News Summary
Generated by OK AI. Editorially reviewed.- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
- जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर देउवा दम्पतीको चलअचल सम्पत्तिमा अस्वाभाविक कारोबार भेटिएपछि अनुसन्धान भइरहेको छ।
- देउवा दम्पतीको छोरा जयवीरले किनेको करिब ७३ रोपनी जग्गाको स्रोत शंकास्पद देखिएपछि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।
२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उनीहरूको परिवारबाट अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पतीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट शेरबहादुर र आरजुविरुद्ध पक्राउ अनुमति लिएको हो ।
जिल्ला अदालतसम्वद्ध स्रोतले भन्यो, ‘उहाँहरूको चलअचल सम्पत्ति छानबिनका क्रममा अस्वाभाविक आर्जन भेटिएपछि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुन लागेको हो ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग एवं विभागलाई प्राविधिक रुपमा सहयोग गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका केही प्रहरी अधिकृतहरूले देउवा दम्पतीले लुकाएको सम्पत्तिको सूचना संकलन गरिरहेका थिए । एक प्रहरी अधिकृतले भने, ‘त्यसक्रममा केही अचल सम्पत्ति भेटिएपछि थप प्रक्रिया अघि बढेको हो ।’
विभागसम्वद्ध स्रोतका अनुसार, पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले काठमाडौं उपत्यका र बाहिर समेत जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । स्रोतले भन्यो, ‘त्यहीबाट प्रवेश गर्ने क्रममा अरु शंकास्पद कारोबारहरू भेटिएको हो ।’
केही दिन अघिमात्रै विभागले बुढानिलकण्ठस्थित देउवा निवासमा सुरक्षाकर्मीहरु पठाएर आगजनीको भग्नावशेष भत्काउन रोक लगाएको थियो ।
शाही शासनकालका केही सीमित अवधिमा बाहेक प्रजातन्त्र पुनर्स्थापनापछि निरन्तर सार्वजनिक पदमा रहेका शेरबहादुर देउवा पटकपटक सत्तामा पुगेका छन् । यो बीचमामा उनी पाँचपटक प्रधानमन्त्री भए ।
२०७० को दशकपछि कांग्रेसको राजनीतिमा डा.आरजु देउवाको पनि प्रत्यक्ष प्रवेश भयो । उनी दुईपटक संसद्मा पुगिन् । एकपटक परराष्ट्रमन्त्री भइन् ।
राजनीतिबाहेक अरु पेशामा नभएका देउवा दम्पतीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जनौं उजुरी थिए । स्रोतका अनुसार अहिलेसम्म उनीहरूमाथि अनुसन्धान हुन सकेको छैन ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार, अहिले जयवीरले किनेको जग्गा, देउवा दम्पतीको घरजग्गा र बैंकखातामाथि अनुसन्धान चलिरहेको छ । विभागले अनुसन्धान गर्दा, विदेशमा रहेका जयवीर जेनजी आन्दोलनपछि विमानस्थलको औपचारिक बाटोबाट नेपाल आएको रेकर्ड भेटेको छैन ।
विभागले बूढानीलकण्ठको जग्गा र त्यहाँ बनेको घरमाथि समेत अनुसन्धान गर्ने तयारी छ । त्यहाँको जग्गा भने डा. आरजुको माइतीले किनेर देउवा परिवारलाई दिएको भनी उनको सचिवालयले दाबी गर्दै आएको छ ।
देउवा दम्पती ‘उपचारको क्रममा’ हङकङमा छन् । पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले सरकारले गरेको छानबिनका बारेमा आफूहरूलाई कुनै जानकारी नभएको र पक्राउ अनुमतिबारे थाहपनि नपाएको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँहरू दुवैजना उपचारको सिलसिलामा बाहिर हुनुहुन्छ, त्योबाहेक अरु खबर आएको छैन ।’
कुन अपराधपछि सम्पत्ति शुद्धीकरण ?
दुई वर्षअघि संशोधन भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी कानुन अनुसार, कुनै व्यक्ति अपराधमा संलग्न भएको तथ्यबिना उसलाई सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान गर्न पाइँदैन ।
प्राथमिक अभियोगपछि त्यही कसुरका आधारमा उसले अतिरिक्त सम्पत्ति आर्जन गरेको आशंकामा मात्रै सम्पत्ति शुद्धीकरणको अभियोगमा छानबिन हुनसक्छ ।
तर, अहिलेसम्म देउवा दम्पतीमाथि कुनैपनि फौजदारी कसुरमा अनुसन्धान चलेको र मुद्दा दायर भएको छैन । तर देउवा दम्पतीमाथि राजनीतिक शक्ति र सत्ता दुरुपयोगको आडमा सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समानान्तर रुपमा भूमिगत गिरोह परिचालन गरेको आरोप खेप्ने आरजुमाथि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय कामकारवाहीमा सार्वजनिक पदको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।
नक्कली शरणार्थी प्रकरणमा समेत नाम मुछिएकी आरजुमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप थियो । जेनजी आन्दोलनपछि आगजनीमा परेर देउवाको घरमा भेटिएका केही अवशेष र प्रमाण परीक्षणका लागि विभागले प्रयोगशालामा पठाएको थियो ।
दर्जनौं उजुरीहरू अलपत्र
सचिव नारायण दुवाडीलाई भेट्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका गृहमन्त्री सुदन गुरुङले गतसाता अख्तियारकै कार्यकक्षमा प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेका थिए । त्यसक्रममा अख्तियारमा भएका संवेदनशील उजुरीको अनुसन्धानमा चासो व्यक्त गर्दै उनले आवश्यक परेमा सहयोग गर्ने वचन थिएका थिए ।
प्रधानमन्त्री कार्यालय एवं गृहमन्त्रालय सम्वद्ध उच्च अधिकारीहरूका अनुसार, नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार ठेक्का(एनुअल मेन्टिनेन्स कन्ट्रक्ट–एएमसी)को क्रममा टेलिकमका अधिकारीहरू र देउवा परिवारबीच कारोबार भएको दाबी सहितको विवरण अख्तियार पुगेको थियो ।
सिंगापुरमा केन्द्रित भएर सूचना प्रविधिको क्षेत्रमा सामान आपूर्ति गर्ने एक व्यक्तिले कारोबारको विस्तृत विवरण सहितको कागजात बुझाउँदा समेत अख्तियारले छानबिन र कारबाही गर्न नसकेको भनी उनीहरूले पटकपटक छलफल गरेका थिए ।
त्यही ठेक्कामा सहजीकरण गरेका तत्कालीन सञ्चारसचिव डा. बैकुण्ठ अर्याल पछि मुख्यसचिव बनेका थिए । मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा व्यवस्थापन गरेर तत्कालीन प्रचण्ड सरकारले दुई दिनपछि अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको थियो । त्यो काममा देउवा परिवारको पनि भूमिका थियो ।
अर्याललाई मुख्यसचिव बनाउन सक्रिय रहेका सुनिल पौडेल र विकल पौडेल भ्रष्टाचारको आरोपमा थुनामा छन् । उनीहरू आवद्ध करिब एक दर्जन भ्रष्टाचारमुद्दा सर्वोच्चदेखि विशेष अदालतमा विचाराधीन छ । र, बिलिङ प्रणालीको ठेक्का अनियमिततामा मुद्दा चलाएपछि अख्तियारले बाँकी उजुरीमा अनुसन्धान गरेको छैन ।
देउवा दम्पतीका छोरा जयवीरमाथि समेत राज्यशक्तिको दुरुपयोग गरी कतिपय सरकारी निर्णयहरूलाई प्रभावित पारेको आरोप छ । सुरक्षण मुद्रण केन्द्रदेखि पेमेन्ट गेट-वे र नेपाल टेलिकमको बिलिङ प्रणालीमा त्यो समूहको नाम जोडिन्थ्यो ।
अख्तियारले यस्ता अनियमिततामा केही व्यक्ति र राजनीतिज्ञमाथि अनुसन्धान भइरहेको भनी औपचारिक रुपमा नै पत्राचार गरेको थियो । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सूरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पेश भएको आरोपपत्रमा ती विवरण समावेश छन् ।
सुनिल पौडेलविरुद्धको मुद्दामा अख्तियारले ‘सुनिल पौडेलको विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू एवं विभिन्न राष्ट्रसेवक तथा स्वदेशी र विदेशी अन्य व्यक्तिहरूसँग समेत सम्वद्धता रहेको खुल्न आएको’ भन्दै छुट्टै अनुसन्धान अधिकृत तोकिएको भनी विवरण पठाएको थियो ।
विकल पौडेल विरुद्धको मुद्दामा पनि अख्तियारले विशेष अदालतमा भनेको थियो, ‘विकल पौडेलको विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू एवं विभिन्न राष्ट्रसेवक तथा स्वदेशी र विदेशी अन्य राजनीतिक तथा व्यापारिक व्यक्तिहरूसँग समेत सम्बद्धता रहेको खुल्न आएकाले थप अनुसन्धान गर्न छुट्टै अनुसन्धान अधिकृत तोकी अनुसन्धान गर्ने ।’
दुवै मुद्दामा अख्तियारले अरुमाथि अनुसन्धान गर्ने भनेपछि नाम खुलाएको थिएन । ती दुवै अनियमिततामा विकल र सुनिल पौडेलसँग अरु नभई डा. आरजु देउवा र जयवीर नै जोडिएको विभागसम्वद्ध स्रोतले बतायो । स्रोतले भन्यो, ‘थप अनुसन्धानबाट अरु विवरण खुल्दै जाला ।’
प्रतिक्रिया 4