+
+
Shares

भारतले दोहोर्‍यायो लिपुलेकबारे आफ्नो अडान

नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे भारत विदेश मन्त्रालयले आफ्नो अडान दोहोर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको र १९५४ देखि यात्रा हुँदै आएको बताएको छ।
  • नेपालले भारत र चीनलाई लिपुलेक पास हुँदै यात्रा सञ्चालनमा विरोध जनाउँदै कूटनीतिक नोट पठाएको छ।
  • सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली पूर्वका भू-भाग नेपालको भएको उल्लेख छ।

२४ वैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे भारत विदेश मन्त्रालयले आफ्नो अडान दोहोर्‍याएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले कैलाश मानसरोवर यात्राको विषय नयाँ नभएको बताए ।

मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफ्रिङमा उनले भने, ‘हामी यो विषयमा प्रेस नोट जारी गरिसकेका छौं । मानसरोवर यात्रा १९५४ देखि नै हुँदै आएको हो । यो नौलो विषय होइन ।’

केही दिनअघि भारत र चीनले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लाएको विरोधमा नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले यो विषय नयाँ नभएको प्रतिक्रिया दिएको थियो । यद्यपि नेपालसँग संवादका लागि भने तयार रहेको प्रेस नोटमा उल्लेख थियो ।

सन् २०१५ मा भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक, तीर्थालु आउजाउ गर्ने सहमति गरेका थिए । त्यतिबेला नेपालले पठाएको कूटनीतिक नोटको भने दुवै देशले औपचारिक जवाफ दिएका थिएनन् । यसपटक पनि चीनले नेपालको यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सन् १८१६ मा नेपाल र ब्रिटिस भारतबीच भएको सुगौली सन्धिमा काली (महाकाली) पूर्वका भू-भाग नेपालको हुने उल्लेख छ । जसअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली सीमा नदी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?