+

दीपेन्द्रलाई आइडल मान्ने ६ वर्षीय क्रिकेटर

२०८३ वैशाख  २१ गते १९:१७ २०८३ वैशाख २१ गते १९:१७

सानैबाट इन्डियन प्रिमियर लिग(आईपीएल) हेर्दै आएका एरोन महेन्द्रसिंह धोनीका फ्यान हुन् । नेपालमा भने उनले दीपेन्द्रसिंह ऐरीलाई आइडल मान्छन् । सन्दीप लामिछाने, विनोद भण्डारीलाई भेटिसकेका एरोनको इच्छा दीपेन्द्रलाई भेट्नु छ ।

दीपेन्द्रलाई आइडल मान्ने ६ वर्षीय क्रिकेटर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ६ वर्षीय क्रिकेटर एरोन विक्रम मल्लले नवलपुरमा जारी यू–१४ एकेडेमी स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा रोयल क्रिकेट एकेडेमी 'बी' बाट खेल्दै ३ खेलमा ४ रन बनाए।
  • एरोनले ४ वर्षको उमेरदेखि रोयल क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका छन् र दैनिक १६ किलोमिटर टाढा एकेडेमीमा ३ घन्टा अभ्यास गर्छन्।
  • एरोनका बुबा विकलले उनलाई फुटबलर बनाउन चाहन्थे तर एरोनले क्रिकेट रोजे र बुबाले छोरालाई ठूलो क्रिकेटर बनाउने सपना देखेका छन्।

२१ वैशाख, काठमाडौं । ६ वर्षीय क्रिकेटर एरोन विक्रम मल्लको ब्याटिङको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । एरोनले नवलपुरमा जारी यू–१४ एकेडेमी स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका कारण उनले प्रशंसा बटुलिरहेका छन् ।

रोयल क्रिकेट एकेडेमीको आयोजनामा नवलपुरमा जारी प्रतियोगितामा ६ वर्षीय एरोनले देखाएको आशाले धेरैको मन जित्न सफल भएको छ । देशका २० एकेडेमीका खेलाडी सहभागी प्रतियोगितामा एरोनले रोयल क्रिकेट एकेडेमी ‘बी’ बाट खेलिरहेका छन् ।

३ खेलमा ६ वर्षीय एरोनले रन हान्न नसके पनि होल्ड गरेर लामो समय क्रिजमा रहिरहे । वान डे क्रिकेट एकेडेमीविरुद्ध उनले १७ बल सामना गरे ।

१७ बल खेलेर आउट हुँदा उनले २ रनमात्र जोडे । नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीविरुद्ध पनि उनले १७ बल नै सामना गरे । १७ बलमा उनी एक रन जोडेर पभेलियन फर्किए ।

तेस्रो खेलमा उनी क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुरविरुद्ध २८ बलमा एक रन बनाए । बलले हातमा लाग्दा उनी रिटायर्ड हर्ट हुन पुगे । ‘रन त ल्याउन सक्दैन । पावर त छैन । पेस बल फाले पनि ढुक्क रोकेर खेल्छ । बलसँग डराउँदैन,’ एरोनका बुबा विकल विक्रम भन्छन् ।

टोलीका अन्य खेलाडी क्रिजमा टिक्न नसक्दा पनि एरोनले बल रोकेर ब्याटिङ गरिरहेका हुन्छन् । आफूभन्दा धेरै उमेरका बलरले फालेको बल पनि एरोनले अनुभवी शैलीमा ‘डिफेन्स’ गरिदिन्छन् ।

बुबा विकलका अनुसार एरोनलले २०–२५ वटा खेल खेलिसकेका छन् । एरोनले यसअघि गत माघमा काठमाडौंमा राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगिता पिच र ग्राउण्डको अवस्थाका कारण सबै खेल्न पाएनन् । एउटा मात्रै खेलमा अवसर पाएका उनी २ बल खेलेर नटआउट रहे ।

बुबा फुटबलर बनाउन चाहन्थे

एरोनका बुबा विकलले उनलाई फुटबलर बनाउन चाहन्थे । जसका कारण विकलले फुटबल ल्याइदिएका थिए । तर, सानैबाट क्रिकेट हेर्ने एरोन भने क्रिकेटर बन्न चाहे । ‘फुटबल खेल्छ कि भनेर फुटबल ल्याइदिएको खेलेन । के खेल्छस् ? भन्दा क्रिकेट भन्यो, त्यसपछि यता लागियो,’ विकल सम्झिन्छन् ।

विकलले छोरा एरोनलाई क्रिकेट सिकाउन भन्दै २ वर्षअघि नवलपुर देवचुली नगरपालिका- १० मा रहेको रोयल क्रिकेट एकेडेमीमा भर्ना गर्न लगे । तर, उमेर सानो भएको भन्दै एकेडेमीले भर्ना लिएन । पछि खेल हेरेपछि एकेडेमीले नै बोलाएर भर्ना लिएको विकल बताउँछन् । ४ वर्षको उमेरदेखि उनी एकेडेमीमा भर्ना भएर क्रिकेट सिकिरहेका छन् ।

सानैबाट इन्डियन प्रिमियर लिग(आईपीएल) हेर्दै आएका एरोन महेन्द्रसिंह धोनीका फ्यान हुन् । नेपालमा भने उनले दीपेन्द्रसिंह ऐरीलाई आइडल मान्छन् । सन्दीप लामिछाने, विनोद भण्डारीलाई भेटिसकेका एरोनको इच्छा दीपेन्द्रलाई भेट्नु छ । ब्याटिङ र फिल्डिङ गर्ने शैली दीपेन्द्रकै जस्तो रहेको विकल बताउँछन् ।

बुबा विकलले छोरालाई क्रिकेट सिकाउन दैनिक १६ किलोमिटर टाढाको एकेडेमीमा पुर्‍याउँछन् । एरोनले पनि दैनिक करिब ३ घन्टा प्रशिक्षणमै बिताउँछन् ।

एरोनको क्रिकेटप्रति लगाब कस्तो छ भन्ने प्रश्नमा उनको बुबा विकल भन्छन्, ‘एकदमै छ । बिदाको दिनमा बिहानदेखि साँझसम्म प्राक्टिस गर्छ ।’ छोरालाई ठूलो क्रिकेटर बनाउने बुबा विकलको सपना छ ।

एरोन विक्रम मल्ल क्रिकेट क्रिकेटर नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय