+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

डोल्पाका दुई पालिकामा आइतबार पनि विद्यालय खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:३८

७ वैशाख, डोल्पा । डोल्पाका दुई वटा स्थानीय तहले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर, डोल्पाको ठूलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाले आइतबार पनि नियमित पठनपाठन जारी राख्ने जनाएका छन् ।

ठूलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले अनुसार, हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने सरकारी निर्णय कार्यान्वयनका विषयमा छलफलपछि आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

नगर शिक्षा समितिले आइतबार विद्यालय सञ्चालन गर्न सबै विद्यालयहरूलाई आग्रह समेत गरेको छ । साथै, वैशाख ८ देखि ११ गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख १३ गतेदेखि कक्षा सुरु गर्न निर्देशन दिएको छ ।

यस्तै, मुड्केचुला गाउँपालिकाले पनि गाउँ शिक्षा समितिको निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि विद्यालयहरू आइतबार पनि सञ्चालन गर्ने जनाएको छ ।

हिमाली क्षेत्रमा हिउँदका समयमा लामो बिदा हुने भएकाले तोकिएको वार्षिक पाठ्यघण्टा पूरा गर्न कठिन हुने भएकोले आइतबार पनि विद्यालय सञ्चालन गर्नु परेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिए ।

दुवै पालिकाले विद्यार्थीको सिकाइ प्रभावित नहोस् र निर्धारित पाठ्यक्रम समयमै सम्पन्न होस् भन्ने उद्देश्यले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?