Comments Add Comment

बोनम प्रतापको कविता: आँसु

 

bonam-pratapकसको आँसु लाग्यो यो जिन्दगीलाई
किन धर्खराउँदै-धर्खराउँदै
यो एक्लो हतास यात्रा गर्नुपरेको हो मैले
किन बेगिँदै-बेगिँदै आउनुपरेको हो म यहाँसम्म !

आज सम्झन मन छ
क-कसले चित्त दुखाएर झारेथे आँसु मेरो लागि

उनैको पो त्यो आँसुले सराप्यो कि मलाई
उनको शहर छाडिजाने बेलामा
छातीमा टाँसिएर धेरैबेर रोएकी थिइन्
मेरै छातीमा बिलाएको प्रियसीको आँसुले
मलाई नै पो सराप्यो कि कसो
सधैं एक्लो रहनु परोस्
जिन्दगी विरानो शहरमै बितोस् भनेर !

एक रात अबेर
गाउँलेहरुलाई सम्बोधन गर्दै
भाषण ठोक्दै पुगेको थिएँ घर
मध्यरातमा उठेर मेरो नशा नै उत्रने गरी रोएकी थिइन् आमा
कि त्यही मेरै घरको बलेसीमा झरेको
आमाकै आँसुले मलाई सरापेको थियो कि कसो
जिन्दगी बेहोसीमै बितोस् भनेर !

मलाई जित्न नसकेर
बडो भलादमी पाराले रोएको थियो
एउटा बक्सर
मुखै नबिगारीकन चुपचाप आँसु मात्र झारेर
कि त्यही मेरै पैंतालाले कुल्चिएको
रिङमा झरेको आँसुले मलाई नै सरापेको थियो
सधैं हारिरहनू भनेर !

केटाकेटीमा गुलेली खेल्दा
भुइँमा खसालेको थिएँ एउटा ढुकुर रुखको हाँगाबाट
बेगिँदै उडेको थियो बिजोरी ढुकुर
रुन त त्यो एक्लो ढुकुर पनि रोएको थियो होला
कि मलाई सरापेको थियो त्यही आँसुले
जिन्दगीमा भय बोकेर एक्लै बेगिन परोस् भनेर !

हिजोआज यस्तो लाग्न थालेको छ
आँसु पनि मरेर प्रेत हुन्छ कि कसो ?
अचेल मेरै सपनामा
मेरै चिसाङ खोलासँग मिसिएर
मलाई नै लखेट्दै-लखेट्दै आउँछन् ती आँसु
भयङ्कर धमिलो बाढी भएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment