+
+
Shares

सिरहाको बरियारपट्टीमा छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्ग पुन: अवरुद्ध

सुरेश राय सुरेश राय
२०८३ वैशाख २५ गते ९:१८

२५ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो ।

स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन् ।

आन्दोलनकारीहरूले बिहीबार बिहान करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै दिउँसो करिब २ बजे जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएर पुन: चरणबद्ध आन्दोलन गर्ने घोषणा पनि गरेका थिए ।

सोही कार्यक्रमअन्तर्गत शुक्रबार पहिलो दिन सडक जाम तथा बजार बन्द गरेर आन्दोलन सुरु गरिएको बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोद कुमार यादवले जानकारी दिए ।

उनका अनुसार आन्दोलनको घोषित कार्यक्रमअनुसार वैशाख २५ गते बिहान ७ बजेदेखि ११ बजेसम्म चक्काजाम, वैशाख २६ गते र्‍यालीसहित कोणसभा, वैशाख २७ गते दिनभर बजार बन्द तथा मसाल जुलुस, र वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिनेछ ।

शुक्रबार बिहानदेखि नै बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर र टायर बालेर हुलाकी मार्ग अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित बनेको छ भने भारतबाट नेपालतर्फ आउने तथा नेपालबाट भारततर्फ जाने यात्रुले सास्ती खेप्नु परेको छ ।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारले छोटी भन्सार हटाएपछि नागरिकलाई हुने असहजतालाई मध्यनजर गर्दै तत्काल माडर भन्सार कार्यालयबाट कर्मचारी खटाइएको जानकारी दिए । उनका अनुसार माडर भन्सार कार्यालयकै नाममा भन्सार काट्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनकारीबाट प्राप्त ज्ञापनपत्रका आधारमा अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी भइरहेको बताउँदै अब मन्त्रालयबाट आउने निर्णयअनुसार नै अगाडि बढ्ने बताए ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?