News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा चैत २५ गते साँझ शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी सिर्जना पौडेल केसीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा भान्जा पक्राउ परेका छन् ।
- प्रहरीले अर्का एक जनाको खोजी गरिरहेको छ।
- सिर्जनाको पारिवारीक कलह र अंशमुद्दाको विवाद नै हत्याको कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । यसमा थप अनुसन्धान जारी छ।
२७ चैत, पोखरा । पोखरामा चैत २५ गते साँझ बीच बजारमै विभत्स घटनाले धेरैलाई विक्षिप्तमात्रै बनाएन, सुरक्षा संयन्त्र माथिसमेत प्रश्न खडा गरिदियो । शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी महिलाको कन्चटमा धारिलो हतियार प्रहार गरी एक समूह फरार भएको थियो ।
खुकुरी प्रहारले रन्थनिँदै सडकमै ढलेकी महिलाको मृत्यु हुन्छ । मृतक पोखरा–५ की सिर्जना पौडेल केसी रहेको खुलासा हुन्छ । पौडेल एकल महिला थिइन् र उनले पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आइरहेकी थिइन् ।
जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि कृष्ण केसीले ४ वर्षअघि सिर्जनालाई विवाह गरेका थिए । २ वर्षअघि कृष्णको पनि मृत्यु भएको थियो । उनको अहिले ३ वर्षकी छोरी छन् ।
विवाह र श्रीमानको मृत्युपछि बढेको पारिवारीक कलह र अंशमुद्दाको विवादले सिर्जनाको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ ।
हत्यामा भान्जा संलग्न
प्रहरीले अन्तत: हत्यामा आफ्नै भाञ्जा संलग्न रहेको निश्कर्ष निकाल्दै पक्राउ गरेको छ । जो पटक–पटक लागुऔषध, अभद्र व्यवहारदेखि चोरीसम्मको अभियोगमा यसअघि नै हिरासतमा परेका थिए ।
खुकुरी प्रहार गरेर भाग्ने भाञ्जालाई प्रहरीले समातेको छ भने मोटरसाइकल चालकको खोजी गरिरहेको छ । प्रहरी अनुसन्धानले विभत्स हत्यापछिका रहस्य पछ्याउँदै गइरहेको छ र जसले अनुसन्धानमै खटिएका प्रहरीलाईसमेत अचम्मित पारिरहेको छ ।
जीवनका दु:खसुख साट्ने कसम खाएर विवाह गरेका श्रीमान २ वर्षअगाडि नै बिते । त्योभन्दा एक वर्ष अगाडिमात्रै छोरी जन्मिएकी थिइन् । छोरीले बाबु चिन्नै पाइनन्, उनले श्रीमानको माया र सहयात्रा ।
पोखरा–मालेपाटनकी सिर्जना पौडेल केसीलाई के थाहा आफ्नो जीवन पनि यति विभत्स र हृदयविदारक भएर सकिने छ । जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि मालेपाटनका व्यवसायी कृष्ण केसीले सिर्जनालाई ४ वर्षअघि विवाह गरेका थिए ।
कृष्णले उनलाई जीवनभर साथ दिने कसम खाएका थिए तर विवाहपछि पारिवारीक कलह र विवादले तनाव सिर्जना गरिरह्यो । २ वर्षअघि श्रीमानको मृत्यु भएपछि जेठीतिरका छोराछोरीसँग उनको विवाद चलिरह्यो । उनले अदालतमा अंशमुद्दा हालेकी थिइन् ।
पोखरा मालेमापाटनमा खसीबोकाको ताजा मासु बेच्ने कृष्णले मालेपाटन र सेदीमा घर जोडेका थिए । सिर्जना सेदीस्थित घरमा बस्थिन् र पृथ्वीचोकदेखि नागढुंगातर्फ स्याङ्जा जाने बस छुट्ने सडक छेउमा जुत्ता पसल गर्दै आएकी थिइन् ।
चैत २५ गते बुधबार साँझ उनले अघिल्ला दिनहरुमा जस्तै पसल बन्द गरेर शिवालय चोक हुँदै सभागृह चोकतर्फको बाटो हुँदै घर फर्किंदै थिइन् । सभागृह चोक निस्कनुभन्दा थोरैअघि उनको कन्चटमा कसैले धारिलो हतियार प्रहार गर्यो ।
उनी रन्थनिँदै सडकमा बजारिइन् । टाउकाबाट हुलहुल्ती रगत बग्यो । टाउकोभित्री भागसमेत निस्कने गरी भएको हतियार प्रहारले उनको प्राण नै छिन्यो । बुधबार साँझ ७ बजेतिर भएको यो दर्दनाक र विभत्स हत्याले धेरैलाई विक्षिप्त बनायो ।
प्रहरीमाथि प्रश्न
एकल जीवन, सानो व्यवसाय गरेर ३ वर्षकी छोरी हुर्काइरहेकी सिर्जनाको विभित्स हत्या कसले किन गर्यो होला ? अनेक अनुमान र प्रश्नहरु खडा भएका थिए । बीचबजारमै खुकुरी प्रहार गरेर फरार हुँदा पनि तत्काल प्रक्राउ गर्न नसकेको भन्दै प्रहरीमाथि सुरक्षा चुनौति खडा भएको थियो ।
पर्याप्त सिसीटिभी फुटेज नहुँदा अभियुक्त पहिचानमा समस्या खेपेको प्रहरीले अन्तत: घटनामा संलग्नलाई पक्राउ गरेको छ । घटनामा आफ्नै भाञ्जा प्रयोग भएको अनुसन्धानबाट पत्ता लगाएको छ ।
प्रारम्भिक अनुसन्धान र बयानमा हेप्ने, अपहेलित गरेर बोल्ने गरेका कारण आफूले हत्या गरिदिएको भाञ्जाले बताएका छन् । तर, हत्यामा परिवारकै अन्य सदस्यको पनि योजना हुनसक्ने अनुमानका साथ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार उनीहरुले दिउँसैदेखि रेकी गरिरहेका थिए । सिर्जनाको पसल अगाडिको चिया पसलमा बस्ने निगरानी गर्दै पिछा गर्दै आइरहेका थिए । सभागृह चोक निस्किने सडकनेर सटरहरु बन्द हुँदै थिए भने लाइट पनि कम भइरहेको मौका छोपेर उनीहरुले धारिलो हतियार प्रहार गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले परिवारकै ३ जना मानिसलाईसमेत सोधपुछका लागि ल्याएको थियो । उनीहरुको बयान, पारिवारीक कलह र अंशमुद्दाको विषयलाई पछ्याउँदै जाँदा प्रहरी अभियुक्तसम्म पुगेको हो ।
अहिले प्रहरीले सिर्जना हत्यामा घरभित्रै सदस्यको योजना हुन सक्ने थप प्रमाणहरुको अनुसन्धानमा जुटिरहेको छ । सिर्जनाको सबैभन्दा ठूलो विवाद र कलह सौतेनी छोरासँग भएको पाइएको छ । तर, उनी अहिले ब्राउन सुगरसहित प्रक्राउ परेर लागुऔषधको प्रयोगको मुद्दामा कारागारमा रहेको पाइएको छ ।
थप अनुसन्धान जारी
छोराकोसमेत योजना हुनसक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कारागारमा रहेका छोरासँग सिर्जनाको सम्पत्ति विवाद थियो । परिवारसँगको अंशमुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।
जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि सिर्जनालाई दोस्रो श्रीमतीका रुपमा कृष्णले विवाह गरेका थिए । ‘आमाको मृत्यु भएको एक वर्षपछि बाबुले सिर्जनालाई विवाह गरेपछि यिनै महिलासँग हाम्रा बाउ लागेका कारण आमाले विष सेवन गरेकी रहिछन् भन्ने छोराछोरीलाई लागेको रहेछ,’ प्रहरी स्रोत भन्छ, ‘विवादपछि नै पारिवारीक कलह र विवाद सुरु भएको रहेछ ।’
२ वर्षअघि कृष्णको पनि मृत्यु भएपछि पारिवारीक कलह र विवाद झनै बढ्दै गएको थियो । श्रीमान कृष्ण मालेपाटनमा खसीबोकाको ताजा मासु बेच्ने व्यवसायीका रुपमा चर्चित थिए ।
उनले खसीबोकाको मासु बेचेर पोखरामै २ वटा घर किनेका थिए, अन्य जग्गा र सम्पत्तिसमेत जोडेका थिए । उनको जेठी श्रीमतीपट्टीबाट २ छोरी, एक छोरा छन् । छोरा लागुऔषध कारोबारमा कारागारमै छन् भने एउटा छोरीको विवाह भइसक्यो, एक अविवाहित छन् ।
सिर्जनाका माइतीले पनि उनको हत्यामा परिवारकै सदस्य संलग्न रहेको दाबी गर्दै अनुसन्धानका लागि प्रहरीलाई दबाब दिँदै आइरहेका थिए ।
प्रहरीले घटनाबारे थप जानकारी दिन शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको एसपी नवीन कार्कीले बताए ।
‘प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ भने थप अनुसन्धान पनि भइरहेको छ र एकपछि अर्को रहस्य पनि खुल्दै गइरहेको छ,’ एसपी कार्कीले भने, ‘घटनाको अहिलेसम्मको अवस्था पत्रकार सम्मेलनमै जानकारी दिन्छौं ।’
प्रतिक्रिया 4