१८ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७ वर्षीया रसकुमारी केसीले जन्माएको नवजात शिशुको मृत्यु भएको हो ।
बुधबार रसकुमारीलाई सुत्केरी बेथाले च्यापेपछि सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल लैजान लागिएको थियो । तर जिल्ला अस्पताल नपुर्याउँदै उनले बाटैमा शिशुलाई जन्म दिइन् । जन्मिएको शिशु केही समयमै मृत्यु भएको थियो ।
अस्पताल पुगेपछि जाँच गर्दा शिशु मृत अवस्थामा रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विदुर तिवारीले जानकारी दिए ।
उनका अनुसार रसकुमारी ३१ हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘प्री–म्याचुअर बर्थ’ रहेको तिवारीले बताए ।
गर्भावस्थामा नियमित स्वास्थ्य जाँच नहुँदा जोखिम बढेको उनको भनाइ छ । शिशुको मृत्यु भएपनि हाल आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालले उद्धारका लागि हेलिकप्टरको बोलाउने प्रयास गरेपछि समयमै नपुग्दा शिशुको ज्यान जोगाउन नसकिएको बताइन् ।
प्रतिक्रिया 4