२५ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा सरकारी कार्यालयहरुले समेत खानेपानीको महसुल नतिरेको पाइएको छ ।
जिल्ला सदरमुकाममा खानेपानी वितरण गर्दै आएको दुनै खानेपानी उपभोक्ता समितिले जिल्लाका सरकारी कार्यालयदेखि निजी तथा व्यवसायीक उपभोक्ताहरुले वर्षौंदेखि खानेपानीको महसुल नतिरेको जनाएको हो ।
उपभोक्ताले महसुल नतिर्दा खानेपानी व्यवस्थापनमा समस्या थपिएको दुनै खानेपानी उपभोक्ता समितिका सचिव हिक्मत शाहीले जानकारी दिए ।
शाहीका अनुसार समितिले जडान गरेका ३ सय १६ वटा खानेपानीका धारामध्ये २६ वटा सरकारी कार्यालयमा रहेका छन् । तीमध्ये सदरमुकाममा रहेका १० वटा सरकारी कार्यालयले एक वर्षभन्दा बढी समयदेखि खानेपानीको महसुल नबुझाएको उनले जानकारी दिए ।
त्यसैगरी ६१ वटा निजी धारामध्ये १४ वटा र २ सय २९ वटा व्यवसायीक धारामध्ये ४५ वटा धाराका उपभोक्ताले दुई वर्षभन्दा बढी समयदेखि महसुल तिरेका छैनन् ।
‘पटक–पटक पत्राचार गर्दा र सार्वजनिक सूचना जारी गर्दा पनि धेरै उपभोक्ताले बिल तिरेका छैनन्, अहिले नै कार्यालयको नाम नभनौं’ सचिव शाहीले भने, ‘अब खानेपानीलाई व्यवस्थित बनाउन कडाइ गर्नुपर्ने अवस्था आएको छ ।’ महसुल नतिर्ने उपभोक्ताको लाइन काट्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
केही कार्यालयहरुले महसुल तिरेको दाबी गर्दै आएपनि समितिको बैंक खातामा पैसा नदेखिएको समितिका पदाधिकारीहरुको भनाइ छ । समितिले आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म बैंकमार्फत भुक्तानी गरिएको भनिएका रकमको प्रमाण तथा ईएफटी विवरणसमेत सम्बन्धित कार्यालयहरूसँग माग गर्ने तयारी गरेको जनाएको छ । बैंक स्टेटमेन्टमा कार्यालयको नाम स्पष्ट नदेखिने भएकाले रकम जम्मा भएको पुष्टि गर्न कठिन भएको समितिको भनाइ छ ।
महसुल नउठ्दा काम गर्न कठिन
समितिले हाल निजी धाराका लागि मासिक न्यूनतम १ सय ५० रुपैयाँ, व्यवसायीक धाराका लागि २ सय रुपैयाँ र सरकारी कार्यालयका लागि ५ सय रुपैयाँ महशुल लिँदै आएको छ । तर न्यूनतम शुल्क समेत नउठ्दा कर्मचारी व्यवस्थापनदेखि मर्मतसम्भारसम्म कठिन भएको समितिको गुनासो छ ।
समितिमा हाल चार जना कर्मचारी कार्यरत रहेका छन् । मासिक ६० हजार रुपैयाँभन्दा बढी खर्च हुने भए पनि आम्दानी त्यति नै हाराहारीमा सीमित रहेको सचिव शाहीले बताए ।

खानेपानीको दुरुपयोग नियन्त्रण गर्न समितिले अब सदरमुकाम क्षेत्रका सबै धारामा मिटर जडान गर्ने तयारी गरेको छ । वैशाख १ गतेदेखि परीक्षणका रूपमा ६ वटा धारामा मिटर जडान गरेर अध्ययन भइरहेको समितिले जनाएको छ ।
समितिका अनुसार जेठ महिनादेखि सबै धारामा मिटर जडान गर्ने तयारी गरिएको छ । मिटर जडानपछि प्रतियुनिट कति शुल्क लिने भन्ने विषयमा भने अध्ययन भइरहेको समितिको भनाइ छ ।
सदरमुकाम क्षेत्रका अधिकांश उपभोक्ताले धारा खुला छोड्ने तथा अनावश्यक रूपमा पानी प्रयोग गर्ने गरेकाले कतिपय क्षेत्रमा पानी नपुग्ने समस्या देखिएको खानेपानीका अध्यक्ष बबि किशोर गुरुङले जानकारी दिए । ‘धारामा मिटर जडान भएपछि पानीको दुरुपयोग नियन्त्रण हुनेछ र सबै उपभोक्ताले आवश्यकताअनुसार पानी पाउनेछन्,’ उनले भने ।
हाल दुनै क्षेत्रमा शालीखोला र पाल्चाखोलाबाट दैनिक करिब २ लाख ४० हजार लिटर पानी वितरण हुँदै आएको छ । बिहान र बेलुका गरी दैनिक ७ घण्टाभन्दा बढी समय खानेपानी वितरण गरिने समितिले जनाएको छ ।
समितिले जिल्लास्थित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले आवश्यकताअनुसार काम नगरेको आरोपसमेत लगाएको छ । सदरमुकाममा देखिएको खानेपानीको समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि कार्यालयले विभिन्न जनप्रतिनिधिको दबाबका हरेक पटक आधारमा डीपीआर तयार गर्ने, गुणस्तरहीन काम गर्ने र अपूरो काममै भुक्तानी दिने जस्ता गतिविधि गरेको अध्यक्ष गुरुङले आरोप लगाए । ‘दुनै खानेपानीको नाममा पर्याप्त मात्रामा बजेट आएपनि त्यसको सही सदुपयोग गर्न नपाउँदा दु:ख लागेको छ,’ गुरुङले भने ।
अध्यक्ष गुरुङका अनुसार कार्यालयले यस वर्ष भने माथिल्लो दुनैमा रहेको पुरानो रिजर्भ ट्यांकी भत्काएर १ सय २८ घनमिटर क्षमताको नयाँ ट्यांकी निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ ।
त्यस्तै क्याम्पस साइड, सरस्वती मन्दिर र अस्पताल साइडमा रहेका ५०–५० घनमिटर क्षमताका रिजर्भ ट्यांकी संरक्षण तथा पाइपलाइन विस्तारका काम पनि अघि बढाइएको समितिले जनाएको छ ।
समितिका अनुसार २०६० सालमा निर्माण गरिएको ९० घनमिटर क्षमताको पुरानो रिजर्भ ट्यांकी जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले दुनै खानेपानीको उपभोक्ता समितिलाई हालसम्म एक करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको समितिले जनाएको छ । हरेक वर्ष १० लाखदेखि ३० लाख रुपैयाँसम्म सहयोग प्राप्त हुँदै आए पनि आवश्यकताअनुसार बजेट अपुग हुने अध्यक्ष गुरुङको भनाइ छ । यस वर्ष रिजर्भ ट्यांकी निर्माणसँगै जिआई पाइप तथा मर्मतसम्भारका लागि थप सहयोग आवश्यक रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया 4