Comments Add Comment

मधेसमा ज्ञानेन्द्र र सिके राउत : को कति पानीमा ?

होलीको पूर्वसन्ध्यामा यसरी बढ्दैछ राजनीतिक सरगर्मी

३ चैत, जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह मधेसमै रहेका बेला गणतन्त्रवादी युवा नेता एवं सांसद गगन थापा शुक्रबार मधेस झरे । विभिन्न मठमन्दिरमा पूजाआजा गर्दै हिँडेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तीखो प्रहार गर्दै कांग्रेस नेता थापाले ‘मूर्तिसमेत नछाड्ने’ ज्ञानेन्द्रबाट डराउनु नपर्ने प्रतिक्रिया दिए । अहिले डराउनुपर्ने चाँहि ओली सरकारसँगै हो भन्ने थापाले विश्लेषण सुनाए ।

पूर्वराजाको केही नचल्ने दाबी गर्दै थापाले संघीय गणतान्त्रिक मुलुकमा अब ज्ञानेन्द्रले केही गर्न नसक्ने बताए । थापाले भने, ‘देशका मन्दिरहरुको मूर्ति पनि नछाड्ने पूर्वराजासँग कुनै किसिमको डर  छैन । सिके राउतबाट पनि मुलुकलाई कुनै डर छैन ।’

सिके राउतले स्वतन्त्र मधेसको कुरा उठाए पनि काठमाडौंबासीले हैरान हुनुपर्ने खास कारण नरहेको बताउँदै कांग्रेस नेता थापाले भने, ‘सिके राउतलाई मधेसकै जनताले हेरिहाल्छन् ।’

प्रदेश २ मा विभिन्न शक्तिले आफ्ना गतिविधि तीव्र पारिरहेकै बेला कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री थापाले शुक्रबार जनकपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘जतिसुकै शक्ति यहाँ (मधेसमा) आए पनि खतरा भने केन्द्रीय सरकारबाट नै छ ।’

सांसद थापाले केपी ओली नेतृत्वको संघीय सरकारबाट प्रदेश २ र समग्र देशलाई खतरा रहेको बताए । यो खतराबिरुद्व सबैले लाग्नुपर्ने उनले बताए । स्वतन्त्रताको हकसमेत खोस्ने र व्यापक भ्रष्टाचारमा डुबेको ओली सरकारले नै देशमा अस्थिरता ल्याउन खोजेको थापाले आरोप लगाए ।

सबैको ध्यान मधेसतिरै

मधेसमा अहिले गर्मी बढ्न थालेको छ । प्रदेश २ भर यतिबेला होलीको तयारी भइरहेको छ । सामाजिक र सांस्कृतिक पक्षबाट हेर्दा यहाँका मानिसहरु उत्सव मनाउने मुडमा छन् ।

तर, ठीक यहीबेला मधेसको मौसम मात्रै होइन, राजनीतिमा पनि सरगर्मी बढेको छ । सिके राउतदेखि पूर्वराजासम्म मधेसमै छन् । सत्तारुढ नेकपादेखि प्रतिपक्षी राजपासम्मको ध्यान मधेसमै तानिएको छ । मधेसमा एकाएक राजनीतिक चलखेल बढेको छ । राजनीतिका खेलाडीहरु मैदानमा सक्रिय देखिन थालेका छन् ।

राजपाले सरकारको समर्थन फिर्ता लिएको र सिके राउतसँग ११ बुँदे सम्झौता गरेको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले रौतहटको गौरमा आएर सम्वोधन गरेका छन् । सत्तारुढ नेकपाको गरुडा आमसभाले सरकारको ध्यान पनि मधेसमै तानिएको स्पष्ट हुन्छ ।

विगतमा राजतन्त्रविरुद्व भएका आन्दोलन, संघीयताका लागि भएको विद्रोह र गणतन्त्रका लागि भएको लडाईं प्रदेश २ बाटै भएको हो । यसबाहेक विभिन्न चरणमा भएका मधेस आन्दोलन र सशस्त्र संघर्षको सूत्रपात हुने ठाउँ पनि प्रदेश २ नै हो । अहिले मुलुक संघीयतासम्म गइसकेको छ । संविधान कार्यान्वयनको संघारमा छ । तर, पछिल्लो समय प्राप्त उपलब्धीहरु गुमनाम हुने चिन्ता पनि प्रदेशबाट शुरु भएको छ ।

संघीयतामा गइसकेको मुलुकमा राजतन्त्र र हिन्दु राष्ट्रका साथै स्वतन्त्र मधेस बनाउने गतिविधि यही प्रदेशबाट हुन थालिएको छ । कमल थापाले भर्खरै हिन्दुजागरण अभियान सकेर हिँडेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह हिन्दुवादीलाई जगाउन मधेस झरेका छन् । ज्ञानेन्द्रलाई शिव सेनाले साथ दिएको छ ।

राष्ट्रिय अखण्डतालाई स्वीकार्नेसहितका सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत जनकपुर आएपछि पनि प्रदेश २ को राजधानी जनकपुरमा स्वतन्त्र मधेसको नारा घन्कियो । यो नारा घन्किएको दुई दिन नबित्दै पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरलाई नै केन्द्रबिन्दु बनाएर जनतासमक्ष पुगिरहेका छन् ।

पूर्वराजा विभिन्न ठाउँमा पुग्दा ‘राजा आऊ देश बचाऊ, हिन्दू राष्ट्र स्थापना, राजतन्त्र स्थापनासहितका नारा यही प्रदेशमा घन्किन थालेका छन् । पूर्वराजा मठमन्दिरहरुमा जाँदा उनको पक्षमा जनउभार देखा परेको छ, जसले प्रदेश २ बाटै कुनै राजनीतिक गडबडी त आउँदैन भन्ने आशंका यहाँको नागरिक समाजमा उब्जिएको छ ।

विभिन्न शक्तिहरुले प्रदेश २ लाई नै केन्द्रबिन्दु बनाएर गतिविधिहरु गरिरहँदा राजनीतिलाई नजिकबाट नियाल्नेहरुले संघीय सरकारकै कारण यस्तो भइरहेको बताउँछन् । कतिपयले यो प्रदेश नै जुनसुकै परिवर्तनको अग्रणी भूमिका खेलेकाले यहीँबाट जोकोहीले पनि आफ्नो गतिविधि गर्न चाहेको बताइरहेका छन् ।

मधेसमा राजनीतिको मुख्य आधार रहेको राष्ट्रिय जनता पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसले आन्दोलन गर्ने बताइरहेको छ, जसले मधेसको राजनीतिलाई थप तरंगित पारेको छ । प्रदेश सरकारमा राजपा र फोरमको गठबन्धन रहेको अवस्थामा अब केन्द्रको गठबन्धन टुटेपछि प्रदेश सरकारमा पनि हेरफेर हुन्छ कि भन्ने अर्को संशय पनि उत्पन्न भएको अवस्था छ ।

यद्यपि राजपाले आन्दोलन लगायतको कुनै थप निर्णय गरिसकेको अवस्था छैन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा राजपा र फोरमको गठबन्धन नटुट्ने बताएका छन् ।

यिनै विधिन्न परिस्थितिका वीचमा हामीले मधेस मामिलाका जानकारहरुसँग सिके राउत प्रकरण र ज्ञानेन्द्रको मधेस यात्रा लगायतका विषयमा उनीहरुका विचारहरु बुझ्ने प्रयास गरेका छौं ।

पूर्वराजाको धुमाइको केही अर्थ छैन : कापडी

जनकपुरमा विभिन्न शक्तिहरुले आफ्नो गतिविधि बढाउन थालेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत मैथिली विभागका पूर्वप्रमुख प्रा. परमेश्वर कापडी यसले कुनै प्रभाव नपार्ने धारणा व्यक्त गर्छन् ।

पूर्वराजाको घुमाइको कुनै अर्थ र सन्दर्भ पनि नभएको उनी बताउँछन् । ‘पूर्वराजा आएपछि धेरै भिड भयो भन्छन्, तर भीड हुने अर्काे कुरा पनि छ,’ कापडीले अनलाइनखबरसँग भने, ‘राजा थिए, प्रजा भइसके, वीरेन्द्रको हत्यापछि बनेका अन्तिम राजा आएका छन् रे भनेर पनि उनलाई हेर्न मानिसहरु आएका हुन सक्छन्, पूर्वराजाको भ्रमणमा देखिएको भिडलाई त्यस अर्थमा पनि हेर्नुपर्ने हुन्छ ।’

त्यसैगरी सिके राउतले सरकार समक्ष आत्मसर्पण गरेर सहमति गरेको बताउँदै कापडीले भने, ‘सहमति गरेर पनि मधेसवादी नेताजस्तो हाम्रो माग पूरा गर भनिरहेका छन् । बुझेकै थियो नि, संविधान संशोधन हुँदैन भनेर । अब सम्प्रभुता र अखण्डतालाई मानिसकेपछि जनमत संग्रह गर भन्न मिल्छ ?’

सिके राउतले राजनीतिक लाज पचाइरहेको कापडीको प्रतिक्रिया छ । उनी भन्छन्, ‘राउतले धेरै बोले, तर सबै फुकिदिए । जे बोले, बिग्रेको बोले ।’

राजनीति दिशाहीन बनेपछि विभिन्न शक्तिले खेल्न थाले : भोगेन्द्र झा

सिके राउत र पूर्वराजाको गतिविधिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक भोगेन्द्र झा यो प्रदेशलाई राजनीतिकरुपमा दिशाहीन बनाइएका कारण विभिन्न शक्तिहरुले खेल्न थालेको धारणा राख्छन् ।

‘जहाँ राजनीति दिशाहीन बनाइन्छ, त्यहाँ विभिन्न शक्तिहरु कुनै न कुनै रुपमा आफ्नो स्पेस खोज्छन्’ झाले अनलाइनखबरसँग भने, ‘प्रदेश २ को हविगत पनि यही हो । यहाँ स्पेस खोज्न कोही माता जानकीको शरणमा त कोही जनताको शरणमा आउँछन् ।’

मुलुकमा  दुईतिहाईको सरकार भए पनि राजनीतिक अस्थिरता हुनु विडम्बना भएको भन्दै झा सत्तापक्षले पनि यो प्रदेशमा अस्थिरता नै चाहेको दाबी गरे । सत्तामा रहेकाहरुले रौतहटको गरुडामा आएर शक्ति प्रदर्शन गर्नु त्यसैको एक नमूना भएको झाको विश्लेषण छ ।

केन्द्र सरकारले संघीयतालाई आत्मसात नगरी यो प्रदेशमा अस्थिरता ल्याएर यहाँको सरकारलाई बदनाम गराउन लागिपरेको उनले बताए । झाले भने, ‘किनभने कानुनका साथै सबै कुरा संघीय सरकारले आफ्नै हातमा राखेको छ । प्रदेश सरकारलाई कुनै अधिकार नदिएर संघीय सरकारले यहाँ अस्थिरता उत्पन्न गराउन खोजेको प्रष्टै देखिन्छ ।’

राजनीतिक विश्लेषक झा अगाडि भन्छन्, ‘मधेसमा सबै आउँछन्, तर यहाँको समृद्धि र विकासका लागि होइन, आफू खेल्नका लागि आइरहेका छन् ।’

सिके राउतको सन्दर्भमा झाले उनको राजनीतिको पटाक्षेप भइसकेको बताए । ‘उनले कुन उपलब्धी भयो र छाडिदिए ? सिकेले यो पनि यो स्वीकार गरेनन् कि म गलत बाटोमा थिएँ,’ झा भन्छन्, ‘सिकेसँग लागेका उर्वर युवा शक्तिको दुरुपयोग गरियो ।’

मुलुक पछाडि र्फकन्छजस्तो लाग्दैनः राम भरोस कापर

थिचोमिचो र आन्तरिक संघर्षका कारण प्रदेशका जनता जागरुक भइसकेको अवस्थालाई नियालेर विभिन्न शक्तिहरुले मधेसमा आकर्षण बढाउन थालेको बताउँछन् जनकपुरका बुद्विजीवी रामभरोस कापर ‘भ्रमर’ ।

आफ्नो अधिकारका लागि पटक-पटक आवाज उठाउने, विभेदविरुद्व लड्ने अनि ६ महिनासम्म लगातार आन्दोलन गरेको देखेरै मधेसलाई विभिन्न शक्तिहरुले आकर्षणको केन्द्रबिन्दु बनाएको कापरको विश्लेषण छ ।

प्रदेश २ का जनता आत्मसम्मानका लागि आफ्नो आवाज उठाउन सकृय रहेकै आडमा सिके राउत पनि आएको बताउँदै भ्रमरले अनलाइनखबरसँग भने, ‘तर सरकारले विनाकारण सिके राउतलाई चर्चाको विषय बनायो । यहाँका राउतको खासै चर्चा छैन ।’

मधेसका जनताका लागि सिके राउत ठूलो विषय नभएको बताउँदै कापरले सिकेको महत्व सरकारले बढाएको बताए । उनले भने, सिके राउत सहमति गरेर जनकपुर आउँदा कार्यकर्ता कन्फ्यूज भएकै कारण त्यस दिन र्‍याली निकालेका हुन्, तर कुरा बुझेपछि कार्यकर्ताहरु पनि चुप लागेको अवस्था छ ।’

पूर्वराजाको सन्दर्भमा कापरले हिन्दू राष्ट्रका लागि जनमत देखिए पनि राजतन्त्रको पुर्नस्थापनाका लागि कुनै संकेत देखा नपरेको बताउँछन् । सिके राउत र पूर्वराजासमेतको गतिविधिले कुनै हानी नोक्सानीको सम्भावना नभएको दाबी गर्दै उनले भने, ‘परिवर्तनमा धेरैअगाडि बढिसकेको मुलुक पछाडि फर्किन्छजस्तो लाग्दैन ।’

यद्यपि उनी संघीय सरकारको नियतचाहिँ स्पष्ट हुनुपर्ने बताउँछन् ।  कापर भन्छन्, ‘यस्ता विषयहरुमा संघीय सरकारले के चाहेको छ, त्यो खुलेर आउनुपर्‍यो ।’

यो पनि पढ्नुहोस् 

पूर्वराजाले भने : यो मधेश होइन, तराई हो

पूर्वराजाको मधेस संवाद : पशुपतिको यात्रा, सिद्राको ब्यापार !

‘राजावादी उभार’ देखेर ज्ञानेन्द्र मख्ख !

‘चुनाव आएपछि थाहा हुन्छ मधेसमा दालको भाउ !’

घन्कियो ‘स्वतन्त्र मधेस’ र ‘जनमत संग्रह’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment