News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पामा १३ वैशाखमा परेको असिनाले स्याउका बिरुवामा ठूलो क्षति पुर्याएको छ।
- त्रिपुरासुन्दरी नगरपालिका लगायतका क्षेत्रमा असिनाले फुलेका स्याउका फूल र दाना सबै नष्ट भएका छन्।
- किसानहरूले बाली बीमा नहुँदा आर्थिक संकटमा परेको र राहत तथा बीमा व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।
१३ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा असिनासँगै परेको पानीले स्याउको बिरुवामा क्षति पुर्याएको छ ।
शनिबार साँझको अविरल वर्षासँगै परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा रहेका स्याउका बिरुवामा क्षति पुर्याएको हो ।
स्याउको राजधानीका रूपमा परिचित त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ, सुँ गाउँ ,४ को रंग गाउँ ठुलिभेरीको डाँगीवाडा, जुफाल, थाला लगायतका क्षेत्रमा असिनाले स्याउ खेतीमा क्षति पुर्याएको कृषकले जानकारी दिएका छन् ।
जिल्लामा झण्डै आधा घण्टासम्म परेको असिनाले भर्खर फुलेका स्याउका फूल र लाग्दै गरेका दाना सबै झारेर नष्ट गरेको त्रिपुरासुन्दरी ३ स्थित महादेव फलफूल तथा बगैचा उद्योगका प्रोपाइटर रामबहादुर गुरुङले जानकारी दिए ।
उनले भने, ‘एकैछिनको असिनाले वर्षभरीको मेहनत सखाप बनायो। गत वर्ष स्याउबाट मात्रै ३ देखि ५ लाख रुपैयाँसम्म आम्दानी भएको थियो, असिनाका कारण यस वर्ष सोचेजस्तो उत्पादन नहुने भयो ।’
प्राकृतिक विपद्ले डोल्पाका स्याउ किसानहरूलाई आर्थिक रूपमा संकटमा पारेको छ । विशेषगरी बीमा व्यवस्था नहुँदा किसानहरू थप मारमा परेका छन् । जुम्ला, मनाङ र मुस्ताङ जस्ता जिल्लामा स्याउ बाली बीमा लागू भएको सुनिए पनि डोल्पामा भने यस्तो कुनै प्रभावकारी व्यवस्था नभएको किसानहरूको गुनासो छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण तथा कार्यक्रम कार्यान्वयन इकाईका कार्यालय प्रमुख गोविन्द बहादुर मल्लले स्याउ किसानहरुलाई बीमा गर्न विगतदेखि नै बुझाउँदै आएपनि खासै चासो नदिएको बताए ।
डोल्पाली किसानहरूले विपद्का कारण भएको क्षतिको उचित मूल्यांकन गरी राहत तथा बाली बीमा व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया 4