Comments Add Comment

स्ववियु चुनावमा जान कांग्रेसले दिएको निर्देशन नेविसंघ काठमाडौंद्वारा अवज्ञा

वैद्य भन्छन्- महरलाई अध्यक्ष सोचेका थियौं तर मूर्ति रहेछन्

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन दिएको निर्देशन नेविसंघ काठमाडौंले अवज्ञा गर्ने घोषणा गरेको छ । त्यसको औपचारिक निर्णय गर्न बिहीबार अपरान्ह चार बजे काठमाडौं उपत्यकाका क्याम्पसका इकाई अध्यक्षहरु र काठमाडौं जिल्ला समितिका पदाधिकारीहरुको संयुक्त बैठक बोलाइएको छ ।

नेपाली कांग्रेसले पार्टी पदाधिकारीको बिहीबारको बैठकमा नेविसंघ पदाधिकारीलाई समेत राखेर २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु चुनावमा होमिन निर्देशन दिएको थियो । नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले भने पार्टीको उक्त निर्देशन आफूहरुले नमान्ने अनलाइनखबरसँग बताए ।

उनले भने, ‘ग्राउण्ड नबुझेका नेताहरुले दिएको निर्देशन हामीले मान्दैनौं । फागुन १४ गते स्ववियु चुनाव त गराउलान् तर, १५ गते के परिणाम आउँछ नेताहरुले देख्नेछन् ।

उनले फेसबुकमार्फत् पनि आफ्ना असन्तुष्टी पोखेका छन् । ‘हाम्रो लडाइँ पात्रको लागि थिएन, पद्धतिको लागि थियो । व्यक्तिकालागि थिएन, विधिको लागि थियो । नेताको लागि थिएन, नीतिको लागि थियो । तर हामी हार मान्नेवाला छैनौं, न लोकतन्त्रलाई हार्न दिनेछौं । हाम्रो लोकतान्त्रिक आन्दोलन हाम्रो आयुसम्म जोडिएको छ ।’

वैद्यले नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरको नेतृत्व क्षमतामा पनि प्रश्न उठाएका छन् । उनले महरलाई अध्यक्ष नभई मूर्तिको संज्ञा दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘…हामीले नेबिसंघको अध्यक्ष नैनसिंह महरलाई सोचेका थियौं तर गलत रहेछौं उहाँ त केवल मूर्ति मात्र हुनुहुँदो रहेछ, भविष्यमा सबै छर्लङ्ग हुनेछ ।’

‘आन्दोलन रोक्ने तागत छैन’

वैद्य पशुपति क्याम्पसका पूर्वस्ववियु सभापति समेत हुन् । उनले २८ वर्षे उमेर हदले वर्षौंदेखि क्याम्पसमा क्रियाशील नेताहरु मर्कामा परेको भन्दै काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरुमा तालाबन्दी गराएका छन् । तर, प्रहरी प्रशासन लगाएर आफूहरुलाई दमन गरिएको भन्दै उनले नेपाली सेना लगाए पनि आन्दोलनलाई रोक्न नसक्ने दाबी गरेका छन् ।

‘प्रहरी प्रशासन लगाएर हाम्रो आन्दोलन दमन गर्ने जुन चेष्टा गरेका छन् त्यसको हामी घोर विरोध गर्दछौं । हाम्रो आन्दोलन रोक्ने तागत प्रहरी प्रशासन त के नेपाली सेना लगाए पनि सम्भव छैन,’ उनले भनेका छन्, ‘हाम्रो माग यथाशीघ्र सम्बोधन होस् नत्र हामी अझै सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment