+
+
Shares

डोल्पा : सुन्दरताको खानी, सुविधाबाट टाढा

प्राकृतिक रूपमा धनी डोल्पा अझै पनि पूर्वाधार विकासमा पछाडि छ ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ चैत २७ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पा जिल्लाको प्राकृतिक सौन्दर्य विश्वकै दुर्लभ भूभागमा पर्छ र शे–फोक्सुण्डो ताल प्रमुख पर्यटकीय आकर्षण हो।
  • डोल्पामा सडक पूर्वाधार कमजोर छ, विशेषगरी माथिल्लो डोल्पा राष्ट्रिय सडक सञ्जालबाट टाढा छ र भेरी करिडोर अन्तर्गत सडक निर्माण सुस्त छ।
  • डोल्पामा सञ्चार र इन्टरनेट सेवा कमजोर भएका कारण दैनिक जीवन र पर्यटन प्रवर्द्धनमा समस्या छ, नेपाल टेलिकममार्फत सेवा विस्तारको माग भइरहे पनि सुनुवाइ छैन।

२७ चैत, डोल्पा । हिमालले अँगालो हालेको, निलो आकाशमुनि चम्किने ताल र शान्त जीवनशैलीले सजिएको डोल्पा नेपालको मात्रै होइन, विश्वकै दुर्लभ र मोहक भूभागमध्ये एक मानिन्छ ।

यहाँको प्राकृतिक वैभव यस्तो छ, जसले पहिलो पटक पुग्ने जोकोहीलाई मोहित बनाउँछ । तर कमजोर पूर्वाधार र कठिन पहुँचका कारण डोल्पाको सौन्दर्य अझै पनि सीमित घेराभित्र कैदजस्तै छ ।

डोल्पाको विशेष परिचय भनेको शे–फोक्सुण्डो ताल हो । असाधारण नीलो रंगले भरिएको, हिमालको काखमा अवस्थित यो ताल नेपालकै सबैभन्दा सुन्दर जलाशयमध्ये पर्छ । वरिपरि फैलिएको शान्त वातावरण, हिमाली वनस्पति र स्वच्छ हावाले यो ठाउँलाई अझै मनमोहक बनाएको छ ।

त्यसैगरी, जगदुल्ला ताल, त्रिपुरासुन्दरी मन्दिर र प्राचीन मष्टो परम्परासँगै बौद्ध संस्कृति यहाँका प्रमुख आकर्षण हुन् । माथिल्लो डोल्पाको भू–दृश्य, कान्जिरोवा हिमाल क्षेत्र र हिमाली जीवनशैलीले पर्यटकलाई एक फरक संसारमा पुर्‍याउँछ ।

अथाह सम्भावना हुँदाहुँदै पनि डोल्पा पुग्नु सजिलो छैन । जिल्लाका अधिकांश स्थानमा पुग्न अझै कयौं दिन पैदल हिँड्नुपर्ने अवस्था छ । सदरमुकाम दुनैसम्म र तल्लो डोल्पाका केही क्षेत्रमा सडक सुविधा पुगे पनि माथिल्लो डोल्पा अझै राष्ट्रिय सडक सञ्जालबाट टाढै छ ।

जगदुल्ला गाउँपालिकास्थित जगदुल्ला ताल । यही तालको नामबाट पालिकाको नामाकरण गरिएको हो ।

२०७५ साल मंसिर ४ गते डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिएको घोषणा गरिए पनि भेरी करिडोर अन्तर्गतका सडक अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

माथिल्लो डोल्पालाई जोड्ने भेरी करिडोर अन्तर्गत लासीक्याप–सिसौल सडकखण्ड निर्माणले अझै गति लिन सकेको छैन । यो सडक निर्माण सम्पन्न भए जिल्लामा पर्यटकको संख्यामा वृद्धिसहित स्थानीयको जीविकोपार्जन पनि सहज हुने नागरिक समाज डोल्पाका अध्यक्ष शेर बुढा बताउँछन् ।

जाजरकोट–डोल्पा खण्डका धेरै खोलामा पक्की पुल नहुँदा वर्षायाममा यात्रा अझै जोखिमपूर्ण बन्छ । हिउँदयाममा सदरमुकामसम्म सिधा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा ४/५ ठाउँ गाडी फेर्नुपर्ने बाध्यता रहेको डोल्पाका स्थानीय जुने सार्कीले बताए ।

हवाई यात्रा भरपर्दो तर महँगो

जुफाल विमानस्थल ।

हाल जुफाल विमानस्थल नै डोल्पा जिल्लामा प्रवेश गर्ने मुख्य द्वार हो । तर सीमित उडान, मौसमको अनिश्चितता र महँगो भाडाले यात्रु र पर्यटक दुवैलाई चुनौती थपेको छ ।

स्थानीय पर्यटन व्यवसायी नोर्बु लामाका अनुसार डोल्पामा आउने पर्यटकहरू यहाँको सौन्दर्य देखेर चकित पर्छन्, तर कठिन पहुँचका कारण धेरैले पुन: आउने योजना बनाउँदैनन् ।

डोल्पामा पूर्वाधारको अभावले स्थानीय जीवनमा प्रत्यक्ष असर पारेको छ । चारवटा पालिका अझै सडक पहुँचबाट बाहिर छन् । उनीहरुलाई सदरमुकामसम्म पुग्नका लागि पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

मुड्केचुला गाउँपालिकाजस्ता क्षेत्रहरूमा सडक र पुल निर्माण सुस्त गतिमा छ । निर्माणाधीन जगदुल्ला जलविद्युत आयोजनाले केही आशा जगाए पनि रुकुम पश्चिम–डोल्पा सिमानामा रहेको त्रिवेणी पुल समयमै नबन्दा सडक विस्तार अवरुद्ध छ ।

सञ्चार सुविधाको अभाव

फोक्सुण्डो ताल । नेपालकै दोस्रो ठूलो तालको रूपमा परिचित यो तालमा बर्सेनि हजारौं पर्यटक आउँछन् । यहाँ राम्रो सञ्चार सुविधा छैन ।

डोल्पाको अर्को ठूलो चुनौती हो सञ्चार र इन्टरनेटको कमजोर पहुँच । धेरै स्थानमा नेटवर्क नहुँदा पर्यटक र स्थानीय दुवै सूचना र सम्पर्कबाट टाढा छन् ।

नेपाल टेलिकममार्फत सेवा विस्तारको माग भइरहे पनि प्रभावकारी सुनुवाइ नहुँदा समस्या यथावत् छ । यसले पर्यटन प्रवर्द्धन मात्र होइन, दैनिक जीवनलाई पनि कठिन बनाएको छ ।

सञ्चार र इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरे पनि सुनुवाइ हुन नसकेको पूर्वमन्त्री धन बहादुर बुढाले बताए ।

डोल्पामा भरपर्दो सडक, हवाई सेवामा सुलभ पहुँच, होटल तथा सञ्चार सुविधा विस्तार गर्न सकियो भने डोल्पा देशकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने सांसद बुढा बताउँछन् ।

सम्भावनाको ढोका

डोल्पाको त्रिपुराकोट बगर बजार । यो जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत हो ।

डोल्पामा प्राकृतिक आकर्षणको कुनै कमी छैन । फोकसुण्डो ताल, फोकसुण्डो झरना, मुकुटेश्वर हिमाल, यार्सागुम्बा, पाटन, हिउँचितुवा, नाउर जस्ता दुर्लभ वन्यजन्तु, विविध हिमालका मनोरम दृश्य र विशिष्ट संस्कृति डोल्पाका प्रमुख आकर्षण हुन् ।

तर, भरपर्दो सडक, सुलभ हवाई सेवा, स्तरीय होटल तथा सञ्चार सुविधा विस्तार गर्न सकियो भने मात्रै यो सम्भावना वास्तविक उपलब्धिमा रूपान्तरण हुन सक्छ ।

प्राकृतिक रूपमा धनी डोल्पा अझै पनि पूर्वाधार विकासमा पछाडि छ । ‘विश्वकै सुन्दर ठाउँ’ को पहिचान पाएको यो जिल्लामा यदि सहज पहुँच सुनिश्चित गर्न सकियो भने, नेपालकै मात्र होइन, विश्व पर्यटन नक्सामा अग्रणी गन्तव्यका रूपमा स्थापित हुने प्रबल सम्भावना छ ।

डोल्पा सदरमुकाम दुनै बजार ।
शे-फोक्सुण्डो गाउँपालिकामा पर्ने मुक्पोरोङ हिमाल ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?