादको केन्द्रबिन्दु रहेको भन्ने कुराको कैयौं उदाहरण रहेका छन्, जसबारे ठोस प्रमाणहरु भारतमा मात्र नभइ विश्वभरका सरकार, अधिकारी र निकायसँग उपलब्ध छन् ।’
पाकिस्तानले दशकौंदेखि भारतमा सीमापार आतंकवादलाई उदण्डका साथ पछ्याउँदै आएको भन्दै उनले पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई जानाजान भ्रमित पार्न खोजेको समेत टिप्पणी गरेका छन् ।
प्रतिक्रिया 4