बक्स अफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘जात्रा’ हेर्न नायक राजेश हमाल, पत्नी मधु भट्टराइसँग काठमाण्डौको कुमारी हल पुगेका छन् । नायक हमाल अहिले चर्चा पाएका चलचित्र हेर्न हलमा पुगिरहेका छन् । उनले केहि दिन अगाडि चलचित्र ‘छक्का पन्जा’ पनि हेरेका थिए ।
उनले चलचित्र हेरिसकेपछि आफूलाई ‘जात्रा २’को प्रतिक्षा रहने बताएका छन् । तेश्रो सातामा पनि बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको चलचित्र हेर्न पुगेका हमालले भने-‘मलाई कथाले अन्तिमसम्म वाँधेर राख्यो । दर्शकले पनि निकै मनोरञ्जन लिएको पाएँ ।’
हमाल पत्नी मधु भट्टराइले भनिन्-‘बिहे अगाडि हामी समय मिलाएर हलमा जान्थ्यौं । विवाहपछि हामीले एकसाथ चलचित्र ‘बागमती’ हेरेका थियौ ।”जात्रा’को कथा लम्ब्याएर यसको सिक्वेल पनि बनाउन सकिने सुझाव हमाल दम्पत्तीको छ । हमाल दम्पत्तीको सुझावलाई निर्माता रविन्द्र सिंह बाँनिया र निर्देशक प्रदिप भट्टराइले सकारात्मक रुपमा लिएको बताए । राम्रो कथा आएको खण्डमा आफूहरुले ‘जात्रा २’ पनि बनाउन सक्ने बाँनियाको भनाई थियो ।
‘पुरानो डुङ्गा, डीअर जिन्दगी’ जस्ता ठूला चलचित्रले पनि बक्स अफिसमा ‘जात्रा’लाई खासै असर नपारेको निर्माणपक्षको भनाई छ । वर्ड अफ माउथ र समिक्षाका कारण चलचित्र ‘पुरानो डुङ्गा’ कमजोर बनेपछि यसको प्रत्यक्ष फाइदा ‘जात्रा’लाई हुने देखिएको छ । चलचित्रले २ करोड ग्रस कलेक्शन गरेको र व्याससहित लगानी उठाएको कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाको भनाई छ ।
प्रतिक्रिया 4