Comments Add Comment

शीर्षनेतालाई बोलाएर राष्ट्रपतिले भनिन्- सहमति गर्नुहोस्

सहमतिका साथ अघि बढ्न तयार छुः प्रधानमन्त्री

president-and-majour-party-meeting१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनकोविषयलाई लिएर दलहरुबीच बढेको दुरीप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले आइतबार शीर्ष नेताहरुलाई शीतलनिवासमा बोलाएर सहमतिका लागि दबाव दिए पनि दलका नेताहरु आ-आफ्नो आडान छाड्ने अवस्थामा देखिएनन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्टपति भण्डारीले आइतबार साँझ शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्तीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्षनेताहरु सहभागी थिए ।

राष्ट्रपति भण्डारीले संसदमा भएको अवरोध र सडक आन्दोलनप्रति दुःख व्यक्त गर्दै सहमतिका साथ अघि बढ््न दलका नेताहरुलाई सुझाव दिएको स्रोतले बतायो ।

बैठकमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीका अनुसार राष्ट्रपति भण्डारीले अबको निकास के हुन्छ भनेर नेताहरुलाई सोधेकी थिइन् । बैठकमा सहभागी नेताहरुले पालैपालो आफ्ना धारणा राखेका थिए । उनीहरुले आ-आफ्नो दलीय अडानमा केन्द्रित रहेर धारणा राखेको मैनालीले बैठकपछि पत्रकारहरुलाई जानकारी दिए ।

बैठकपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्टपतिलाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइएको र आफू सहमतिका साथ अघि बढ्न तयार प्रतिक्रिया दिए ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको बताए ।

मधेसी मोर्चाका नेताहरुले भने संशोधन प्रस्तावमा आवश्यक संशोधन गर्न सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल चलाउन सकिने बताएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा केहीबेर मात्रै बसेर बाहिरिएका थिए । राष्ट्रपति भण्डारीले सर्बदलीय बैठक बोलाएका बेला ओली भने शीतलनिवास छाडेर नयाँ बानेश्वरमा सम्पादकहरुसँगको छलफलमा सहभागी बनेका थिए ।

बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले सहमतिको वातावरणका लागि संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने बताए । यो प्रस्ताव असंवैधानिक एवं राष्ट्रिय हितको विरुद्धमा भएकाले संसदमा छलफल हुन नदिइएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment