Comments Add Comment

मन्त्री ढिला आएपछि सांसद रिसाए, अर्थमन्त्रीले भने – हाम्रो व्यस्तता बुझ्नुपर्‍यो

४ चैत, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री समयमा नआएको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् ।

समितिले सोमबार बहुवर्षीय आयोजनाको प्रगतिको विषयमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाएको थियो ।

मन्त्रीले दिउँसो १२ बजे बैठकमा आउने भनी समय दिएकाले समिति सदस्यहरुलाई साढे ११ बजे नै बोलाइएको थियो । तर मन्त्री खतिवडा साढे १२ बजेमात्रै आइपुगे । त्यसपछि सभापति कल्याणी खड्काले मन्त्री ढिला हुनुका कारण सोधिन् । समिति सदस्यहरुले अर्थमन्त्रीले तोकिएकै समयमा आउनुपर्ने भन्दै ढिला आउनुको कारण सोधे ।

जवाफमा अर्थमन्त्री खतिवडाले आफ्नो व्यस्तता बुझिदिन आग्रह गरे । ‘समिति सभापतिले मन्त्रीको व्यस्तता बुझिदिनुपर्‍यो, हामी काममै छौं’ उनले भने । अर्थमन्त्री खतिवडाले सोमबार नै दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा विधेयक पेश गर्नुपर्ने भएकाले त्यसकै छलफलका कारण ढिलो भएको बताए ।

अर्थमन्त्रीको जवाफपछि केही सांसदहरुले ‘मन्त्रीको मात्रै काम हुने, हाम्रो नहुने ?’ भन्दै आक्रोश पोखेका थिए ।

त्यसपछि समिति सभापति कल्याणी खड्काले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जानुपर्ने भएकाले आज छलफल गर्न नभ्याइने भन्दै बैठक स्थगित गरिन् । मंगलबार विहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेतलाई बोलाएर छलफल गर्ने उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment