आदरणीय गगन दाइ नमस्कार !
देशमा असल राजनीति र कुशल नेताको खडेरी परिरहेको समयमा केही आशलाग्दा युवा अनुहारहरू देख्दा मनै रोमान्चित भएर आउँछ । पक्कै अबचाहिँ केही हुन्छ कि जस्तो आशा मनभित्रैबाट पलाएर आउँछ । तर, तिनै आशलाग्दा अनुहारहरूबाट फेरि उही पुरानै पुस्ताले गरेको गलत कामको पुनरावृत्ति भएको देख्दा चाहिँ मन त्यसै त्यसै अत्यासिन्छ ।
गगन दाइ ! युवा पुस्तामा राम्रो संभावना बोकेका थोरै नेताहरूमध्येमा तपाईं पनि एकजना हो । पार्टी विशेषको कुरा नगरी भन्ने हो भने तपाईं, योगेश भट्टराई, गंगा श्रेष्ठ, रामकुमारी झाँक्रीहरू मेरो रोजाइका नेता हुन् ।
तपाईं काठमाण्डौं ४ नम्बर क्षेत्रबाट विजयी हुँदा म जति खुसी भएकी थिएँ, योगेश भट्टराई र गंगा श्रेष्ठले चुनाव हार्दा त्यतिकै दुःखी पनि । किनकि, तपाईंहरू जुनसुकै पार्टीको भए पनि देश र जनताका लागि काम गर्न पार्टीको घेराभन्दा माथि उठ्नुहुने छ भन्ने मेरो विश्वास थियो र छ । त्यसैले तपाईंहरू जस्ता सबै नेताहरूले जित्नु पर्दथ्यो ।
यसको अर्थ, मैले विगतको कुरा गर्न लागेकी होइन; वर्तमानको पीडा यस पत्रमार्फत पोख्न लागेकी मात्र हो ।
कुरा सुरूवात गर्छु है त ।
तपाईं आज मन्त्री हुनुहुन्छ । तपाईं मन्त्री हुनुभएको दिन धेरै युवाहरू जस्तै म पनि खुसी भएकी थिएँ । तपाईंलाई खादा र मालासहित बधाइ दिन नपाए पनि मनमनै धेरै बधाइ दिएकी थिएँ । सिंगै देशको थिति बदल्न नसके पनि कमसेकम तपाईं आफूले जिम्मा लिनुभएको स्वास्थ्य मन्त्रालयमा केही न केही राम्रो काम गर्नुहोला भनेर सोचेकी थिएँ ।
मेडिकल माफियाहरूका बिरूद्ध डा. गोविन्द केसीले पहिलाको सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै तपाईंको कार्यकालमा पनि अनशन थाल्नुभयो । धेरैको अनुमान थियो, गगन थापाले चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, अब डा. केसीले दोहोर्याएर अनशन बस्नुपर्ने छैन । तर, आज म गलत सावित भएकी छु । तपाईंकै कार्यकालमा डा. केसीले दोहोर्याएर पुनः अनशन सुरू गर्नुभएको छ । सायद तपाईंको परीक्षा डा. केसीले लिँदै हुनुहुन्छ ।
नसम्झनु होला, यो परीक्षा डा. केसीको मात्र हो । यो त नेपाली जनताले तपाईंमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ? खरो उत्रनुहोस् शुभकामना छ तपाईंलाई ! शुभकामना मात्रै होइन, साथ पनि हुनेछ तपाईंलाई ।
स्वास्थ्योपचारका नाममा राज्यको ढुकुटी ब्रम्हलुट गर्ने परम्पराको बिरूद्ध तपाईंले सुधारका केही प्रस्तावहरू तयार पार्नुभएको कुरा मिडियामा सार्वजनिक भयो । तपाईंको प्रस्तावको पक्षमा स्वस्फुर्त रूपमा सडकमा माहौल सिर्जना भइरहेको थियो ।
रिसानी माफ गर्नुस् गगन दाइ ! उपचारका लागि सुजाता दिदीलाई ५० लाख दिने सरकारको निर्णयले गगन थापाको गगनचुम्बी उचाइ एकाएक बंगालको खाडीमा रूपान्तरित भएको छ
तपाईंप्रतिको आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईंप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्नै झन्नै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।
रिसानी माफ गर्नुस् गगन दाइ ! उपचारका लागि सुजाता दिदीलाई ५० लाख दिने सरकारको निर्णयले गगन थापाको गगनचुम्बी उचाइ एकाएक बंगालको खाडीमा रूपान्तरित भएको छ । त्यसैले आज सबै कुरा ओझेलमा पर्ने गरी तपाईंकै चर्चा छ सर्बत्र ।
कुनै दिनको चर्चाले तपाईलाई लोकप्रियताको चुलीमा पुर्याएको थियो, तर आजको चर्चाले तपाईंलाई राजनीतिको सुली चढाउँदैछ ।
म धेरै राजनीति त बुझ्दिनँ । तर, मेरो अनुमानमा तपाईंको राजनीतिले अहिले लुँडो खेलमा ९९ अंकमा पुगेर सबभन्दा लामो सर्पको मुखमा परेजस्तै नियति भोगिरहेको छ । साँच्चै दाइ, तपाईं अहिले ९९ बाट पुछारको २ अंकमा झर्नु भएको छ ।
हुन त तपाईंले आफूलाई झुक्याएर गरेको निर्णय भन्दै आफ्नो बचाउ गर्ने प्रयत्न गर्नुभएको छ । त्यस निर्णय भएको दिन तपाईं मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएको कुरा पनि साँचो हो । प्रश्न छ तपाईंलाई- “तपाईं स्वास्थ्यमन्त्रीको हैसियतले यो निर्णयको स्वामित्व लिनुहुन्छ या लिनु हुन्न ?”
यदि स्वामित्व लिनुहुन्छ भने जनताको नजरमा गगन थापा “गगन” रहनुहुन्न । तर, स्वामित्व पनि नलिने र त्यही कुर्सीमा टाँसिएर बस्ने हो भने त झन तपाईंलाई सम्बोधन गर्ने शब्द नै नयाँ सिर्जना गर्नुपर्ला ।
नत्र तपाईंसामु अब दुई विकल्प छन् – पहिलो- निर्णय बदर गराउनु र दोश्रो पदबाट राजीनामा दिनु ।
मूल्यको राजनीतिको संस्कृति शून्य बन्दै गइरहेको देशमा तपाईंको राजीनामा मूल्य-संस्कृतिको सुरूवात हुन सक्छ । कुन बाटो हिँड्ने ? रोजाइ तपाईंको ।
म पनि ओपन हार्ट सर्जरी गरेकी मान्छे हूँ । धेरै समस्याहरू फेस गरिरहेकी छु अहिले पनि । जुनबेला मेरो सर्जरी भएको थियो, त्यसबेला नेपालमा यति धेरै आधुनिक उपचार प्रविधिहरू थिएनन् । भगवान भरोसामा उपचार गर्नुपर्थ्यो । त्यसै गरें मैले त्योबेला । किनकि, विदेशमा गएर उपचार गर्ने औकात थिएन मेरो । डाक्टर त होइन म । तर, मलाई लाग्छ, सुजाता दिदीको उपचार नेपालमै संभव छ । आफ्नै देशमा उपचार संभव छ भने विदेशमा किन जानु ?
यस सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष सम्मानसाथ सम्झन चाहन्छु म । नेताले जनतालाई के सन्देश दिन्छ, त्यसको निकै ठूलो अर्थ हुन्छ । किनकि, नेता भनेको जनताको अगुवा हो ।
सरकारले ५० लाखको निर्णय गर्नुभन्दा केही दिनअघि मात्रै उपचारको बिल तिर्न नसकेर बिराटनगरको एउटा अस्पतालबाट हाम फालेर एक जनाले आत्महत्या गरे । यसै हप्ता एउटा राष्ट्रिय दैनिकमा एउटा बच्चाको तस्वीर छापियो । गगन दाइ, तपाईंले पनि त्यो तस्वीर पक्कै हेर्नुभयो होला । तस्वीर युद्धग्रस्त सोमालियाका कुपोषणयुक्त नानीहरूको जस्तै थियो । नियालेर हेरें । होइन रहेछ । आफ्नै देशको, राजविराजको पो रहेछ ।
उफ ! कति भक्कानियो मन । खै कसरी व्यक्त गरौं शब्दमा ? के तपाईंको भक्कानिएन र मन ? जन्मँदा तीन केजीको बच्चा १३ महिना बित्दा जम्मा ४ केजी भएको रहेछ । त्यसो हुनुको कारण उल्लेख गरिएको थियो-” कुपोषण” ।
सुजाता दिदी । ५० लाख । यो निर्णय गर्ने सरकार । र, त्यस कुपोषणयुक्त ४ केजीको बच्चालाई सम्झें । ओपन हार्ट सर्जरी गरेकी मान्छे म । कति गारो भयो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु गगन दाइ तपाईलाई !
बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ । राजबिराजको त्यस कुपोषणयुक्त ४ केजीको बच्चा र सुजाता दिदीको मानवअधिकार बराबरी होइन र ? सरकारले यस्तो अत्याचारी निर्णय गर्न पाइन्छ ?
संविधानमा स्वास्थ्य मानवअधिकारको रूपमा परिभाषित गर्ने र देशमा स्वास्थ्यमा सबभन्दा ठूलो ब्यापार गर्न लाइसेन्स पनि दिने ? विशिष्ट नागरिकका नाममा जनताले तिरेको करबाट करोडौं रूपैयाँ उपचार खर्च पनि दिने ? कोही कुपोषण भएर मर्नुपर्ने, कोही बिल तिर्न नसकेर आत्महत्या गर्नुपर्ने ?
अन्तमा, गगन दाइ !
तपाईं जनताले पत्याएको युवा नेता हो । सक्नुहुन्छ यस्तो बेथितिको अन्त्य गर्नुस् । संविधान लागू गर्नुस् । सक्नुहुन्न, जनतासँगै सडकमा आउनुस् । अब अति भयो । सहनुको पनि सीमा हुन्छ ।
समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । आजलाई यति नै । हस् त नमस्कार ।
उही तपाईंकी अपरिचित बहिनी राधा पोखरेल ।
प्रतिक्रिया 4