+

नेपाली क्रिकेट : पहिलो पटक फरक फर्म्याट, फरक स्क्वाडको अभ्यास

२०८३ वैशाख  ५ गते १५:२८ २०८३ वैशाख ५ गते १५:२८

टी-२० मा नयाँ खेलाडीलाई अवसर दिँदा क्यानले संकटमा रहेको ओडिआई भने पुरानै खेलाडीको भरमा छोडिदिएको छ

नेपाली क्रिकेट : पहिलो पटक फरक फर्म्याट, फरक स्क्वाडको अभ्यास

४ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक फरकफरक कप्तानसहित राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी सोमबार र मंगलबार हुने युएईविरुद्धको टी-२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यस्तै वैशाख १२ गतेबाट सुरु हुने आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमन र युएईविरुद्धको एकदिवसीय(ओडिआई) सिरिजका लागि रोहित पौडेलले नेपालको कप्तानी गर्नेछन् । यसअघि ओडिआई र टी-२०आईको कप्तानी रोहितले गर्दै आएका थिए । तर, क्यानले शुक्रबारदेखि टी-२०आईको कप्तानी दीपेन्द्रलाई सुम्पिएको हो ।

नेपालले इतिहासमै पहिलोपटक फरक–फरक कप्तान पाएको हो । यसअघि एउटैले टी-२० र ओडिआईको कप्तानी गर्दै आएका थिए । क्यानले कप्तान मात्र नभई ओडिआई र टी–२०आई खेलाडीहरुसमेत फरकफरक राखेको छ ।

यसअघि टी–२०आईका कप्तान रहेका रोहित यसपटक स्क्वाडमै अटाएका छैनन् । उनीसहित पछिल्लोपटक टी-२०आई टोलीमा रहेका ५ खेलाडी यसपटक टोलीमा छैनन् । रोहितसहित अनुभवीद्वय करण केसी र सोमपाल कामी, ललित राजवंशी र आसिफ शेख टोलीमा नपर्दा युवा क्रिकेटरले अवसर पाएका छन् ।

कुशल मल्ल, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी र शाहव आलमले टी-२० मा अवसर पाएका हुन् । सन्तोष र हेमन्तले पहिलोपटक अवसर पाउँदा कुशल, अर्जुन र शाहव यसअघि पनि टोलीमा परेका थिए । युवा क्रिकेटर सन्तोष र हेमन्तले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट छाप छोड्दै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । सर्वाधिक विकेट लिएका सुदूरपश्चिमका हेमन्त मल्ल उत्कृष्ट बलर घोषित भए ।

ओडिआईमा पुरानालाई नै मौका

टी-२०आईमा नयाँ खेलाडीले अवसर पाउँदा ओडिआईमा भने पुरानै खेलाडीको वर्चश्व कायम छ । मधेश प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएका अर्जुन कुमालले पहिलोपटक टोलीमा स्थान बनाएका छन् । यस्तै विनोद भण्डारी ३ वर्षपछि टोलीमा फर्किदा त्यसबाहेक ओडिआई टोलीमा खासै परिवर्तन छैन ।

पीएम कपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका सन्तोष यादव र सर्वाधिक विकेट लिएर उत्कृष्ट बलर बनेका हेमन्त धामीले ओडिआई स्क्वाडमा स्थान बनाउन सकेनन् । यस्तै उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, नारायण जोशी र दिनेश खरेलले पनि ओडिआईमा अवसर पाएनन् । पीएम कप एकदिवसीय क्रिकेटमा सर्वाेत्कृष्ट खेलाडी बनेको सन्तोष र उत्कृष्ट बलर बनेका हेमन्तलाई टी–२० टोलीमा लाग्दै ओडिआइबाट पाखा लगाइयो ।

पीएम कपमा चल्न नसकेका रोहितले ओडिआईको कप्तानी गर्नेछन् । पीएम कपमा चल्न नसकेको कुशल भुर्तेल, भीम सार्की, गुल्सन झा, सोमपाल कामी र करण केसीसहित खेलाडीले पनि ओडिआई अवसर पाए । आईसीसी विश्वकप लिग-२ मा नेपालको प्रदर्शन कमजोर छ । नेपालले २० खेलबाट ५ खेलमा मात्र जित निकालेको छ । यस्तो अवस्थामा यसपछि हुने हरेक खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । तर, क्यानले नयाँ र फर्ममा रहेका खेलाडीलाई अवसर दिनुको सट्टा पुरानै खेलाडीलाई टोलीमा समेटेको छ ।

फरक फरम्याट, फरक स्क्वाड

ओडिआई र टी-२०आईमा फरकफरक खेलाडी हुनुपर्ने आवाज पहिलेदेखि उठ्दै आएको हो । एउटै खेलाडी दुवैतर्फ हुँदा फर्म विग्रिने भन्दै क्रिकेट समर्थकले फरकफरक खेलाडीको माग गरेका थिए ।

ओडिआई र टी-२० मा खेल्ने शैली फरकफरक हुन्छ । टी-२० मा आक्रामक र छिटो रन बनाउनुपर्ने र ओडिआईमा धैर्यताका साथ इनिङ्सलाई अगाडि बढाउनुपर्नुपर्ने आवश्यकता हुन्छ । त्यसलाई मध्यनजर गर्दै क्यानले कप्तानसँगै खेलाडीहरुसमेत फरकफरक राखेको छ ।

यसअघि ओडिआई र टी-२०आईका लागि करिब एउटै  खेलाडी स्क्वाडमा पर्ने गर्थे । यसपटक ओडिआई र टी–२०आईमा फरकफरक खेलाडी छन् । ओडिआईमा परेका रोहितसहित ७ खेलाडी टी–२०आई टोलीमा परेका छैनन् ।

रोहितसहित करण केसी, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी, विनोद भण्डारी र करण केसी ओडिआईमा मात्र परेका छन् । कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्तोष यादव, शेर मल्ल, हेमन्त धामी, अर्जुन साउद र शाहव आलम टी-२०आई टोलीमा परेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, बसिर अहमद, गुल्सन झा, नन्दन यादव र आरिफ शेख दुवैतर्फ स्थान बनाएका छन् ।

फरक फर्म्याटमा फरक हुँदा खेलाडीको क्षमताअनुसार व्यवस्थापन हुने राष्ट्रिय टोलीका पूर्वकप्तान तथा छनोट समितिका पूर्वसंयोजक एलबी क्षेत्री बताउँछन् । ‘हामीले पहिलेदेखि नै ओडिआई र टी-२०आई टोली फरकफरक हुन्छ भने भनेका थियौ । खेलाडीले आफ्नो प्रदर्शन देखाउनका लागि यो माध्यम पनि हो । खेलाडीको क्षमता फरकफरक हुन्छ । यसले क्षमताअनुसार व्यवस्थापन हुन्छ,’ उनी भन्छन् ।

ओडिआई टी–२० नेपाली क्रिकेट फरक स्क्वाड
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय